मुख्य समाचार
सिमेन्ट उद्योग धमाधम बन्द, लगानी जोखिममा
सिमेन्ट उद्योग धमाधम बन्द, लगानी जोखिममा

: बजारमा तीव्र प्रतिस्पर्धा, कम खपत र बैंक ऋणको चपेटका कारण झापा जिल्लाका सिमेन्ट उद्योगहरू धमाधम बन्द हुन थालेका छन्। जिल्लाका आठ सिमेन्ट उद्योगमध्ये तीन उद्योग (मित्तल, मनसा र सन्राइज) पूर्ण रूपमा बन्द भइसकेका छन्। बजार यस्तै रहिरह्यो भने छिट्टै अन्य उद्योग पनि बन्द हुने अवस्थामा पुगेको सञ्चालक बताउँछन्।


गोरखकाली, हिमालयज, मेघा, कञ्चनजंघा, काबेली सिमेन्ट उद्योगले मात्र आफ्नो उत्पादन जसोतसो बजारमा पठाइरहेका छन्। फुस, टाली र टिनको छानो भएका घरहरू भत्काएर स्थानीयले धमाधम छतसहितको पक्कीघर निर्माण गर्न थालेपछि कुनै बेला जिल्लामा सिमेन्टको माग अत्यधिक बढेको थियो।

सहरी क्षेत्रको विस्तारसँगै स्वदेशी उत्पादनका सिमेन्ट बजार नपाएर यहाँका बासिन्दाले चोरी, तस्करीको माध्यमबाट भिœयाइएका भारतीय सिमेन्ट प्रयोग गर्नुपर्ने बाध्यता पनि थियो। जिल्लामा सिमेन्टको माग अत्यधिक बढेसँगै त्यसबेलाका पूर्वकै चर्चित उद्योगपति स्व. मोहनलाल अग्रवालले झापामा पहिलो सिमेन्ट उद्योगको स्थापना गरेका थिए। उनले साबिक चन्द्रगढी गाविस हाल भद्रपुर नगरपालिका–९ स्थित पुहाँतुबारीमा २०५७ सालमा मित्तल सिमेन्ट उद्योगको स्थापना गरेका थिए। त्यसपछि जिल्लामा धमाधम अरू सिमेन्ट उद्योगहरू खोलिन थाले। मित्तलपछि २०६० सालमा मेचीनगर–१३ स्थित दुवागढीमा गोरखकाली सिमेन्ट उद्योगको स्थापना भयो। त्यसपछि सोही ठाउँमै २०६१ सालमा हिमालयज सिमेन्ट उद्योग पनि खोलिए। २०६६ मंसिरमा भद्रपुर– ९ स्थित पुहाँतुबारीमा मनसा सिमेन्ट उद्योग स्थापना भयो।

२०६९ सालमा बिर्तामोडस्थित चारपानेमा कञ्चनजंघा र मेचीनगर– १५ स्थित ज्यामिरगढीमा मेघा सिमेन्ट उद्योग पनि सञ्चालनमा आयो। २०७२ सालमा मेचीनगर– ७ स्थित ज्यामिरगढीमा सनराइज र २०७७ सालमा हल्दिबारी– ३ स्थित देवीबस्तीमा काबेली सिमेन्ट उद्योगको स्थापना भयो। एकपछि अर्का गर्दै सिमेन्ट उद्योगहरू स्थापना भए। अहिले त्यसैगरी उद्योगहरू धमाधम बन्द हुँदै गएका छन्।

