अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन : माओवादीभित्र आर्थिक अपारदर्शिता बढ्दो
अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन : माओवादीभित्र आर्थिक अपारदर्शिता बढ्दो

— माओवादीले पार्टीभित्र आर्थिक अपारदर्शिता बढ्दै गएको निष्कर्ष निकालेको छ । नेतृत्वदेखि स्थानीय तहसम्मका नेतामा ‘नवधनाढ्य’ चिन्तन हावी भएको, श्रमजीवी वर्गीय चरित्र ह्रास भएको केन्द्रीय समितिले प्रस्ताव पारित गरेको छ ।


केन्द्रदेखि स्थानीय नेतासम्म कुनै न कुनै रूपमा आर्थिक रूपमा अपारदर्शी गतिविधिमा जोडिएको भन्दै माओवादीले तीनमहिने ‘विशेष रूपान्तरण’ अभियान चलाएको छ । साउन तेस्रो साताको केन्द्रीय समितिको निर्णयअनुसार ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ गर्ने निर्णयसँगै पार्टीभित्र आर्थिक पारदर्शिताको विषय पनि उठेको हो । माओवादीमा अपारदर्शी ढंगले आर्थिक कमाउधन्दाले बलियोसँग जकडिएकाले नेता तथा कार्यकर्ताको रूपान्तरण सहज नभएको माओवादीभित्रै आशंका छ ।

माओवादीले नेता तथा कार्यकर्ताको कार्यशैलीको शुद्धीकरण गर्ने भन्दै पटकपटक निर्णय गरे पनि झन् प्रदूषित हुँदै गएको स्वयं माओवादीको स्विकारोक्ति छ । आर्थिक अपारदर्शी गतिविधिका कारण माओवादीमा नवधनाढ्य र सामान्य गरी दुई वर्ग देखिएको नेताहरूले बताएका छन् । शान्ति प्रक्रियामा आएपछि सत्ता र शक्तिको नजिक हुने नेता तथा कार्यकर्ता नवधनाढ्य वर्गमा परिणत भएको, सशस्त्र युद्धमा त्याग गरेका व्यक्तिको कदर नभएको र उनीहरूलाई दैनिक जीवन गुजारा गर्न कठिन भएको पार्टीभित्र व्यापक गुनासो छ । जसका कारण श्रमजीवी, निम्न वर्गको वकालत गर्ने माओवादीमा हुने खाने र हुँदा खाने वर्गको जन्म भएको पार्टीभित्र तीव्र असन्तुष्टि छ ।

२०६४ पछि माओवादी ९ पटक संघीय सरकार, २ पटक प्रदेश र स्थानीय सरकारमा पुगेका अधिकांश नेता र नजिकका व्यक्तिहरूको जीवनशैली १५ वर्षेमै विलासी भइसकेको छ । यसको नकरात्मक प्रभाव माओवादीले निर्वाचनमा मतदाताको विश्वास गुमाउँदै गएको केन्द्रीय समितिले पारित गरेको प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक तथा सांगठनिक प्रस्तावमा उल्लेख छ ।

वैचारिक राजनीतिक कार्यदिशा कमजोर हुनु, कार्यशैली अराजक र व्यक्तिवादी हुँदा माओवादी पुनर्निर्माण र विघटनको दोसाँधमा रहेको निष्कर्ष निकालिएको छ । ‘आज हाम्रो पार्टी व्यापक पुनर्निर्माणको प्रचुर सम्भावना र विघटनको खतराको दोसाँधमा छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘वैचारिक–राजनीतिक अभिव्यक्तिमा हामी कम्युनिस्ट पार्टी छौं तर संगठनात्मक व्यवहार र सांस्कृतिक आचरणमा अराजकतावादी व्यक्तिवादको अवलम्बन गर्दै गएका छौं ।’




दाहालले ‘व्यक्ति वा राजनीतिक दलको पहिचान अन्ततः त्यसको अभिव्यक्तिबाट नभई उसको दैनिक व्यवहार र आचरणबाट निर्धारित हुने’ उल्लेख गर्दै ‘पार्टीका अगाडि रहेको यही नै प्रमुख विरोधाभास’ देखिएको दस्ताबेजमा स्वीकार गरेका छन् । ‘यो विरोधाभासकै कारण हाम्रो पहिचान गुम्दै गएको छ र हामी जनताबाट अलग्गिँदै गएका छौं,’ उनले भनेका छन्, ‘हामीले अविलम्ब विचार र राजनीति अभिव्यक्तिअनुसार संगठनात्मक व्यवहार र सांस्कृतिक आचरणमा रूपान्तरण गर्ने नीति, योजना र कार्यक्रम तयार गरेर त्यसको अनुसरण गर्ने कठोर प्रतिज्ञा गरेनौं भने कम्युनिस्ट पार्टीका रूपमा हाम्रो विघटन र विसर्जनलाई कसैले रोक्न सक्दैन ।’

