मुख्य समाचार
ठेक्का सकिन ४ महिना बाँकी : लप्सीफेदी सबस्टेसन निर्माण सुरु नै भएन
ठेक्का सकिन ४ महिना बाँकी : लप्सीफेदी सबस्टेसन निर्माण सुरु नै भएन

— उपत्यकाको विद्युत् आपूर्ति सहज बनाउन अत्यावश्यक मानिएको लप्सीफेदी सबस्टेसन ठेक्काको म्याद सकिन ४ महिना बाँकी हुँदा पनि काम सुरु भएको छैन । तामाकोशी, सुनकोशी नदी र उक्त क्षेत्रका जलविद्युत् आयोजनाको बिजुली काठमाडौं ल्याउन र आपूर्ति सहज बनाउन ०७४ सालमा गरिएको सबस्टेसनको ठेक्का सम्झौता आगामी पुसमा सकिँदै छ ।


उक्त सबस्टेसन निर्माण सुरु नभए आगामी वर्षबाट काठमाडौंमा लोडसेडिङ दोहोरिने खतरा छ । तर ठेक्का सम्झौता भएको ६ वर्ष बित्दासमेत सबस्टेसनको जग्गा प्राप्तिबाहेक अन्य प्रगति छैन ।

स्थानीयले निरन्तर अवरोध गरेपछि हालसम्म सबस्टेसनको काम सुरु गर्न नसकिएको नेपाल विद्युत् प्राधिकरणको भनाइ छ । उक्त क्षेत्रमा ‘राष्ट्रिय सीमान्तीकरणविरुद्ध अभियान (समान नेपाल)’ र स्थानीय संघर्ष समितिलगायतले उक्त क्षेत्रबाट सबस्टेसन सार्नुपर्ने माग गर्दै आएका छन् । प्राधिकरणले सबस्टेसनलाई आवश्यक १७२ रोपनी जग्गा ०७४ सालमै किनेको थियो । उक्त जग्गा प्राधिकरणले झुक्याएर किनेको भन्दै यसमा केही स्थानीयले विरोध गरेका छन् । सबस्टेसनका लागि ५० जना जग्गाधनीको १७२ रोपनी जग्गा अधिग्रहणका लागि ०७४ जेठमा सार्वजनिक सूचना प्रकाशन गरी सोही वर्षको माघमा मुआब्जा तथा क्षतिपूर्ति रकम निर्धारण गरिएको थियो ।

जग्गा लिने बेला सबस्टेसन तथा प्रसारण लाइनबारे कुनै जानकारी नदिइएको र अहिले निर्माण गर्न लागेपछि संघर्षमा उत्रिनुपरेको संघर्ष समितिका अध्यक्ष रञ्जित तामाङको भनाइ छ । ‘प्राधिकरणले जग्गा रोक्का गर्‍यो र किनेपछि मात्रै हामीलाई यहाँ सबस्टेसन बन्न लागेको जानकारी दिइयो,’ उनले भने, ‘अहिले प्राधिकरणले लिएको जग्गामा सबस्टेसन बनाउन लागेको छ । यो हामीलाई सह्य छैन ।’

सरकारले जग्गा लिँदा अन्तर्राष्ट्रिय कानुन पालना नगरेका कारण आन्दोलन गर्नुपरेको समान नेपाल नामक अभियानका अभियन्ता आरके तामाङको दाबी छ । निरन्तर अवरोध भएपछि बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको छलफलमा स्थानीयले पहिला २२० केभीको सबस्टेसन बन्ने भनेर जग्गा लिइएको र अहिले ४०० केभीको बनाउन लागिएको भन्दै विरोध जनाएका थिए ।




सरकारले भने स्थानीय प्रभावितहरूका जायज माग सम्बोधन गरी लप्सीफेदी सबस्टेसन निर्माण अगाडि बढाउने प्रस्ट्याएको छ । सबस्टेसन निर्माण सुरु नभए यसले राजधानीमा पुनः लोडसेडिङ गर्नुपर्ने अवस्था सिर्जना हुन सक्ने भएकाले अवरोध नगर्न स्थानीयलाई मन्त्री शक्तिबहादुर बस्नेतले आग्रह गरे । स्थानीयका माग पूरा गर्न सरकार प्रतिबद्ध रहेको पनि उनको भनाइ छ ।

‘राष्ट्रिय आवश्यकतालाई ख्याल गर्दै सबस्टेसन तत्काल निर्माण गर्नुपर्छ,’ उनले भने । बस्तीबीच सबस्टेसन निर्माण गरिँदा मानव बस्ती नै नष्ट हुन्छ भन्ने बुझाइ गलत भएको मन्त्री बस्नेतले बताए । सबस्टेसन निर्माणबाट त्यस क्षेत्रको विद्युत् आपूर्ति विश्वसनीय तथा भरपर्दो हुने र उद्योग, कलकारखाना स्थापना हुने उनको भनाइ छ ।

काठमाडौं उपत्यकाको विद्युत् माग सन् ०५० सम्ममा ३२०० मेगावाट पुग्ने प्रक्षेपण गरेर वरिपरि र भित्री सडकमा २२० केभी प्रसारण तथा वितरण प्रणाली विस्तार अघि बढाइएको प्राधिकरणले जनाएको छ । तामाकोशी–काठमाडौं ४०० केभी प्रसारण लाइनअन्तर्गत शंखरापुर नगरपालिका–३ मा ४ वटा टावर निर्माणमा अवरोध रहेको प्राधिकरणको भनाइ छ । लप्सीफेदी सबस्टेसनबाट उपत्यकामा विद्युत् प्रवाह गर्न चाँगुनारायण सबस्टेसनसम्म १३२ केभी प्रसारण लाइन निर्माण हुँदै छ ।

