क्रिकेटरको पुरस्कार खोइ ?
क्रिकेटरको पुरस्कार खोइ ?

नेपाली क्रिकेट टिमले एसियाली खेलकुदअन्तर्गत बुधबार मंगोलियाविरुद्धको खेलमा कीर्तिमान नै कीर्तिमानको पहाड सिर्जना गरेको छ । ट्वान्टी–२० मा उच्च स्कोर (३१४ रन), ट्वान्टी–२० मा सबैभन्दा धेरै छक्का (२६) प्रहार, दीपेन्द्रसिंह ऐरीद्वारा ९ बलमै अर्धशतक, कुशल मल्लद्वारा ३४ बलमै शतक, विजयी रन अन्तर (२७३ रन) का विश्व कीर्तिमान एकै दिन कायम हुँदा सिंगो नेपाल पुलकित भयो ।

चीनको हाङचउस्थित चेचियाङ युनिभर्सिटीको मैदानमा भएको जितमा साक्षी बनेका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू खेलपछि नेपाली क्रिकेट टिमलाई बधाई दिन ड्रेसिङ रुममै पुगे । उनले बधाई दिइनसक्दै कप्तान रोहित पौडेलले प्रश्न तेर्स्याए– ‘हाम्रो पुरस्कार के भइरहेको छ ?’

एकै दिन अनेक कीर्तिमान कायम गरेको क्षण पनि क्रिकेट खेलाडीलाई ‘पुरस्कार’ को विषयले चस्काउने अवस्थामा किन पुर्‍यायो, सवाल गम्भीर छ । खेलाडीले आफैं पुरस्कार दाबी गरेका होइनन् । खेलाडीलाई प्रोत्साहन गर्न सरकारले नै बनाएको पुरस्कार कार्यविधिअनुरूप पाउनुपर्ने रकम हो । यसबीचमा प्रधानमन्त्री आफैंले घोषणा गरेको रकम पनि खेलाडीको हातमा परेको छैन । यो विषयलाई खेलाडीले पहिलो पटक हाङचउमा उठाएका पनि होइनन् । एसियाली खेलकुदका लागि काठमाडौंबाट बिदाइ हुँदै गर्दा पनि कप्तान पौडेलले घोषित पुरस्कारहरू नपाएको गुनासो गरेका थिए । त्यसअघि प्रधानमन्त्री र मन्त्रीसँगको भेटमा पनि खेलाडीले यो विषय उठाएका थिए । खेलाडीहरूलाई अन्तर्राष्ट्रिय भूमिमै पनि गुनासो गर्न बाध्य बनाउनु खेदजनक छ । मुलुकको अन्तर्राष्ट्रिय प्रतिष्ठाका लागि खेलिरहेका खेलाडीमाथि गरिएको अपमान हो । तन–मन खेलमा केन्द्रित गर्नुपर्ने खेलाडीलाई यसले मानसिक पीडा दिइरहेको प्रस्टै देखिन्छ ।

क्रिकेट खेलाडीले गत फेब्रुअरी र मार्चमा भएको आईसीसी वर्ल्डकप लिग २ क्रिकेटका सिरिज जितेयताको रकम पाउन बाँकी छ । एक खेलाडीले पाउनुपर्ने रकम १७ लाख रुपैयाँ पुगिसकेको छ । जसमा आईसीसी वर्ल्डकप लिग २ का ३ वटा सिरिज जित्दाको जनही ९ लाख, प्रधानमन्त्री पुष्पकमल दाहालले घोषणा गरेको थप २ लाख र एसीसी प्रिमियर कप जित्दै एसिया कप क्रिकेटमा छनोट भएपछिको ६ लाख छ । न्यून स्रोतसाधनमा खेलिरहेका खेलाडीका लागि त्यो रकम सानो होइन । तर, सरकार खेलाडीलाई थप सेवासुविधा बढाएर प्रोत्साहन गर्नुपर्नेमा आफ्नै सार्वजनिक वाचाअनुसारको रकम उपलब्ध गराउन पनि ढिलासुस्ती गरिरहेको छ ।

