। कोभिड-१९ र त्यसपछि रसिया-युक्रेन युद्धले गर्दा विश्वव्यापी रुपमा देखिएको आर्थिक अनिश्चितापछि अर्थतन्त्रको बाह्य क्षेत्र सबल बन्दै गएको छ । तर, मूल्य स्थायित्वमा देखिएको दबाब भने कायम रहेको छ ।
भारतमा भएको खाद्य वस्तुको मूल्य वृद्धिका साथै नेपाली बजार अनुगमन प्रभावकारी हुन नसक्दा मूल्यवृद्धि उच्च देखिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन् । आम उपभोक्ताले पछिल्लो १९ महिनादेखि लगातार ६ प्रतिशत वा त्यसभन्दा माथिको मुद्रास्फीतिको समाना गरिरहेका छन् ।
पछिल्लो दुई आर्थिक वर्षदेखि लगातार उच्च मुद्रास्फीतिको दबाबमा रहेकोमा चालु आर्थिक वर्षको पहिलो महिनामा पनि उक्त दबाब कायमै देखिएको छ । २०८० साउनको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.५२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
नेपाल सरकारले बजेटमा उल्लेख गरेअनुसार राष्ट्र बैंकले ६ प्रतिशतको आर्थिक वृद्धि र ६.५ प्रतिशतको मुद्रास्फीतिको लक्ष्यसहित मौद्रिक नीति तर्जुमा गरेको थियो ।
तर, आर्थिक वर्षको पहलिो महिनादेखि नै मुद्रास्फीतिमा दबाब भने कायम देखिएको हो । गत आर्थिक वर्ष २०७९/८० मा मुद्रास्फीति ७ प्रतिशतभित्र कायम राख्ने लक्ष्य लिएको भएपनि वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ७.७४ प्रतिशत पुगेको थियो।
यस्तै २०८० असारमा वार्षिक विन्दुगत मुद्रास्फीति ७.४४ प्रतिशत थियो । त्यसभन्दा अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा वार्षिक विन्दुगत मुद्रास्फीति ६.३२ प्रतिशत र २०७९ असारको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ८.०८ प्रतिशत थियो ।
साउनमा गैर खाद्य तथा सेवा समुहको मुद्रास्फीति भन्दा खाद्य तथा पेय पदार्थ समूहका मुद्रास्फीति उच्च देखिएको छ । खाद्य वस्तुको मूल्यवृद्धि नै उच्च हुँदा आम नागरिककौ दैनिकी नै प्रभावित बनेको छ ।
खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत पनि मरमसला उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ४५.५६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.२० प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १२.१९ प्रतिशत, रेष्टुरेन्ट तथा होटलको ११.०५ प्रतिशत र तरकारीको १०.८० प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । यता घिउ तथा तेल उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकांक भने १५.१३ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १५.५५ प्रतिशत, शिक्षाको ९.१० प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ६.९३ प्रतिशत र फर्निसिब तथा घरायसी उपकरणहरुको ६.७९ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार यातायात उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकांक भने ०.८१ प्रतिशतले घटेको छ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता भट्ट मुद्रास्फीतिको दबाब भने माथि नै रहेको बताउँछन् । मुद्रास्फीतिको दबाब राष्ट्रिय कारण मात्रै नभएर अन्तर्राष्ट्रिय कारणले पनि भएको प्रवक्ता भट्ट बताउँछन्।
‘खाद्यान्न लगायतका वस्तुको मूल्य सबैभन्दा ठूलो परिमाणमा आयात गर्ने भारतमा बढीरहेको देखिन्छ । जुलाई र अगस्टमा भारतमा पनि खाद्य पदार्थको मूल्य भारतमा बढेको देखिएको छ । त्यसको प्रभाव नेपालमा पनि देखिन्छ,’ उनले भने, ‘खाद्यान्नको मूल्यले मुद्रास्फीतिलाई ड्राइभ गरेको साउनको तथ्यांकले देखिन्छ । उपभोक्ता मूल्य सूचकांकमा ४४ प्रतिशत हिस्सा खाद्यन्नको हिस्सा छ’
इन्धनको मूल्य पनि केही घटेर पुनः बढ्न लागेकोले त्यसको प्रभाव पनि मुद्रास्फीतिमा पर्ने उनले बताए । बजार अनुगमन पनि प्रभावकारी बनाउनुपर्ने उनले बताए ।
‘उपभोक्ता मूल्य सूचकांकमा सबैभन्दा ठूलो रहेको वस्तुको मूल्य एकाएक बढेको छ । हाम्रो वस्तु बजारमा आपूर्ति र मागको बीचमा असन्तुलन देखिन्छ,’ उनले भने, ‘भारत लगायत अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिको प्रभाव पनि वस्तु बजारमा देखिन्छ । यस्तै बजारमा अभाव सिर्जना गर्ने र एकाएक मूल्यवृद्धि गर्ने प्रवृत्तिलाई पनि नियन्त्रण गर्नुपर्ने देखिन्छ ।’