— फेरि एकपल्ट नेपाली तेक्वान्दोले एसियाली खेलकुदमा कुनै पदक जित्न सकेन । नेपालले तीन खेलमा पदक आस गरेको थियो । तेक्वान्दोसँगै बक्सिङ र करातेबाट नेपालले हाङचउमा पदक अपेक्षा गरेको हो ।
तेक्वान्दो टिम चीनबाट खाली हात घर फर्किने निश्चित भइसकेको छ । जति–जति बेला एसियाली खेलकुदमा नेपालको सफलताको चर्चा हुन्छ, तेक्वान्दोको विरासतबारे कुरा उप्किहाल्छ । तर, अब यो इतिहासभन्दा केही रहेन ।
नेपाली खेलकुदमा सबैभन्दा बढी सम्भावना बोकेको खेल अन्ततः तिनै सामान्य खेलजस्तै भएको छ, जसको एकमात्र उपलब्धि कुनै पनि प्रतियोगितामा सहभागितामै सीमित हुन थालेको छ । नेपालका तर्फबाट हाङचउ एसियाड खेलेका अन्तिम खेलाडी ज्याकी यादव पनि पराजित भएपछि औपचारिक रूपमै तेक्वान्दोमा सबै प्रकारको सम्भावना सकिएको हो । उनी कसरी, कति अन्तरमा हारे, त्यो पनि चिन्ताको विषय रह्यो ।
पुरुष ८० केजी तौल समूहमा जोर्डनका खेलाडी अनासन सादेकसँग १०–१ र १३–१ ले पराजित भए । खासमा उनी मात्र होइनन्, अन्य खेलाडीको प्रदर्शन पनि कमजोर नै रह्यो । हार पनि कस्तोभन्दा एकपक्षीय । नेपाली खेलाडीले पूरा खेल अवधिमा सक्दो खेल्न नसक्ने जस्तो प्रतिस्पर्धा देखिएको छ, जुन वास्तवममा सबैभन्दा बढीको चिन्ताको विषय रह्यो ।
कुल ११ खेलाडीले चीनमा सहभागिता जनाएकामा तीन खेलाडीमात्र एक–एक भिडन्त जित्न सफल रहे । प्रतियोगिताको उद्घाटन अवसरमा नेपालको झण्डा बोक्ने अवसर पाएका वीरबहादुर महराको प्रदर्शन पनि फितलो नै रह्यो । पुम्सेमा प्रेमबहादुर लिम्बू एक खेल जिते र क्वाटरफाइनलसम्म पुगे । त्यसपछि ग्यारोगीमा अञ्जली तामाङ र गोविन्दबहादुर आलेले एक–एक खेल जितेको आफ्नो नाममा लेखाए । उनीहरू अन्तिम १६ चरणसम्म त पुगे, तर त्यहाँ उनीहरूको प्रदर्शन फेरि एकपल्ट सामान्यभन्दा बढी केही पनि हुन सकेन ।
एसियाली खेलकुदमा नेपालले २ रजत र २२ कांस्य जितेको इतिहास छ । त्यसमध्ये १५ पदक त तेक्वान्दोकै हो । अझ त्यसमा एक रजत पदक पर्छ । सन् १९८६ मा नेपालले पहिलो पटक तेक्वान्दोबाट पदक जितेको थियो, जुन परम्परा सन् २००६ सम्म कायम रह्यो, सन् १९९० को एक अपवाद छाडेर । तर, अहिले तेक्वान्दोले एसियाली खेलकुदमा कुनै पदक नजितेको पनि १६ वर्षभन्दा बढी समय छोएको छ । नेपालका लागि अन्तिम पटक पदक जित्नेमा दीपक विष्ट, आयशा शाक्य र मनिता शाही हुन् । त्यसपछि त नेपाली तेक्वान्दो एउटा स्टार खेलाडीका लागि पनि संघर्षरत छ ।
यसको कारण ? ठ्याक्कै उत्तर सजिलो छैन । सन् १९९९ को आठौं दक्षिण एसियाली खेलकुदको अगाडि पछाडि एक निश्चित कालखण्डमा तेक्वान्दोले वास्तवमै केही राम्रा खेलाडी पाएका थिए । यो पुस्तापछि उत्तिकै बराबरका खेलाडी नेपाली तेक्वान्दोले पाउन सकेन । नेपालको तेक्वान्दो स्तर जहाँ हो, त्यहीं रह्यो । दक्षिण एसियामात्र होइन, अन्य देशको तेक्वान्दो स्तर भने बढ्यो । फेरि पछिल्लो केही वर्ष नेपाली तेक्वान्दोका लागि सुखद पनि रहेन । खाली विवादका शृंखला मात्रै चलिरह्यो । नेपाल तेक्वान्दो संघ र राष्ट्रिय खेलकुद परिषद्बीच सुमधुर सम्बन्ध कायम रहन सकेन ।
परिषद्ले पनि संघलाई सक्दो दुःख नै दिन खोज्यो । अरू खेललाई जस्तो सहयोग गरेन । संघ आफ्नो अस्तित्वकै लागि संघर्षरत रह्यो । यसै कारण उसले ठीकसँग काम गर्न सकेन कि ? यही राजनीतिक विवाद धेरै हदसम्म खेलाडीमा पनि प्रवेश गरेको थियो । भनिन्छ, यसपल्टको एसियाली खेलकुदमा सहभागी खेलाडीबीच एक प्रकारको फुट थियो, केही खेलाडीले प्रशिक्षक र संघको निर्देशन पनि राम्रोसँग पछ्याइरहेको थिएन । भनिन्छ, संघले टिम चीन आउनु अगाडि नै केही फेरबदल गर्न चाहेको थियो, तर त्यो काम भएन ।
यस्तोमा पूरा टिमकै प्रदर्शन कमजोर रह्यो । यसबीच केही आस गर्न मिल्ने खेलाडीको पलायनले पनि राम्रै समस्या निम्त्यायो । पछिल्लो दक्षिण एसियाली खेलकुदमा जति खेलाडीले तेक्वान्दोमा स्वर्ण जितेका थिए, त्यसमध्ये लगभग अधिकांश विदेश पलायन भइसकेका छन् । तिनको त्यही पलायनले गर्दा तेक्वान्दो टिम सम्भवतः इतिहासमै सबैभन्दा कमजोर देखिएको छ ।
सबैले के बुझ्न आवश्यक छ भने नेपाली तेक्वान्दोको प्रतिष्ठा गुम्नु भनेको अरू कुनै एक खास खेल कमजोर हुनुमात्र होइन, यसका धेरै अर्थ छन् । नेपाली तेक्वान्दोलाई यत्तिकै त्यसै अलमलमा पार्न दिनुहुन्न ।