मुख्य समाचार
रिपब्लिकनको बहसमा ट्रम्पको आलोचना
रिपब्लिकनको बहसमा ट्रम्पको आलोचना

— अमेरिकामा आगामी वर्ष हुने राष्ट्रपतिको चुनावका लागि रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवारका दाबेदारहरूले बुधबार बहस गरेका छन् । पूर्वराष्ट्रपति तथा हाल रिपब्लिकन पार्टीबाट दाबेदार रहेका डोनाल्ड ट्रम्प भने बहसमा सहभागी थिएनन् ।

दोस्रो पटकको बहसमा उम्मेदवारका दाबेदारहरूले आफ्ना प्रतिस्पर्धी ट्रम्पको आलोचना र आप्रवासनका मुद्दा उठाएका थिए ।

रिपब्लिकन पार्टीबाट फ्लोरिडा राज्यका गभर्नर रोन डि सान्टिस, पूर्वउपराष्ट्रपति माइक पेन्स, उद्यमी विवेक रामास्वामी, दक्षिण क्यारोलिनाका सांसद टिम स्कट, संयुक्त राष्ट्रसंघका पूर्वराजदूत निक्की हेली, न्युजर्सी राज्यका पूर्वगभर्नर क्रिस क्रिस्टी र उत्तर डकोटाका गभर्नर डग बर्गम छन् ।

७७ वर्षीय ट्रम्प दोस्रो पटक यस्तो सार्वजनिक बहसमा अनुपस्थित भएका हुन् । यसको सट्टा उनी मिसिगन राज्यमा आन्दोलनरत अटो क्षेत्रका श्रमिकको आन्दोलनमा सहभागी हुन पुगेका थिए । त्यसको अघिल्लो दिन अमेरिकी राष्ट्रपति जो बाइडेन पनि उक्त आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका थिए । बाइडेन सन् २०२४ मा हुने राष्ट्रपति चुनावका लागि डेमोक्रेटिक पार्टीबाट दोस्रो कार्यकालका लागि उम्मेदवार बनेका छन् ।

४५ वर्षीय डिसान्टिसले पूर्वराष्ट्रपति ट्रम्पलाई विभिन्न अभियोग लागेको र पदमा रहँदा काम गर्न नसकेको आरोप लगाए । ट्रम्पलाई सन् २०२० को अमेरिकी चुनावलाई प्रभावित पार्न खोजेको, सरकारी गोप्य दस्ताबेजको दुरुपयोग गरेको र वयस्क फिल्मकी महिला कलाकारलाई अवैध रूपमा भुक्तानी दिएको आरोप छ । ट्रम्पले आफ्नो कार्यकालमा देशलाई खर्बौं ऋण लगाएको पनि डिसान्टिसले आरोप लगाए ।



‘आफ्नो कामको जवाफ दिन पनि ट्रम्प आज यहाँ हुनुपर्थ्यो,’ उनले भने । यस्तै, अर्का दाबेदार क्रिस्टीले पनि आफ्नो अभियानका क्रममा ट्रम्पको आलोचनालाई नै प्रमुख मुद्दा बनाएका छन् । उनले पनि ट्रम्पलाई बहसबाट भागेको आरोप लगाए । ट्रम्पले भने आफ्ना प्रतिस्पर्धी उम्मेदवारलाई ‘जागिरका लागि मात्र योग्य’ भएको प्रतिक्रिया दिएका छन् ।

बहसका क्रममा आप्रवासन नीतिको प्रश्नअघि ४० औं राष्ट्रपति रोनाल्ड रेगनले अमेरिकामा अवैध रूपमा रहेकालाई आममाफी दिनुपर्ने सन्दर्भ निकालिएको थियो । तर, दाबेदारमध्येका एक क्रिस्टीले रेगनको नीतिलाई इतिहासको संज्ञा दिँदै त्यसलाई निरन्तरता नदिइने स्पष्ट पारेका छन् ।

