क्यानडाको आरोप ‘फाइभ आइज’ को सूचनामा आधारित
क्यानडाको आरोप ‘फाइभ आइज’ को सूचनामा आधारित

— क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानेडियन नागरिक शिख नेता हरदीप सिंह निज्जरको हत्यामा भारतमाथि लगाएको आरोप ‘फाइभ आइज’ ले दिएको सूचनामा आधारित रहेको दाबी गरिएको छ । क्यानडाका लागि अमेरिकी राजदूत डेविड कोहेनले त्यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

‘फाइभ आइज’ साझेदार देशबीच भएको गोप्य सूचनाको जानकारी आदानप्रदानले नै ट्रुडोलाई भारत सरकारविरुद्ध आरोप लगाउन प्रेरित गरेको उनले बताएका छन् । अमेरिका, ब्रिटेन, अस्ट्रेलिया, क्यानडा र न्युजिल्यान्ड पाँच देशले खुफिया सूचना आदानप्रदान गर्न बनाएको गठबन्धन ‘फाइभ आइज’ का रूपमा चिनिन्छ ।

निज्जरको हत्यामा भारत सरकारको सुरक्षा एजेन्सीको हात रहेको ट्रुडोले सार्वजनिक रूपमा आरोप लगाएका थिए । अमेरिकी राजदूत डेविडले क्यानडाको टेलिभिजन सीटीवीलाई दिएको अन्तर्वार्तामा ‘फाइभ आइज’ बीच आदानप्रदान गरिएको सूचनाले नै निज्जरको हत्यामा भारतीय एजेन्टको सम्भावित सम्बन्ध देखिएको दाबी गरेका छन् । यस मामिलामा अमेरिका र क्यानडाबीच प्रशस्तै संवाद भएको समेत उनले बताएका छन् ।

अमेरिकी कूटनीतिज्ञका तर्फबाट क्यानडाको पक्षमा ठूलो दाबी आए पनि आरोपलाई पुष्टि गर्ने ठोस प्रमाण भने अझैसम्म क्यानडाले दिन सकेको छैन । अमेरिकाले क्यानडाले भारतमाथि लगाएको आरोपको गम्भीरतापूर्वक जाँच हुनुपर्ने र त्यसमा भारतले सहयोग गर्नुपर्ने अभिव्यक्ति दिइसकेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले क्यानडाको आरोपलाई अमेरिकाले गम्भीरताका साथ लिएको बताइसकेका छन् ।

भारतसँग अमेरिकासँगको बढ्दो सम्बन्धका बेला अमेरिकाको कस्तो प्रतिक्रिया होला भनेर सोधिएको प्रश्नमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलविनले यस्ता गतिविधि प्रमाणित भए कसैलाई पनि खास छुट दिन नसकिने बताएका थिए । ‘फाइभ आइज’ का अन्य देशले पनि यस मुद्दामा अनुसन्धानको पक्षमा आफ्नो मत सार्वजनिक गरेका छन् ।



क्यानडाका प्रधानमन्त्रीले भारतमाथि लगाएको आरोपपछि दुई देशबीचको सम्बन्ध अहिलेसम्मकै खराब स्थितिमा पुगेको छ । भारतले उक्त आरोपलाई पूर्णतया अस्वीकार गरेको छ ।

१८ जुन २०२३ का दिन क्यानडाको सरीस्थित गुरुद्वारा नजिकै निज्जरको गोली हानेर हत्या गरिएको थियो । भारतले उनलाई ‘खालिस्तान’ देशको माग गर्ने पृथकतावादी नेताका रूपमा मोस्ट वान्टेड सूचीमा राखेको थियो । उक्त घटनाको तीन महिनापछि गत साता संसद्मा बोल्दै प्रधानमन्त्री ट्रुडोले निज्जरको हत्यामा भारतीय सुरक्षा एजेन्सीको संलग्नताको सम्भावना रहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए । संसद्मा बोलेको दुई दिनपछि पनि आफूले विश्वसनीय आधारहरूमै त्यस्तो भनेको उनले दाबी गरेका छन् ।

ट्रुडोको अभिव्यक्तिपछि क्यानडाले त्यहाँस्थित भारतीय दूतावासमा रहेका एक जना उच्च कूटनीतिज्ञलाई देश निकालाको सूचना दिएको थियो । त्यसको जवाफमा भारतले पनि दिल्लीस्थित क्यानडाको उच्च नियोगबाट एक जना कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएको थियो ।

दुवै देशले एकअर्को देशमा भ्रमणमा जाँदा वा त्यहाँ रहेका आ–आफ्ना नगरिकलाई सुरक्षित रहन ट्राभल एड्भाइजरी जारी गरेका छन् । भारतले प्रशस्तै सूचना दिँदा पनि ‘खालिस्तान’ समर्थकलाई कारबाही गर्नुको साटो क्यानडा सरकारले संरक्षण गरेको आरोप लगाएको छ । क्यानडामा आफ्नो नियोग र त्यहाँका कर्मचारी असुरक्षित रहेको भन्दै क्यानडामा आफ्नो भिसा सेन्टर नै भारतले बन्द गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो। ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए। अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ...
स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो । अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त ...