‘मलाई, मेरो हराएको साँझ देऊ’ भन्दै
बेहोसी रातसँग निहुँ खोजिबस्छ।
लाचार रात, गोहीले जस्तै आफूले
साँझ निलेको कुरा कहिले बताउँदैन
साँझ पनि, रातले आफूलाई
निल्यो भनेर कोहीसँग गुनासो गर्दैन ।
यसरी नै साँझ र रातको घम्साघम्सी परिरहन्छ
बेहोसी भने कुन्नी कुन सुरमा सधैं साँझमात्र खोजिरहन्छ।
रातको केही सीप लाग्दैन
बिहान अन्धकार चिरेर धर्तीभरि तेजस्वी सूर्य छाइसक्छ
बेहोसी भने मध्यदिनमा तन्द्राबाट बिउँझिन्छ
फेरि तन्नेरी घामसँग निहुँ खोज्न थाल्छ
तर आँखा जुधाउन सक्दैन !
यसरी प्रत्येक दिन सूर्य क्षितिजमा पुग्नै हुन्न
बेहोसी साँझलाई अंकमाल गर्न गिलास भरिरहेको हुन्छ ।
अनि अलिकति नशाको होस चढेपछि
दुई हात फैलाएर
‘मलाई, मेरो आँखैअघि हराएको साँझ देऊ’ भन्दै
बेहोसी कालो रातसँग निहुँ खोजिबस्छ
‘एक असफल प्रेमको दुर्दान्तभित्र
हराएको आफू हो’ भन्ने बिर्सेर
बेहोसी सधैं मातसँग निहुँ खोजिबस्छ।