साउन १७ देखि २२ काठमाडौंमा भएको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यले शुद्धीकरण मुख्य नेतृत्वबाटै सुरु हुनुपर्ने भन्दै अध्यक्ष दाहालको आलोचना गरेका थिए । ‘पार्टीभित्र स्पष्ट रूपमा धनी र गरिब वर्गको जन्म भएको छ । सत्ता र शक्तिको रहेको पार्टी नेतृत्व र वरिपरिका व्यक्ति पुँजीपति वर्गका विभाजित भइसकेको छ । इमानदार नेता तथा कार्यकर्ताको अवस्था कमजोर छ,’ उनीहरूको आलोचना थियो, ‘त्यसकारण शुद्धीकरण माथिबाटै सुरु हुनुपर्छ । पार्टीभित्र छोटे राजा जन्मनु हुँदैन ।’

माओवादीका एक पदाधिकारीले पार्टीभित्र आर्थिक चलखेल ह्वात्तै बढेको बताए । ‘पार्टीभित्र कसरी अपारदर्शी ढंगले पैसा कमाउने भन्ने चलखेल व्यापक छ,’ उनले भने, ‘पदाधिकारी, स्थायी र केन्द्रीय सदस्य तथा पालिका तहसम्म जसरी पनि पैसा जम्मा गर्ने प्रतिस्पर्धा जस्तै छ । त्यसकारण दस्ताबेजमै आर्थिक अपारदर्शिता भएको उल्लेख गरिएको छ ।’ संगठनात्मक समस्याबारे शीर्षकको दस्ताबेजमा पार्टीभित्र देखिएको मुख्य समस्या बुँदागत रूपमा राखिएको छ ।

माओवादीमा मुख्यगरी आफू केन्द्रित काम गर्ने शैलीको विकास भएको र पद, प्रतिष्ठा र पैसाका लागि जे पनि गर्न तयार हुने राजनीतिक दस्ताबेजमा उल्लेख गरिएको छ । आर्थिक रूपले अपारदर्शी जीवनशैली अपनाउने, आत्मकेन्द्रित व्यक्तिवादी प्रवृत्ति, गुटबन्दी गर्ने, समितिको बैठक बसी सामूहिक योजना बनाउन नचाहने, कार्यक्षेत्र र जनतामाझ नजाने र सिंहदरबार, बालुवाटार र प्रदेश राजधानीलगायतका शक्ति केन्द्रमा धाउन रमाउनेलगायतका विकृतिलाई पनि दस्ताबेजले उल्लेख गरेको छ ।

माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टी रूपान्तरणका लागि कठोर कदम चाल्नुपर्ने बेला आएको बताए । ‘पार्टी जीवनमा देखापरेका कमीकमजोरीप्रति निर्ममतापूर्वक आत्मसमीक्षा गरेर रूपान्तरण हुन सबैले जोड दिनुपर्छ,’ उनले भने, ‘त्यसका लागि पार्टीको माथिदेखि तलसम्म वैचारिक, सांगठनिक र सांस्कृतिक पुनर्गठनको दिशामा कठोर ढंगले अघि बढ्नुपर्छ ।’

माओवादी आन्दोलनमा विधावारिधि गरेको राजनीतिशास्त्रका प्राध्यापक रामकृष्ण तिवारीले सत्ता र शक्तिमा लागेका नेताहरू नबदलिएसम्म पार्टी रूपान्तरण कठिन हुने बताए । ‘शान्ति प्रक्रियामा आएको १५ वर्षमा सत्तामा रहेका नेता तथा वरिपरिका व्यक्तिको आर्थिक हैसियत कसरी बदलियो ? माओवादीले निष्पक्ष समीक्षा नगरेसम्म रूपान्तरण सम्भव छैन,’ उनले भने, ‘माओवादीभित्र धनी गरिब वर्गको जन्म हुने दुर्भाग्य हो ।’ व्यक्तिगत रूपमा पैसा कमाउने धन्दाका कारण माओवादी बदनाम हुँदै गएको उनको भनाइ छ । ‘पैसाका कारण माओवादीको विश्वसनीयता घट्दै गएको हो । नेताको खाने, बस्ने, लगाउने शैली एकाएक फेरियो । समाज रूपान्तरण नहुँदै नेताको आर्थिक अवस्था कसरी सुध्रियो ?’ उनको प्रश्न छ ।

माओवादी केन्द्रीय कार्यालय सचिव एवं संसद्को सार्वजनिक लेखा समितिका पूर्वसभापति डोरप्रसाद उपाध्याय पार्टीको नीति र नियति स्पष्ट नभएसम्म रूपान्तरण कठिन भएको बताउँछन् ।

माओवादी संस्थागत प्रणालीमा नचलेका कारण व्यक्तिवादी चरित्र मौलाउँदै गएको उनले बताए । ‘आर्थिक मामलामा पार्टीका नीति र नेताको नियत सफा भयो भने पार्टी रूपान्तरण सम्भव छ,’ उनले भने, ‘आर्थिक अपारदर्शी गतिविधिले जनतालाई भ्रम सिर्जना गरेको छ । कसको सम्पत्ति कति हो ? कसरी कमाएको हो ? रूपान्तरण अब आफूबाटै सुरु गर्नुपर्छ ।’ माओवादीले केन्द्रीय सदस्यको सम्पत्ति विवरण संकलन गरी अध्ययन गरेको छ । तर नेताहरूको सम्पत्ति विवरण अस्पष्ट भएको सचिव उपाध्यायले जानकारी दिए । ‘कार्यालयलाई प्राप्त सम्पत्ति विवरण पारदर्शी छैनन् । केन्द्रीय समितिको निर्णयअनुसार प्राप्त सम्पत्ति विवरण स्पष्ट हुने गरी बुझाउनुपर्ने देखिन्छ,’ उनले भने ।