जिल्लाकै पहिलो मित्तल सिमेन्ट उद्योग चार वर्षअघि बन्द भइसकेको उद्योगका सञ्चालक सुरेशकुमार मित्तलले जानकारी दिए। करिब डेढ बिघा जमिनमा पाँच करोड लगानीमा त्यतिबेला सिमेन्ट उद्योग स्थापना गरेको स्मरण गराउँदै सञ्चालक मित्तलले भने, ‘आर्थिक वर्ष २०७५÷०७६ मा उद्योग बन्द गर्नुपर्ने अवस्था आइपर्‍यो।’ कुनै बेला एकछत्र राज गरेको पशुपति, दुर्गा र सूर्य नाम सिमेन्टलाई बजारमा टिकाउनै मुस्किल भयो। ‘भारतबाट चर्को मूल्य तिरेर ल्याउनु पर्ने, त्यसपछि बजारमा सिमेन्टलाई प्रतिस्पर्धामा बेच्नुपर्ने अवस्था आयो,’ सञ्चालक मित्तलले भने, ‘बैंकको ऋण, त्यसमाथि चर्को ब्याजदरका कारण उद्योगलाई निरन्तरता दिन सकिएन।’ राज्यले उद्योग सञ्चालन गर्ने सहज वातावरण नबनाउँदा बन्द भएको उद्योग फेरि सञ्चालन गर्ने अवस्था छैन। ‘उद्योगका मेसिनरी औजारलगायतका सामग्री अब कबाडीमा लगेर बिक्री गर्नुपर्ने अवस्था आइसक्यो,’ उनले भने।

गोरखकाली र सन्साइज सिमेन्टका सञ्चालक दीपेश ढकाल भन्छन्, ‘सन्राइज उद्योग बन्द भएको चार महिना भइसक्यो, अब पालो गोरखकाली हो।’ ५५ करोड लगानीमा सन्राइज उद्योग स्थापना भएको थियो। ‘सात वर्ष सन्राइज सञ्चालन गर्दा उद्योग घाटामा गयो,’ सञ्चालक ढकालले भने, ‘कोरोनापछि झन् बजार खस्किँदै गयो, खपतभन्दा बढी सिमेन्ट उद्योग खोलिन थाले, बजारमा प्रतिस्पर्धा गर्ने बाटो नै बन्द भयो, विकल्प नहुँदा अन्ततः एउटा उद्योग बन्द गर्नु पर्‍यो।’

देशको आर्थिक अवस्था पनि जटिल छ। राज्यले ठूला योजनाहरू सञ्चालन गर्न सकेको छैन। राज्यले उद्योगलाई हेर्न दृष्टिकोण पनि फरक छ। ‘यस्तो अवस्थामा कसरी उद्योग सञ्चालन गर्न सकिन्छ ?,’ उनले थपे।

गोरखकालीले पहिला दिनमा १० हजार बोरा सिमेन्ट उत्पादन गथ्र्याे। ‘अहिले १० हजार बोरा बिक्री गर्न एक साता लाग्छ,’ उनले भने। सरकारले उद्योगलाई टिकाउने हो भने भ्याट र अन्तःशुल्कमा छुट दिने व्यवस्था ल्याउनुपर्ने उनको भनाइ छ।

त्यस्तै भद्रपुरका उद्योगीहरू पशुराम अग्रवाल, सञ्जय गोयल र भक्ति अधिकारी मिलेर मनसा सिमेन्ट उद्योग स्थापना गरेका थिए। २०६६ मंसिरमा स्थापना भएको उद्योग २०७८ अन्तसम्म आइपुग्दा बन्द भयो। कोरोना संक्रमणबाट सञ्चालक अग्रवालको निधन भएको ६ महिनाभित्र उद्योग बन्द भएको हो। अग्रवालको निधनपछि अन्य सेयरधनीले उद्योगलाई निरन्तरता दिन नसक्दा उद्योग बन्द गर्नुपर्ने अवस्था आएको जनाइएको छ। बजारमा पाँच करोड रुपैयाँभन्दा बढी रकम बाँकी रहेको त्यसमाथि बैंकको ऋणको चपेटा कारण उद्योग बन्द गर्नुपर्ने अवस्था आएको सञ्चालक पशुरामका भाइ ब्रह्मदेव अग्रवालले जानकारी दिए।

बन्द भएको उद्योग पश्चिम नवलपरासीस्थित सर्वोत्तम सिमेन्ट उद्योगले खरिद गर्ने तरखरमा रहेको बुझिएको छ। सर्वोत्तमले खरिद गरेपछि फेरि उत्पादन सुरु हुने जनाइएको छ।

