एसियाली खेलकुद : पब्जीमा नेपाल टिम सेमिफाइनलमा
एसियाली खेलकुद : पब्जीमा नेपाल टिम सेमिफाइनलमा

— नेपालले १९ औं एसियाली खेलकुदको ई–स्पोर्टसअन्तर्गत पिस एलिट पब्जी मोबाइलमा शुक्रबार सेमिफाइनल यात्रा तय गरेको छ । एलिमिनेट चरणको समूह ‘सी’ मा दोस्रो भएर नेपाल सेमिफाइनल पुगेको हो ।

नेपालका लागि सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी र समिर गुरुङले चुनौती पेस गरेका थिए । नेपालको समूहमा हङकङ पहिलो भयो । प्यालेस्टाइन र साउदी अरेबिया भने यस समूहबाट बाहिरिएका छन् । अब नेपालले शनिबार सेमिफाइनल खेल्नेछ । यसमा दोस्रो स्थान प्राप्त गरे नेपाल फाइनलमा स्थान बनाउने छ ।

फाइनलमा पुगे पनि नेपालको पदक सम्भावना निश्चित हुने छैन । स्वर्ण पदकको भिडन्तमा चार टोलीबीच प्रतिस्पर्धा हुनेछ । त्यसमा शीर्ष तीनभित्र रहे मात्र पदक जित्ने छ ।



समूह ‘ए’ बाट दक्षिण कोरिया र थाइल्यान्ड, समूह ‘बी’ बाट आयोजक चीन र चाइनिज ताइपेई तथा समूह ‘डी’ बाट जापान र इन्डोनेसिया सेमिफाइनल पुगेका छन् ।

अब चार समूहबाट आएका शीर्ष दुई–दुई गरी आठ टोलीलाई दुई समूहमा विभाजन गरेर सेमिफाइनल खेलाइने छ । सेमिफाइनलका दुवै समूहमा चार–चार टोली हुनेछन् । समूहका शीर्ष दुई टोली फाइनल पुग्नेछन् ।

एथलेटिक्स

महिला १० हजार मिटर दौडमा नेपालकी सन्तोषी श्रेष्ठ शुक्रबार छैटौं स्थानमा रहिन् । कुल आठ खेलाडीसम्मिलित दौडमा सन्तोषीले ३८ मिनेट ४०.१५ सेकेन्डको समय निकालिन् । त्यस स्पर्धामा बहराइनकी भिओला मोटोसिओलोले ३१ मिनेट ४३.७३ सेकेन्डको समयमा स्वर्ण पदक जितिन् । सन्तोषी १३ औं सागकी स्वर्ण विजेता धाविका हुन् । उनले ३५ मिनेट ०७.३४ सेकेन्डको व्यक्तिगत उत्कृष्ट टाइमिङलाई एसियाडमा सुधार्न सकिनन् ।

सोमबहादुर कुमालले पुरुष ४ सय मिटर दौड ४८.६८ सेकेन्डमा पूरा गरे । दोस्रो हिटमा सहभागी सातमध्ये उनी पाँचौं भए । उनले दक्षिण कोरिया र किर्गिस्तानका धावकलाई पछि पारे । कुल २० प्रतिस्पर्धीले दुरी पार गर्दा सोमबहादुर १७ औं स्थानमा रहे । सोमले एसियाडको तयारी प्रशिक्षणका दौरान नै डेंगु लागेका कारण प्रदर्शन राम्रो नभएको बताए ।

गल्फ

गल्फमा पार ७२ को वेस्ट लेक इन्टरनेसनल गल्फ कोर्समा भएको पुरुष व्यक्तिगत स्पर्धामा शुक्रबहादुर राईबाहेक अन्य खेलाडीले अघिल्लो चरणमा स्थान बनाउन सकेनन् ।

दोस्रो दिन शुक्रबार तीन अन्डर ६९ खेलेका शुक्रको कुल ३६ होलमा ५ अन्डर १ सय ३९ स्कोर छ । पहिलो शुक्रले दुई अन्डर ७० को कार्ड बनाएका थिए । उनी समग्रमा २९औं स्थानमा रहादै फाइनल चरणलाई छानिए ।

पदक आशा गरिएका सद्भाव आचार्य र सुवास तामाङको प्रदर्शन भने सोचे जस्तो रहेन । समग्रमा इभन पार १ सय ४४ खेलेका सुवास र २ ओभर १ सय ४६ को कार्ड बनाए सद्भाव व्यक्तिगत स्पर्धाबाट बाहिरिए । अर्का प्रतिस्पर्धी युवराज भुजेल समग्रमा ११ ओभर १ सय ५५ कार्ड बनाएर बाहिरिए । नेपाल एसियाड गल्फको पुरुष र महिला टिम स्पर्धाबाट पनि बाहिरिएको छ । महिलातर्फ टिम स्पर्धामा नेपालकी सुष्मा सिग्देल र कश्मिरा शाहले ३६ होलमा समग्रमा ६६ ओभर ३ सय ५४ स्कोर खेले ।

दोस्रो दिन शुक्रबार कश्मिराले ११ ओभर ८३ र सुष्माले १६ ओभर ८८ खेलेकी थिइन् । महिला टिम स्पर्धामा नेपाल १३ औं भयो । १४ टोली सहभागी टिम इभेन्टमा नेपालले मंगोलियालाई पछि पार्‍यो । पुरुषतर्फ हङकङका खो ताइची २१ अन्डर १ सय २२ स्कोरसहित शीर्षस्थानमा छन् ।

