: तेक्वान्दोमा नेपालबाट ११ खेलाडी सहभागी भएकोमा बुधबारसम्म १० खेलाडीको चुनौती समाप्त भइसकेको छ।
बुधबार तीन खेलाडीले प्रतिस्पर्धा गरेका थिए। नेपालका अभिषेक बराल पुरुष ८० केजीको अन्तिम ३२ मा अफ्गानिस्तानका ओमिद साहाकसँग २–० ले पराजित भए। अभिषेक साहकसँग पहिलो चरणमा ११–१ र दोस्रो चरणमा १५–२ ले पछि परे।
पुरुष ६८ केजीमुनि वीरबहादुर महारा अन्तिम १६ मा चाइनिज ताइपेईका यी जुई चिउसँग २–० ले नै पराजित भए। पहिलो चरणमा १०–० ले पछि परेका वीरले दोस्रो चरणमा केही सुधार गरेपनि १२–८ ले पछि परे। महिला ६७ केजीमुनि इन्दिरा बस्नेत अन्तिम १६ मा इरानकी मेलिका मिरहोसेनी भाकिली २–० ले निराश भइन्। उनी १४–१ र ९–० ले पराजित भइन्। अब एक खेलाडीको स्पर्धा बाँकी छ। पुरुष ८० केजीमा ज्याकी यादवले बिहीबार जोर्डनका खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन्।
यसअघि ग्योरोगीमा प्रतिस्पर्धा गरेका गोविन्दबहादुर आले, आयषा लामा, सन्ध्याकुमारी सिंह, अञ्जली तामाङ, राहुल कुमाल बाहिरिएका थिए। पुम्सेमा प्रेमबहादुर लिम्बू र स्वस्तिका तामाङले पनि दोस्रो चरण पार गर्न सकेनन्। गोविन्दबहादुर आले, अञ्जली तामाङ र पुम्सेमा प्रेमबहादुर लिम्बूले पहिलो खेल जितेका थिए।