त्यसैगरी, ६० करोड लगानीमा स्थापना गरिएको काबेली सिमेन्ट उद्योगले आंशिक रूपमा मात्र उत्पादन बजारमा पठाइरहेको उद्योगका सञ्चालक सुमन मैनालीले जानकारी दिए। उद्योग घाटामा चलिरहेको छ। बजारमा रहेको बाँकी रकम उठाउन पनि सिमेन्ट पठाउनु परेको छ। कोरोना महामारीको असर उद्योगमा परेको बताउँदै सञ्चालक मैनालीले भने, ‘आर्थिक मन्दी, ठूला विकास निर्माणका काम ठप्प र बैंकको चर्को ब्याजदरको असर उद्योगमा परेको हो।’

क्लिंकर प्लान्ट भएका उद्योगहरूले बजारमा सस्तोमा सिमेन्ट बिक्री गरिदिँदा ब्रान्डिङ गर्ने उद्योगहरू मारमा परेको बताउँदै झापा उद्योग वाणिज्य संघका महासचिवसमेत रहेका मैनालीले भने, ‘झापालगायतका पूर्वका धेरै सिमेन्ट उद्योगहरू बन्द भइसकेको छन्, अब भएका उद्योगहरू पनि क्रमशः बन्द हुने अवस्थामा पुगिसकेको छ।’

सरकारले उद्योगीको मनोबल बढाउने खालको नीति तथा कार्यक्रम, कर छुटको व्यवस्था नल्याएसम्म सञ्चालनमा आएका उद्योगको लगानी नै जोखिममा छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कन्टेनरको उचित व्यवस्थापन नहुँदा सिर्सिया सुक्खा बन्दरगाहमा फेरि कन्टेनरको चाङ लागेको छ । हाल बन्दरगाह परिसर खाली र मालवाहक कन्टेनरले भरिएको छ । बिहीबार बन्दरगाह परिसरमा १ हजार ७ सय ६५ खाली र ९ सय ९० मालबाहक समेत गरी २ हजार ७ सय ५५ कन्टेनर रहेका छन् । इन्टरमोडल यातायात विकास समिति वीरगन्जका प्रमुख ...
— एसियाली विकास बैंक (एडीबी) ले विभिन्न तीन परियोजना कार्यान्वयन गर्न १ खर्ब ५ अर्ब ६१ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । सहायता रकममध्ये ६ अर्ब ५२ करोड रुपैयाँ अनुदान हो भने बाँकी रकम सहुलियतपूर्ण ऋण हो । दोस्रो चरणको काठमाडौं उपत्यका खानेपानी आपूर्ति सुधार परियोजना, दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) विद्युत् प्रसारण तथा वितरण सुदृढीकरण ...
: उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वदेशी र विदेशी निजी लगानीलाई वृद्धि गर्न आवश्यक रहेको बताएका छन्। थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्त सम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकको समापनमा अध्यक्षका हैसियतले सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले एसिया र प्रशान्त क्षेत्रमा सार्वजनिक पूँजीले मात्र वित्तीय आवश्यकता पूरा गर्न नसक्ने भएकाले निजी ...
— नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नौ अर्ब ११ करोड ३२ लाख बराबरको नाफा कमाएको छ । यो करकट्टी गर्नुअघिको नाफा हो । चालु आवको साउनदेखि असोज मसान्तसम्म ब्याज तथा अन्य आम्दानी समेत कूल आम्दानी ४१ अर्ब ८० करोड ६८ लाख रहेको छ । यस्तै ३२ अर्ब ६९ करोड ३६ लाख बराबरको ...
: विकास साझेदारबाट लगानीको प्रत्याभूति नहुँदा माथिल्लो अरुण जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन प्रभावित भएको छ। १०६३ मेगावाटको अर्धजलाशययुक्त आयोजनामा विश्व बैंकको नेतृत्वमा एसियाली विकास बैंक (एडीबी), जाइका लगायतका साझेदार निकायले लगानी गर्ने भन्ने थियो। तर, सन् २०२४ को अक्टोबरमा गर्ने भनेको वित्तीय व्यवस्थापन अहिलेसम्म हुन सकेको छैन। आयोजनाको लगानी भूराजनीतिक कारणले अनीर्णित बनेको स्रोत बताउँछ। ...