: पौडीमा बुधबार प्रतिस्पर्धा गरेका नेपालका डुवाना लामा र नासिर याहा हुसेन हिट चरणबाटै बाहिरिएका छन्। महिला एक सय मिटर ब्रेस्टस्ट्रोकमा पहिलो हिटमा प्रतिस्पर्धा गरेकी डुवाना सातौं स्थानमा रहिन्।
उनले निर्धारित दूरी तय गर्न एक मिनेट २०.१५ सेकेन्ड समय लाइन्। सात खेलाडीले प्रतिस्पर्धा थिए। डुवाना यसअघि महिला दुई सय मिटर फ्रिस्टाइलमा पनि हिट चरणबाटै बाहिरिएकी थिइन्।
पुरुष दुई सय मिटर फ्रिस्टाइल स्पर्धामा दोस्रो हिटमा प्रतिस्पर्धा गरेका नासिरले निर्धारित दूरी दुई मिनेट ००.१४ सेकेन्डमा पार गरे। आठ खेलाडी सहभागी यस स्पर्धाको हिटमा उनी सातौं भए।
यसैगरी महिला थ्री बाई थ्री बास्केटबलमा नेपाल लगातार दोस्रो खेलमा पराजय बेहोर्यो। समूह ‘बी’ को लिग खेलमा नेपाल कजाकिस्तानसँग १७–१० ले पराजित भयो। नेपालका कप्तान श्रेया खड्का र मीना गुरुङले समान ४–४ अंक जोडे। नेपालको स्कोरबार्डमा गरिसा सिलवाल र रिन्छेन मोक्तानले समान १–१ अंक थपे। समूह चरणको पहिलो खेलमा जापानले नेपाललाई २२–४ ले हराएको थियो। नेपालले समूहको अन्तिम खेलमा शुक्रबार चाइनिज ताइपेईको सामना गर्नेछ।
यसैगरी जुडोमा नेपालको चुनौती बुधबार समाप्त भएको छ। मिक्स टिम इभेन्टमा पनि पराजय व्यहोरेसँगै नेपालको चुनौती समाप्त भएको हो। व्यक्तिगत स्पर्धामा नेपालको चुनौती मंगलबार सकिएको थियो। जिओशान लिन्पु जिम्नयासियममा बुधबार भएको मिक्स टिम इभेन्टको क्वार्टरफाइनलमा नेपाल जापानसँग ४–० ले पराजित भयो।
टिम इभेन्टमा प्रतिस्पर्धा गरेका नेपालका जंगबहादुर सारु जापानका गोकी ताजिमासँग पराजित भए। यस्तै आकृति जोशी रुरी ताकाहासी, रन्जेश गोले ह्योगा ओता र मनिता श्रेष्ठ प्रधान मोमो तामाओकीसँग पराजित भए। यस्तै मिक्स टिमको पराजित टिमहरूबीच हुने रिपेच फाइनल कन्टेस्टमा पनि नेपाल कजाकिस्तानसँग ४–० ले नै पछि पर्यो।
महिला ह्यान्डबलमा नेपाल जापानसँग नै पराजित भएको छ। जेजियाङ नर्मल युनिभर्सिटी जिओशान जिम्न्यासियममा भएको खेलमा नेपाल जापानसँग ६२–१० ले पराजित भयो। पहिलो हाफमा ६ गोल गरेको नेपालले दोस्रो हाफमा ४ गोल गरेको थियो।