क्रिकेटमा नेपालको ५ विश्व कीर्तिमान
क्रिकेटमा नेपालको ५ विश्व कीर्तिमान

— विश्व क्रिकेटकै लागि यो दुर्लभ दिन रह्यो । एकै दिन एकैपल्ट यति धेरै कीर्तिमान सायद यसअघि बनेको पनि थिएन । विश्व क्रिकेटमा यस्तो दिन दोहोर्‍याएर विरलै मात्र आउने छ । नेपालले बुधबार कुल ५ विश्व कीर्तिमान बनाएको छ ।
१९ औं एसियाली खेलकुदमा बुधबारदेखि पुरुष क्रिकेटको खेल सुरु भयो ।

उद्घाटन खेलमा नेपालसामु उत्रेको थियो मंगोलिया । मंगोलिया त्यस्तो टिम थियो, जसले अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक खेलिरहेको हो । खेल स्थानीय समयअनुसार बिहान ९ बजे सुरु हुने क्रममा थियो । मंगोलियाले पहिलो ब्याटिङ गरेको भए खेल निकै चाँडै टुंगिने डर थियो ।

नेपाल आफैंले पनि टस जिते पहिले बलिङ गर्ने योजना बनाएको थियो । तर, टस जितेर मंगोलियाले ठूलो मुटु देखायो र नेपाललाई ब्याटिङको निम्तो दियो । यो यस्तो निर्णय रह्यो, जसले क्रिकेटका अनेक दुर्लभ कीर्तिमान भंग गर्न मदत गर्‍यो । नेपालले यस क्रममा २० ओभर उपयोग गर्दै ३ विकेट गुमाई ३ सय १४ रन बनायो । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा कुनै पनि टिमले ३ सय रन छोएको यो नै पहिलोपल्ट थियो । पछिल्लो समय ट्वान्टी–२० मा आक्रामक ब्याटिङको क्रम बढ्दो छ । यस्तोमा धेरैको अनुमान के थियो भने अब तीन सयको स्कोर पनि चाँडै बन्नेछ ।

नेपालले यही काम गर्‍यो । यसको एउटा प्रमुख कारण नेपालले २६ छक्का प्रहार गर्न सक्नु हो ।

ट्वान्टी–२० अन्तर्राष्ट्रियको एकै खेलमा यति धेरै छक्का बनेको यो पहिलोपल्ट हो । अब ठूलो स्कोर खडा भएपछि जित–हारको अन्तरमा पनि कीर्तिमान बन्ने नै भयो । साँच्चै नेपाल २ सय ७३ रनले विजयी रह्यो । मंगोलिया १३.१ ओभरमा ४१ रन बनाएर अलआउट भयो ।



नेपालले त्यसमा अतिरिक्तमा २३ रन खर्चेको थियो । सम्भवतः नेपालले सुरुमा केही सुस्त ब्याटिङ गरेको थियो, नत्र स्कोर अझ ठूलो हुन सक्थ्यो ।

कप्तान रोहित पौडेल के मान्छन् भने पिच दुवै टिमका लागि नयाँ थियो, त्यसैले यो स्वाभाविक पनि हो । ‘यति ठूलो स्कोरमा गुनासो गर्नुहुन्न, एकै पल्टमा चार सय, पाँच सय रन बन्दैन नै,’ उनले मुसुक्क हाँसेर प्रतिक्रिया दिए ।

यी सबैमध्ये सबैभन्दा सानको कीर्तिमान दीपेन्द्रसिंह ऐरी र कुशल मल्लको नाममा रह्यो । दीपेन्द्रले ९ बलमै अर्धशतक बनाए । यो यस्तो कर्तिमान हो, जुन अब कहिले भंग हुने छैन, बराबरमात्र हुन सक्नेछ । अर्धशतक बनाउन कम्तीमा ९ बल खेल्नैपर्ने हुनाले दीपेन्द्रको कीर्तिमान अजयी बन्नेछ । दीपेन्द्रले युवराज सिंहले १२ बलमा बनाएको अर्धशतकको कीर्तिमान उछिन्ने क्रममा लगातार ६ छक्का पनि प्रहार गरेका थिए ।