चाँगुनारायणमा १३२ केभी सबस्टेसन निर्माणाधीन छ । उक्त सबस्टेसन निर्माणमा भने कुनै समस्या नरहेको प्राधिकरणले बताएको छ । तामाकोशी–काठमाडौं ४०० केभी प्रसारण लाइनलाई दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको छ । पहिलो खण्डमा नयाँ खिम्ती–बाह्रबिसेसम्मको ४४ किमि प्रसारण लाइनमा १ सय १८ वटा टावर छन् । दोस्रो खण्डमा भने बाह्रबिसे–लप्सीफेदीसम्मको ४६ किमि प्रसारण लाइनमा एक सय २२ वटा टावर छन् ।

लप्सीफेदी र चाँगुनारायण सबस्टेसन निर्माणका लागि पहिलो ठेक्का सम्झौता २८ मंसिर ०७४ मा भएको थियो । ठेकेदारले लप्सीफेदी सबस्टेसन निर्माणका लागि १ वर्ष काम गरेको थियो । तर, ठेकेदारको काम सन्तोषजनक नभएको भन्दै प्राधिकरणले ठेक्का सम्झौता तोडेको थियो । त्यसपछि ४ मंसिर ०७७ मा नयाँ ठेक्का सम्झौता भएको थियो । नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र एसियाली विकास बैंक (एडीबी) को ‘विद्युत् प्रसारण विस्तार तथा प्रणाली सुधार आयोजना’ मार्फत प्रवाह भएको सहुलियतपूर्ण ऋण सबस्टेसन तथा प्रसारण लाइन निर्माण भइरहेका छन् ।

प्रसारण लाइनको मार्गधिकारमा पर्ने जग्गाको क्षतिपूर्ति निर्धारणमा अधिकतम लचकता अपनाइने भएकाले आयोजना निर्माणमा अवरोध नगरिदिन प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आग्रह गरे । स्थानीयले सडक मर्मत तथा विस्तार, खानेपानी योजना, विद्यालय भवन, गुम्बा निर्माण, स्थानीयलाई रोजगारीलगायत माग आयोजना निर्माणका क्रममा प्राधिकरणले सम्बोधन गर्दै जाने उनको भनाइ छ ।

सबस्टेसन निर्माणस्थलको जग्गा अधिग्रहण गर्दा सम्बन्धित जग्गाधनीले राजीखुसीले मुआब्जा तथा क्षतिपूर्ति बुझेको, प्रारम्भिक वातावरणीय परीक्षण (आईई) तथा पूरक आईआईलगायत सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरिएको र उपलब्ध विकल्पमध्ये हाल छनोट गरिएको स्थान नै सबैभन्दा उत्तम रहेको प्राधिकरणले जनाएको छ । सोहीअनुसार प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि बोलपत्र स्वीकृत भई ठेक्का सम्झौता गरी काम भइरहेकोले अहिले सबस्टेसन अन्यत्र सार्न नसकिने प्राधिकरणले प्रस्ट्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कन्टेनरको उचित व्यवस्थापन नहुँदा सिर्सिया सुक्खा बन्दरगाहमा फेरि कन्टेनरको चाङ लागेको छ । हाल बन्दरगाह परिसर खाली र मालवाहक कन्टेनरले भरिएको छ । बिहीबार बन्दरगाह परिसरमा १ हजार ७ सय ६५ खाली र ९ सय ९० मालबाहक समेत गरी २ हजार ७ सय ५५ कन्टेनर रहेका छन् । इन्टरमोडल यातायात विकास समिति वीरगन्जका प्रमुख ...
— एसियाली विकास बैंक (एडीबी) ले विभिन्न तीन परियोजना कार्यान्वयन गर्न १ खर्ब ५ अर्ब ६१ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । सहायता रकममध्ये ६ अर्ब ५२ करोड रुपैयाँ अनुदान हो भने बाँकी रकम सहुलियतपूर्ण ऋण हो । दोस्रो चरणको काठमाडौं उपत्यका खानेपानी आपूर्ति सुधार परियोजना, दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) विद्युत् प्रसारण तथा वितरण सुदृढीकरण ...
: उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वदेशी र विदेशी निजी लगानीलाई वृद्धि गर्न आवश्यक रहेको बताएका छन्। थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्त सम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकको समापनमा अध्यक्षका हैसियतले सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले एसिया र प्रशान्त क्षेत्रमा सार्वजनिक पूँजीले मात्र वित्तीय आवश्यकता पूरा गर्न नसक्ने भएकाले निजी ...
— नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नौ अर्ब ११ करोड ३२ लाख बराबरको नाफा कमाएको छ । यो करकट्टी गर्नुअघिको नाफा हो । चालु आवको साउनदेखि असोज मसान्तसम्म ब्याज तथा अन्य आम्दानी समेत कूल आम्दानी ४१ अर्ब ८० करोड ६८ लाख रहेको छ । यस्तै ३२ अर्ब ६९ करोड ३६ लाख बराबरको ...
: विकास साझेदारबाट लगानीको प्रत्याभूति नहुँदा माथिल्लो अरुण जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन प्रभावित भएको छ। १०६३ मेगावाटको अर्धजलाशययुक्त आयोजनामा विश्व बैंकको नेतृत्वमा एसियाली विकास बैंक (एडीबी), जाइका लगायतका साझेदार निकायले लगानी गर्ने भन्ने थियो। तर, सन् २०२४ को अक्टोबरमा गर्ने भनेको वित्तीय व्यवस्थापन अहिलेसम्म हुन सकेको छैन। आयोजनाको लगानी भूराजनीतिक कारणले अनीर्णित बनेको स्रोत बताउँछ। ...