— सन् १९६७ मा आजकै दिन (सेप्टेम्बर १०) मा जिब्रल्टारको सार्वभौमसत्ताको विषयमा जनमतसंग्रह भएको थियो । जनमतसंग्रहमा जिब्रल्टारवासीलाई बेलायतअन्तर्गत स्वशासित क्षेत्र वा स्पेनको विशेष भूभागका रूपमा रहने छान्न दिइएको थियो ।
जनमतसंग्रहमा बेलायती भूभागकै रूपमा रहने पक्षमा १२ हजार १३८ र स्पेनी भूभागका रूपमा रहने पक्षमा जम्मा ४४ मत परेको थियो । जिब्रल्टारलाई १७०४ अगस्ट ४ मा बेलायतले कब्जा गरेको थियो । बेलायतसँगको युद्धमा स्पेनले आत्मसमर्पण गरेसँगै जिब्रल्टार गुमाएको थियो ।
एंग्लो–डच सेनाले कब्जा गरेको जिब्रल्टार १७१३ को सन्धिअनुसार स्पेनले बेलायतलाई सुम्पेको हो । तर स्पेनको दाबीपछि जिब्रल्टरको सार्वभौमसत्तालाई लिएर बेलायतसँगको सम्बन्धमा विवाद उत्पन्न भएको थियो । जसका कारण १९६७ र पछि २००२ मा जनमतसंग्रह गरिएको थियो । तर दुवै जनमतसंग्रहमार्फत जिब्रल्टारवासीले स्पेनी सार्वभौमसत्ता अस्वीकार गरे । आइबेरियन द्वीपको दक्षिणमा रहेको जिब्रल्टारको उत्तरतर्फ स्पेन छ । ६.७ वर्गकिमि क्षेत्रफलमा फैलिएको चट्टानी द्वीपको हालको जनसंख्या ३२ हजार ६ सय छ । स्वशासित क्षेत्र जिब्रल्टारको गभर्नर बेलायतले नियुक्त गर्छ भने जिब्रल्टारवासीले बेलायती नागरिकता पाउँछन् । तर रक्षा र विदेशलगायत मामिलाबारे भने बेलायत सरकारले नै निर्णय लिन्छ ।