दीपेन्द्र १० बलमा ५२ र कुशल ५० बलमा १ सय ३७ रन बनाएर अविजित रहे । कुशलले ३४ बलमै शतक बनाएर भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेक गणतन्त्रका विक्रम शेखरको नाममा रहेको ३५ बलको शतकलाई भंग गरे । कुशलले ८ चौका र १२ छक्का प्रहार गरे । कुशल भुर्तेल २३ बलमा १९ र आसिफ शेख १७ बलमा १६ रन बनाई आउट भएपछि कुशल मल्ल र रोहित पौडेल जागेका थिए ।

कुशल (मल्ल) र रोहित दुवैले समान १९ बलमा अर्धशतक पूरा गरेका थिए । कुशलले दोस्रो ५० रन बनाउन केवल १५ बल खेले । रोहितले २७ बल खेल्दै २ चौका र ६ छक्का प्रहार गरी ६३ रन बनाए । रोहित १९ औं ओभरको पहिलो बलमा आउट भएपछि आएका दीपेन्द्रले त्यो ओभरको बाँकी ५ बलमै छक्का प्रहार गरे । अन्तिम ओभरको पहिलो बलमा कुशलले १ रन लिएपछि स्ट्राइकमा आएका दीपेन्द्रले पहिलो बलमै छक्का प्रहार गर्दै लगातार ६ छक्का प्रहार गरे । आफूले सामना गरेको सातौं बलमा २ रन जोडेका दीपेन्द्रले त्यसपछि लगातार दुई छक्का प्रहार गरी अविश्वसनीय हिसाबमा ९ बलमा अर्धशतक पूरा गरे ।

खेलपछि कप्तान रोहितले दीपेन्द्र र कुशलको प्रशंसा गरे । उनले भने, ‘उनीहरूले निकै राम्रो ब्याटिङ गरे । हामी सबैले लगातार सजिलो बल पाइरहेका थियौं । समग्रमा भन्दा टिमले निकै राम्रो गर्‍यो । खासमा हाम्रो उद्देश्य अर्को चरण पुग्नै नै हो । हामी यही नीतिमा अडिग छौं ।’

नेपालका लागि क्रिकेटमा यो जितको अर्को अर्थ पनि छ । यो विशेष छ । पूरा एसियाडमा नेपाली खेलाडीको अहिलेसम्मको प्रदर्शन कमजोर छ । नेपाली खेलाडी अधिकांश अवसरमा अन्तिम स्थानमा परेका छन् । होइन भने नेपाली खेलाडीले बेहोरेको हारको क्रम चर्को छ । त्यसको ठीक विपरीत नेपालले चेचियाङ युनिभर्सिटीको मैदानमा प्राप्त जित उल्टै एकपक्षीय रह्यो । यसले नेपाली खेलकुदलाई धेरै राहत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाले आईसीसी विश्वकप लिग–२ मा यूएईलाई १० विकेटले हराएको छ । १०७ रनको लक्ष्य अमेरिकाले १५.५ ओभरमा पूरा गर्‍यो। ओपनर एन्ड्रिस गौस ५४ बलमा १२ चौका र १ छक्कासहित ६६ तथा स्मित पटेल ४१ बलमा ५ चौकासहित ३८ रनमा नटआउट रहे । त्यसअघि नामिबियाको विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३१.२ ओभरमा १०६ ...
। मध्यक्रमका ब्याटर कामिन्दु मेन्डिसको शतकमा घरेलु टोली श्रीलंकाले पहिलो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध मध्यम ब्याटिङ गरेको छ। गालेमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका पहिलो दिनको समाप्तिमा ३०२–७ को अवस्थामा छ। कामिन्दु मेन्डिस १७३ बलमा ११ चौकासहित ११४ रनमा आउट भए । मात्रै सातौं टेस्ट खेलेका कामिन्दुको यो चौथो टेस्ट शतक हो। कुशल मेन्डिस ५०, दिनेश चान्डिमल ३०, ...
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...