रेसिङमा डर्ट टेम्पल
रेसिङमा डर्ट टेम्पल

— पर्यटकीय गन्तव्यका रूपमा परिचित धुलिखेल नगरपालिकाले पछिल्लो समय साहसिक खेलको केन्द्रका रूपमा पहिचान बनाएको छ । डेढ वर्षअघि यहाँ दुई युवाले नेपालमै पहिलो पटक ‘बाइक रेसिङ ट्र्याक डर्ट टेम्पल’ सञ्चालनमा ल्याएका छन् ।

बाइक रेसिङमा इच्छा राख्नेका लागि बाइक कुदाउन उपयुक्त स्थान छैन । यही कुरालाई मध्यनजर गर्दै बाइक रेसिङमा भविष्य खोज्दै दुई युवाले धुलिखेल नगरपालिका–७ स्थित बेइजिङ प्लान्टमा डर्ट टेम्पललाई स्थापित गरे ।

इजबलाई सानै उमेरदेखि नै उनमा बाइक कुदाउने इच्छा थियो । बाइक कुदाउन सुरु गर्दा उनको उमेर १३ वर्षको मात्रै थियो । काठमाडौं तारागाउँको चउरमा पहिलो पटक एस जेड यमाहा चलाएको त्यो दिन, उनलाई संसार नै जितेसरह भएको स्मरण गर्छन् । आफ्नो इच्छा पूरा भएर पनि होला, त्यो दिन आफू धेरै खुसी भएको उनले बताए । उनका अनुसार परिवारले पनि नयाँ कुरा सिक्नका लागि हौसला प्रदान गर्ने भएकाले बाइक सिक्न पनि साथ दिए । उनी बिस्तारै बाइक चलाउन जान्ने भए ।

बाइक चलाउने इच्छा त उनको पूरा भयो । तर बाइक रेसिङप्रतिको उनको इच्छा भने पूरा भएको थिएन । काठमाडौंमा एसएलसी सकेर थप पढाइका लागि उनी विदेशिए । केन्यामा हाइस्कुल र बार्सिलोनामा स्नातकसम्मको पढाइ हासिल गरे । विदेशमा रहँदा पनि नेपालमा बाइक रेसिङ ट्र्याक खोल्ने योजना बनाइरहेका थिए ।

आफू विदेशमा हुँदा पनि साथी बिदुरसँग बाइक रेसिङ ट्र्याक खोल्ने, फार्मिङका बारेमा कुरा हुने गरेको उनले बताए । यता नेपालमै रहेका बिदुर थापा भने बाइक रेसिङबारेमा अध्ययन तथा अभ्यास गरिरहन्थे । उनलाई पनि बाइक कुदाउन सानै उमेरदेखि रहर थियो । तर, बाइक सिक्नका लागि त्यो समयमा परिवारबाट साथ नपाएको उनले बताए । ‘पढाइ नै पहिलो प्राथमिकता थियो, त्यो बेलामा,’ उनले भने, ‘एसएलसी सकिएपछि मात्रै बाइक पाए, पछि परिवारलाई यो खेलका बारेमा बुझाउँदै गएपछि अहिले उहाँहरूले पनि साथ दिनुभएको छ ।’



बिदुर नेपालमा बाइक रेसिङ स्पट बनाउने तयारीका लागि जुटिरहन्थे । यसका लागि अभ्यासका गर्न अफ रोडहरूमा बाइक लिएर जाने गर्थे । ‘कहिले बारीको कान्लाबाट बाइक कुदाउने त, कहिले चिसापानी जस्ता ठाउँमा पुगिन्थ्यो,’ उनले भने, ‘वर्षाको समयमा निकै गाह्रो हुन्थ्यो, पानी परेपछि अफ रोडबाट बाइक ल्याउन निकै समस्या हुन्थ्यो, यो राइडिङ जोखिम भए पनि खेल्दा भने मन नै आनन्द हुन्छ ।’ उनका अनुसार कहिले फिल्डमा गएर अभ्यास त कहिले अनलाइनमा अध्ययन गरेर यसबारे जानकारी लिइरहन्थे । इजब नेपाल फर्किएपछि बाइक राइडिङ स्पट खोल्ने तयारीमा रहेको उनले बताए ।