ब्याडमिन्टन

ब्याडमिन्टनको पुरुष टिम स्पर्धामा नेपालको यात्रा शुक्रबार क्वाटरफाइनलमै सीमित रह्यो । भारतले नेपाललाई सजिलै हराएको हो । बिनजियाङ जिम्न्याजियममा भएको खेलमा नेपालका तीनै खेलाडी एकपक्षीय ढंगले पराजित भए । भारतका लक्ष्य सेनले प्रिन्स दाहाललाई २१–५, २१–८ ले हराए । श्रीकान्त किदाम्बीले सुनिल जोशीलाई २१–४, २१–१३ ले पन्छाए । तेस्रो तथा अन्तिम खेलमा मन्जुनाथ मिथुनले विष्णु कटुवाललाई २१–२, २१–७ ले हराए । यसअघि नेपालले मंगोलियालाई हराएर क्वाटरफाइनल यात्रा तय गरेको थियो ।

बास्केटबल

महिला थ्री बाई थ्री बास्केटबलमा नेपाल सबै खेलमा पराजित भएको छ । जिओग्राफिम इन्फर्मेसन पार्क बास्केटबल कोर्टमा भएको समूह ‘बी’ को अन्तिम खेलमा नेपाल चाइनिज ताइपेईसँग २२–२ स्कोरको फराकिलो अन्तरले पराजित भयो ।

नेपालबाट कप्तान श्रेषा खड्का र मीना गुरुङले १–१ स्कोर गरे । यसअघि नै जापान र काजकिस्तानसँग पराजित नेपाल लगातार तेस्रो हारपछि समूह चरणबाटै बाहिरिएको छ । नेपाल पहिलो खेलमा जापानसँग २२–४ ले पराजित भयो । दोस्रो खेलमा काजकिस्तानसँग नेपाली टिम १७–१० स्कोरले हारेको हो ।

पौडी

पौडीमा नेपालबाट एसियाडमा सहभागी सबै खेलाडी हिट चरणबाटै बाहिरिएका छन् । शुक्रबार नेपालका नासिर हुसेन हिट चरणबाटै बाहिरिए । हाङचउ ओलम्पिक स्पोर्ट्स सेन्टर एक्वाटिक एरिनामा पुरुष ४०० मिटर फ्रिस्टाइलमा नासिरले निर्धारित दूरी ४ मिनेट २२.०२ सेकेन्डमा पूरा गरे । उनी आफ्नो हिटमा चौथो भए । समग्रमा भने उनी २५ सहभागीमध्ये २२ औं स्थानमा रहे ।

यसअघि नासिर २०० मिटर फ्रिस्टाइलमा पनि हिट चरणबाटै बाहिरिएका थिए । नासिरको स्पर्धापछि पौडीमा नेपाली खेलाडीको चुनौती सकिएको छ । पौडीमा नेपालबाट चार खेलाडीले ८ इभेन्टमा प्रतिस्पर्धा गरेका थिए । नेपालका कुनै पनि खेलाडीले हिट चरण पार गर्न सकेनन् ।

बक्सिङ

बक्सिङको महिला ५७ केजीमुनिको तौल समूहमा नेपालकी चन्द्रकला थापा शुक्रबार पहिलो चरणमै पराजित भइन् । अन्तिम १६ को प्रतिस्पर्धामा उनी थाइल्यान्डकी पोनटिप बुपासँग अंकका आधारमा ५–० ले हारिन् ।

महिला ७५ केजीमुनि तौलमा सरस्वती रानाले पहिलो खेलमा बाइ पाएकी छन् । सरस्वती भियतनामकी ली डिएम क्विन्हविरुद्ध क्वाटरफाइनल जितिन् भने कांस्य पदककी हकदार हुनेछिन् । इन्चोन एसियाड खेलेकी सरस्वतीले १२ औं सागकी कांस्य विजेता हुन् ।

ह्यान्डबल

ह्यान्डबलमा नेपाली महिला टोली उपाधि दाबेदार हङकङसँग समूह ‘बी’ को खेलमा २७–१८ ले पराजित भयो । नेपालले हङकङलाई पहिलो हाफमा रोक्न सकेन । दोस्रो हाफमा भने नेपाली महिला खेलाडीले सुदृढ प्रदर्शन गर्दै हङकङलाई कडा चुनौती दिएको थियो । दोस्रो हाफमा नेपाल १३–१२ ले मात्र पछाडि परेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाले आईसीसी विश्वकप लिग–२ मा यूएईलाई १० विकेटले हराएको छ । १०७ रनको लक्ष्य अमेरिकाले १५.५ ओभरमा पूरा गर्‍यो। ओपनर एन्ड्रिस गौस ५४ बलमा १२ चौका र १ छक्कासहित ६६ तथा स्मित पटेल ४१ बलमा ५ चौकासहित ३८ रनमा नटआउट रहे । त्यसअघि नामिबियाको विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३१.२ ओभरमा १०६ ...
। मध्यक्रमका ब्याटर कामिन्दु मेन्डिसको शतकमा घरेलु टोली श्रीलंकाले पहिलो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध मध्यम ब्याटिङ गरेको छ। गालेमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका पहिलो दिनको समाप्तिमा ३०२–७ को अवस्थामा छ। कामिन्दु मेन्डिस १७३ बलमा ११ चौकासहित ११४ रनमा आउट भए । मात्रै सातौं टेस्ट खेलेका कामिन्दुको यो चौथो टेस्ट शतक हो। कुशल मेन्डिस ५०, दिनेश चान्डिमल ३०, ...
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...