‘खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि’ मा क्रिकेट प्रतियोगिताको स्तरअनुसार प्राप्त उपलब्धिका आधारमा खेलाडीका साथै प्रशिक्षक र सहायक प्रशिक्षक/फिजियोले पाउने रकम पनि तोकिएको छ । यो रकम युवा तथा खेलकुद मन्त्रालयले उपलब्ध गराउनुपर्ने कार्यविधिमा उल्लेख छ । खेलकुद मन्त्रालयले भने अर्थ मन्त्रालयबाट निकासा नभएको भन्दै खेलाडीलाई रकम उपलब्ध गराएको छैन । पुरस्कार नपाउनेमा उमेर समूहका क्रिकेट खेलाडीसमेत छन् । यो विषय संसद्मा समेत उठिसकेको छ । तैपनि सरकारले रकम वितरणमा तत्परता देखाएको छैन, आश्वासन दिन भने छाडेको छैन । एसियाली खेलकुदमा सहभागी हुने नेपाली टिमका लागि प्रधानमन्त्री कार्यालयमै आयोजित औपचारिक बिदाइमा प्रधानमन्त्री पुष्पकमल दाहालले ‘मन्त्रिपरिषद् निर्णयले भोलि नै घोषित आर्थिक पुरस्कारको रकम दिइने’ बताएका थिए । तर, घोषणाको साता दिन नाघिसक्दा पनि खेलाडीको हातमा रकम परेको छैन । कप्तान पौडेलले यही विषय खेलकुदमन्त्री लिम्बूलाई सम्झाउँदा ‘तत्कालका लागि खेलाडीले आफ्नो खेलमा ध्यान दिए राम्रो’ भनेर पन्छाए । सरकारले यसै गरी खेलाडीलाई कहिलेसम्म पन्छाइरहने ?



अन्तर्राष्ट्रिय खेलकुदमा नेपाललाई चिनाइरहेको र सम्भावना रहेको खेल क्रिकेट नै हो । पछिल्लो समय एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन होस् वा एसिया कपमा विश्व शक्ति भारत र पाकिस्तानविरुद्ध प्रदर्शन गर्दा नेपाली क्रिकेट खेलाडीले प्रशंसा कमाएका छन् । एसियाली खेलकुदको पहिलो प्रतिस्पर्धामै अनेक कीर्तिमान राखेर चर्चा कमाइरहेको छ । यस्तो अवस्थामा खेलाडीलाई सरकारले अझ बढी प्रोत्साहन गर्नुपर्छ । खेलाडीले उही गुनासो दोहोर्‍याउनु नपर्ने गरी रकम तत्काल उपलब्ध गराइनुपर्छ । प्रोत्साहन र हौसलाले खेलाडीमा आत्मविश्वास बढ्छ, उनीहरूले मैदानमा अझ उत्कृष्ट प्रदर्शन गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाले आईसीसी विश्वकप लिग–२ मा यूएईलाई १० विकेटले हराएको छ । १०७ रनको लक्ष्य अमेरिकाले १५.५ ओभरमा पूरा गर्‍यो। ओपनर एन्ड्रिस गौस ५४ बलमा १२ चौका र १ छक्कासहित ६६ तथा स्मित पटेल ४१ बलमा ५ चौकासहित ३८ रनमा नटआउट रहे । त्यसअघि नामिबियाको विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३१.२ ओभरमा १०६ ...
। मध्यक्रमका ब्याटर कामिन्दु मेन्डिसको शतकमा घरेलु टोली श्रीलंकाले पहिलो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध मध्यम ब्याटिङ गरेको छ। गालेमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका पहिलो दिनको समाप्तिमा ३०२–७ को अवस्थामा छ। कामिन्दु मेन्डिस १७३ बलमा ११ चौकासहित ११४ रनमा आउट भए । मात्रै सातौं टेस्ट खेलेका कामिन्दुको यो चौथो टेस्ट शतक हो। कुशल मेन्डिस ५०, दिनेश चान्डिमल ३०, ...
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...