माओवादी अनुशासन आयोगका प्रमुख टंक राईले लाभको पदमा रहेका नेताहरूको सम्पत्ति विवरण फेरि माग्ने तयारी भइरहेको बताए । ‘प्राप्त सम्पत्ति विवरणको अध्ययन गरी केन्द्रीय समितिलाई बुझाइनेछ,’ उनले भने, ‘अपारदर्शी ढंगले सम्पत्ति आर्जन गरेको देखिए कारबाहीको विषय बन्नेछ ।’ पार्टी अनुशासनसम्बन्धी कार्यविधि बनाएर देशव्यापी रूपमा आर्थिक, सांगठनिक उल्लंघन गरेको निवेदन आह्वान गरी कारबाही अघि बढाउने तयारी भइरहेको उनले बताए ।

सरकारको कामको प्रशंसा

भ्रष्टाचारविरोधी अभियान, ‘जनयुद्ध’ का सहिद घोषणा राजतन्त्रमा प्रकाशित गर्नु, जनयुद्ध दिवस फागुनमा सार्वजनिक बिदा दिनु, किसानका लागि मल, विद्यार्थीका लागि पाठ्यपुस्तक, मिटरब्याजीलाई कारबाहीजस्ता कामले प्रधानमन्त्री दाहाललाई नयाँ उचाइमा पुर्‍याएको राजनीतिक प्रतिवेदनमा दाबी गरिएको छ ।

‘जनतामा परिवर्तनप्रति असन्तोष बढाएर संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने, प्रमुख राजनीतिक दल र नेतालाई बदनाम गरी राष्ट्रलाई नै असफल बनाउने षड्यन्त्रलाई सरकारले चालेका जनमुखी कदमहरूले गतिलो जवाफ दिएर जनतामा आशा जगाएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘जनतामा अबचाहिँ केही हुन्छ कि भन्ने सकारात्मक सोचको विकास र नयाँ आशाको सञ्चार भएको छ ।सरकारका यस खालका पहलकदमीले पार्टी र प्रधानमन्त्री एवं अध्यक्ष प्रचण्डलाई जनताको मनमस्तिष्कमा नयाँ उचाइमा स्थापित गरेको छ ।’

माओवादीले नयाँ वैचारिक र राजनीतिक संश्लेषणका आधारमा समग्र वामपन्थीहरूको एकता र सुदृढीकरणको नेतृत्व गर्न सक्ने पनि दाबी गरिएको छ । ‘राजनीतिक, आर्थिक र सामाजिक अन्तरविरोधहरूको लेखाजोखा गरी नेपाली विशेषताको समाजवाद अभ्यासलाई नयाँ वैज्ञानिकस्तरमा उठाउनुपर्दछ,’ प्रतिवेदनमा भनिएको छ । राजनीतिक प्रतिवेदनमा संघीय, प्रदेश र स्थानीय सरकारमा मोर्चा बनाएर प्रभावकारी बनाउने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। चेक अनादर मुद्दामा दुई वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था गर्न सांसदहरु सहमत भएका छन् । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थ समितिमा आइतबार भएको दफाबार छलफलमा चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय गर्ने व्यवस्था राख्ने सहमति भएको हो । समिति सभापति सन्तोष चालिसेले चेक अनादर ...
। कोरोनाकालदेखि थुप्रिएका खाली कन्टेनरका कारण वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनमा समस्या आएको छ । थुप्रिएका कन्टेनरमध्ये अधिकांश कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेडका रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जानकारी गराएको छ । समितिले यी कन्टेनर फिर्ता लगेर बन्दरगाह व्यवस्थापनमा सहयोग गर्न भारतीय पक्षसँग आग्रह गरेको छ । सोमबार समिति र लिमिटेडका अधिकारीहरूबीचमा वीरगञ्ज सुक्खा बन्दरगाह व्यवस्थित रूपमा कार्गो ...
। बर्दघाट सुस्ता पश्चिमका किसानले लगाएका केराका बोटमा फलेकसीकाटोका रोगको संक्रमण देखिएपछि किसान चिन्तित बनेका छन् । फलेकसीकाटोकाको संक्रमणका कारण केराका बिरुवा र पात सुक्दै जाने, फलेका फल पाकेको जस्तो पहेँलो देखिने र विस्तारै सुकेर भुइँमा खस्ने समस्या देखिन थालेको नवलपरासी केरा उत्पादन सङ्घका अध्यक्ष लख्खु यादवले बताए । जिल्लाको सुस्ता र प्रतापपुरमा करिब एक हजार छ ...