नेयमरले तोडे पेलेको रेकर्ड
नेयमरले तोडे पेलेको रेकर्ड

— नेयमरले ब्राजिलको लागि सबैभन्दा बढी गोल गरेका पेलेको कीर्तिमान तोडेका छन् । उनले विश्वकप २०२६ का लागि दक्षिण अमेरिकी छनोटमा शुक्रबार बोलिभियाविरुद्ध ५–१ को जितमा दोस्रो हाफमा दुई गोल गर्दै उक्त कीर्तिमान बनाएका हुन् ।

३१ वर्षीय स्ट्राइकर नेयमर ब्राजिली आदर्श पेलेको ७७ गोलको कीर्तिमान तोड्ने अवसरसहित खेलमा उत्रिएका थिए । उनले त्यो अवसर १७ औं मिनेटमै पाएका थिए, जतिबेला ब्राजिललाई पेनाल्टी प्रहार गर्ने मौका थियो । तर, उनको प्रहार फितलो रह्यो र बोलिभियाका गोलकिपर गुइलेर्मो भिस्काराले बल नियन्त्रण गर्दै खेल गोलरहित अगाडि बढाएका थिए ।

पेनाल्टीको सात मिनेटपछि रोड्रिगोले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । दोस्रो हाफको सुरुमै राफिन्हाले ब्राजिलको अग्रता दोब्बर बनाए । ब्राजिलको तेस्रो गोलमा नेयमरको योगदान रह्यो । उनको चलाखीपूर्ण पासमा रोड्रिगोले आत्मविश्वासपूर्ण गोल गरेका थिए । त्यसपछि नेयमरले देशका लागि आफ्नो १ सय २५ औं खेलमा ७८ औं गोल गर्दै इतिहासको पानामा आफ्नो नाम लेखाएका हुन् ।


बोलिभियाका लागि भिक्टर अब्रेगोले ब्राजिलको असंगठित रक्षापंक्ति पन्छाउँदै एक गोल गरेका थिए । तर, नेयमरलाई कीर्तिमान गोल बढाउने अझै अवसर थियो । उनले इन्ज्युरी समयमा राफिन्हासँगको सहकार्यमा गोल गर्दै टिमको जितसहित खेललाई स्मरणीय बनाए । बार्सिलोनाका पूर्वस्ट्राइकर रहेका नेयमर हालै मात्र पेरिस सेन्ट जर्मेन छाड्दै साउदी अरेबियाको क्लब अल हिलाल पुगेका थिए । गत डिसेम्बरमा ८२ वर्षको उमेरमा निधन भएका पेलेले सन् १९५७ देखि १९७१ सम्म ९२ खेल खेल्दै ७७ गोल गरेका थिए ।

यो जित नयाँ प्रशिक्षक फर्नान्डो डिनिजको लागि उत्कृष्ट सुरुआत हो । गत वर्ष विश्वकपको क्वाटरफाइनलबाट बाहिरिएपछि डिनिजले प्रशिक्षक टिटेको स्थान लिएका थिए । आफ्नो भूमिकामा परीक्षणकै रूपमा रहेका नेयमरलाई डिनिजले सम्मान दिए, ‘उनी कसरी आए भन्ने धेरैलाई थाह छैन । उनी जे गर्न लागि आए त्यो गरिदिए, रमाइलो गरे । दुई गोल गरे र कीर्तिमान पनि तोडे ।’ उनले थपे, ‘उनी ठूला आदर्श हुन् । उनलाई मानिसहरूले सम्मान गर्नुपर्छ र स्वीकार्नुपर्छ ।’

उरुग्वेको उत्कृष्ट सुरुआत

नयाँ प्रशिक्षक मार्सेलो बिएल्साको आगमनमा उरुग्वेले चिलीलाई ३–१ ले पन्छाउँदै विश्वकप छनोटमा उत्कृष्ट सुरुआत गरेको छ ।

अर्जेन्टिनी प्रशिक्षक बिएल्साले यसअघि सन् २००७ देखि २०११ सम्म चिलीकै टिम सम्हालेका थिए । उनले भेट्रान स्ट्राइकर एडिन्सन काभानी र लुइस स्वारेजलाई बाहिर राख्दै युवा टिम छनोट गरेका थिए । आकर्षक खेल प्रदर्शनमा उनलाई सम्मान गरिएको छ । रिभर प्लेटका एट्याकिङ मिडफिल्डर निकोलस डे ला क्रुजले दुई गोल गरे । उनले बाँया खुट्टाले उत्कृष्ट गोल गर्दै ३८ औं मिनेटमा खाता खोलेका थिए । त्यसपछि रियल म्याड्रिडका मिडफिल्डर फेडरिको भाल्भेर्डेले अग्रता दोब्बर बनाएका थिए ।

तेस्रो गोल ७१ औं मिनेटमा निस्कियो । लिभरपुलका स्ट्राइकर डार्बिन नुनेजको पासमा डे ला क्रुजले पोस्टनजिकबाट विना गल्ती गोल गरेका थिए । त्यसको तीन मिनेटपछि चिलीका लागि आर्टुरो भिडालले गोल गरे । त्यसअघि डिएगो भाल्डेसको हेडरमा बल पोस्टबाहिर गएका थियो ।

बिएल्साले आफ्नो नयाँ टिमको प्रदर्शनमा खुशी व्यक्त गरे, ‘उरुग्वेका खेलाडीको शैली मलाई मनपर्‍यो । खेल्ने शैली खेलाडीबाटै आएको हो, प्रशिक्षकबाट होइन । सुरुका दस मिनेट राम्रो थिएन । तर, त्यसपछि गोलका अवसर सिर्जना गर्नेमा सुधार भयो र विपक्षीलाई दबाबमा राख्यौं ।’

यो छनोट ४८ टिममा विस्तार गरिएको विश्वकपका लागि हो, जुन सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा हुनेछ । यसमा दक्षिण अमेरिका दुई स्थान बढी पाएको छ । त्यसैले दक्षिण अमेरिकी छनोटबाट ६ टिमले सीधै विश्वकपमा प्रवेश पाउने छ । दस टिम रहेको यस क्षेत्रमा सातौं स्थानमा रहने टिम अन्तर महादेशीय प्ले–अफबाट विश्वकपमा छनोट हुनसक्छ । छनोटको पहिलो दिन अजेन्टिनाले लियोनल मेसीको गोलमा इक्वेडरलाई १–० ले हराएको थियो भने पेरुले पाराग्वेमा गोलरहित खेलेको थियो । अर्को खेलमा कोलम्बियाले भेनेजुएलालाई १–० ले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...