इजब विदेशमा पढाइ सकेर सन् २०२१ मे महिनामा नेपाल फर्किए । नेपाल आएर उनले आफूले बनाएको योजनाको कार्यान्वयन गर्ने तयारी गर्न थाले । ‘यदि कोही कसैलाई बाइक रेसिङमा इच्छा छ भने पनि नेपालमा वातावरणमा बाइक कुदाउने स्थल छैन,’ उनले भने, ‘त्यही भएर पनि हामी बाइक रेसिङ ट्र्याक खोल्न लाग्यौं ।’ उनका अनुसार पहिला त बाइक रेसिङ ट्र्याक पाँचखालमा खोल्ने तयारी गरे पनि धुलिखेलमा नै राम्रो भविष्य हुने देखेर यहाँ स्थापना गरिएको हो ।

३८ रोपनी जग्गा ५ वर्षका लागि भाडामा लिई २०२१ अक्टोबर ४ बाट उनीहरूले डर्ट टेम्पलको संरचना निर्माणको प्रक्रिया अघि बढाए । ‘डर्ट भनेको रेसिङ बाइकको ब्रान्ड हो, टेम्पल (मन्दिर) जहाँ जाँदा जो कोही शान्त महसुस हुन्छ, त्यसैले ‘डर्ट टेम्पल’ बाइक राइडरलाई बाइक रेसिङ गरेर मनलाई शान्त पर्ने स्थल हो,’ इजबले भने । सुरुआतमा यति ठूला स्केलमा काम गर्ने सोच नबनाइएको उनको भनाइ छ ।

‘दुई/चार वटा बाइक कुदाउने, फार्म खोल्ने, कुकुर पाल्ने मात्र सोच बनाएका थियौं, पछि काम गर्दै जाँदा सोच फराकिलो हुँदै गयो, अरू बाइक राइडरका लागि पनि हुने गरी सञ्चालन गर्नुपर्छ भनेर नयाँ तरिकाबाट बाइक रेसिङ ट्र्याक डर्ट टेम्पल सञ्चालनमा ल्यायौं,’ उनले भने ।

बाइक राइडरका लागि बाइक रेसिङ गर्ने उपयुक्त स्थान नभएकै कारण सबैका लागि स्थान दिन डर्ट टेम्पलको सुरुआत गरियो । नेपालमा नै पहिलो पटक आफूले बाइक रेसिङ स्पट स्थापना गरिएकाले यसबारे आफूहरूले धेरै अध्ययन गर्न नपाएको उनी बताउँछन् । सबै काम आफूले नै गर्दै, सिक्दै जानिएको उनले बताए । केही कुरा अनलाइनमार्फत अध्ययन गरिएको उनले बताए । ‘यसमा धेरै जोखिम छ । निकै सावधानी पुर्‍याएर मात्रै बाइक कुदाउनुपर्छ । त्यसकारण पनि रेसिङमा जानुभन्दा पहिले तालिम लिनुपर्ने हुन्छ,’ उनले भने ।

इजबका अनुसार रेसिङमा सहभागी हुन नासा (नेसनल अटो मोबाइल एसोसिएसन) बाट लाइसेन्स लिएको हुनुपर्छ । डर्ट टेम्पलमा राइडरलाई बाइक रेसिङबारे तालिम प्रदान गर्नुका साथै रेसिङ इभेन्टमा पनि सहभागी गराइन्छ । यो खेल निकै महँगो भएकाले कोही चाहेर पनि सिक्न नसकेको उनले बताए ।

‘बाइक त्यस्तै महँगो छ, रेसिङ गर्दा लगाउने कपडा, जुत्ता, सेफ्टीका लागि लगाउने हेल्मेट सबै महँगो छ,’ उनले भने, ‘यहाँ सिक्नका लागि प्रतिदिन प्रतिव्यक्ति २५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ, यो निकै महँगो हो, नयाँ सिक्नेहरूले त १०/१२ दिन पूरै सिक्नुपर्छ, महँगो भएकाले पनि यहाँ सिक्न आउनेहरूको संख्या कम छ ।’ उनका अनुसार यहाँ सिक्न आउनेले बाइक भने आफैंले ल्याउनुपर्छ ।

बाइक रेसिङमा महिला र पुरुष दुवैको उत्तिकै रुचि हुने गरेको उनले बताए । उनका अनुसार, डर्ट टेम्पलबाट हालसम्म ३० जना पुरुष र ५ जना महिला राइडरहरू उत्पादन भएका छन् । जसले विभिन्न देशमा गएर रेसिङमा सहभागी भइसकेका छन् । डर्ट टेम्पलले नै हालसम्म ५ इभेन्ट सञ्चालन गरिसकेको छ । उनका अनुसार ४ वटा स्पोन्सर बिनाको इन्टर्नल इभेन्ट र एउटा अफिसियल इभेन्ट गरिएको छ । उनका अनुसार रेसिङ सिक्नका लागि तथा इभेन्टमा नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीबाट पनि सहभागी हुन्छन् ।

हालसम्मका इभेन्टमा नेपालीले मात्रै सहभागिता जनाएका र अब आउने इभेन्टमा भारतका राइडरलाई पनि सहभागी गराउने योजना रहेको उनले बताए ।

अहिले प्रारम्भिक चरण भएकाले लगानी मात्रै भइरहेको उनले जनाए । डर्ट टेम्पलमा हालसम्म उनीहरूले ७० लाख रुपैयाँ लगानी गरिसकेका छन् । लगानी गरेअनुसारको आम्दानी नभएको इजबको भनाइ छ । ‘हामी अहिले सुरुआती चरणमा नै छौं । यसबाट आम्दानी निकाल्न अझै ५/६ वर्ष लाग्छ,’ उनले भने ।

वास्तवमा नेपालमा यो खेलबारे राम्रो प्रचार नभएको उनले बताए । युवाहरूले इजबलाई ‘मिस्टर ब्राउन’ र बिदुरलाई ‘फ्लाई बी’ नाम दिएका छन् । उनीहरू युट्युब र भ्लगमा चर्चित छन् । उनीहरूले अब यसलाई बाइक राइडिङ र रेसिङका लागि एकेडेमी हबका रूपमा चिनाउने योजना बनाएका छन् । यसका साथै उनीहरूले पोखरामा पनि यसको शाखा सञ्चालन गर्ने तयारी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाले आईसीसी विश्वकप लिग–२ मा यूएईलाई १० विकेटले हराएको छ । १०७ रनको लक्ष्य अमेरिकाले १५.५ ओभरमा पूरा गर्‍यो। ओपनर एन्ड्रिस गौस ५४ बलमा १२ चौका र १ छक्कासहित ६६ तथा स्मित पटेल ४१ बलमा ५ चौकासहित ३८ रनमा नटआउट रहे । त्यसअघि नामिबियाको विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३१.२ ओभरमा १०६ ...
। मध्यक्रमका ब्याटर कामिन्दु मेन्डिसको शतकमा घरेलु टोली श्रीलंकाले पहिलो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध मध्यम ब्याटिङ गरेको छ। गालेमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका पहिलो दिनको समाप्तिमा ३०२–७ को अवस्थामा छ। कामिन्दु मेन्डिस १७३ बलमा ११ चौकासहित ११४ रनमा आउट भए । मात्रै सातौं टेस्ट खेलेका कामिन्दुको यो चौथो टेस्ट शतक हो। कुशल मेन्डिस ५०, दिनेश चान्डिमल ३०, ...
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...