‘हामी पहिलो दिनदेखि नै अमेरिका–मेक्सिकोको सीमामा सुरक्षाकर्मीलाई पठाउँछौं,’ उनले भने । इन्डियन आप्रवासीको सन्तान रहेकी अर्की दाबेदार निक्कीले सीमा सुरक्षा नभएसम्म दक्षिण अमेरिकालाई सहयोग बन्द गर्ने धारणा राखिन् । इन्डियन आप्रवासीको सन्तान रहेका अर्का दाबेदार रामास्वामीले अमेरिकामा अवैध रूपमा बसोबास गरिरहेका आप्रवासीको सन्तानको नागरिकता रद्द गर्नुपर्ने बताए ।

पश्चिमी राज्य क्यालिफोर्नियामा भएको बहसमा अन्य उम्मेदवारलाई ट्रम्पमाथि आलोचना र उनको लोकप्रियता कम गर्ने अवसर थियो । आगामी जनवरीमा आयोवा राज्यबाट उम्मेदवारी टुंगो लगाउने प्राथमिक प्रक्रिया सुरु हुँदै छ ।

मिसिगनमा श्रमिकको आन्दोलनमा ऐक्यबद्धता जनाउन बाइडेन र ट्रम्प आफैं पुग्नुलाई चुनावी रणनीति मानिएको छ । मिसिगन र अन्य रस्ट बेल्ट राज्यहरूको मत राष्ट्रपति चुनावमा जितका लागि महत्त्वपूर्ण मानिन्छ । सन् २०१६ को राष्ट्रपतिको चुनावमा ट्रम्पले रस्ट बेल्ट राज्यहरू मिसिगन, ओहायो, पेन्सल्भेनिया र विस्कान्सिनमा आफ्नो प्रतिस्पर्धी हिलारी क्लिन्टनलाई पराजित गरेका थिए ।

रिपब्लिकनको पहिलो बहस गत अगस्टमा भएको थियो । त्यसयताका विभिन्न सर्वेक्षणमा रिपब्लिकनबाट राष्ट्रपतिको दाबेदारमा ट्रम्प पहिलो स्थानमा देखिएका छन् भने त्यसपछि लोकप्रिय दाबेदारमा डिसान्टिस छन् ।

तर ट्रम्पलाई मंगलबार न्युयोर्क राज्य अदालतले आफ्नो करोडौं डलरको सम्पत्तिको विवरणमा धोकाधडी गरेको फैसला सुनाएपछि झनै अप्ठ्यारोमा परेका छन् । ट्रम्प, उनको परिवार र कम्पनीले बैंक र इन्स्योरेन्स कम्पनीलाई आफ्नो सम्पत्तिको गलत विवरण बुझाएको अदालतले फैसला गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— हमासले इजिप्ट र कतारी कूटनीतिक पहलपछि बन्धक बनाएका दुई महिलालाई रिहा गरेको छ ।‘मानवीय कारण र कमजोर स्वास्थ्य आधार’का कारण रिहा गरिएको जनाएको छ। प्यालेस्टिनी समूह र रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी)काअनुसार गाजामा हमासद्वारा बन्धक बनाएका दुई महिलालाई रिहा गरिएको छ। हमासको सशस्त्र शाखाका प्रवक्ताले कतार र इजिप्टको मध्यस्थतामा दुई बन्दीलाई रिहा गरिएको बताए । सोमबार एक विज्ञप्ति ...
— सार्वजनिक मञ्चमा देखिन छोडेको दुई महिनापछि चीनले रक्षामन्त्री ली साङ्फुलाई औपचारिक रूपमा बर्खास्त गरेको छ । उनलाई हटाउनुको कारण खुलाइएको छैन । चीनले नयाँ रक्षामन्त्रीको हुने भन्ने घोषणा गरेको छैन । सी चिनफिङको मन्त्रिपरिषद्का सदस्य विदेशमन्त्री क्विन ग्याङलाई गत जुलाईमा बर्खास्त गरिएको थियो । उनको बर्खास्ती पछि धेरै उच्च सैन्य अधिकारीहरूलाई पनि हटाइएको र अहिले ...
— संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा बिना सर्त दुवै पक्षले तत्काल युद्धविरामको घोषणा गर्नुपर्ने बताएका छन् । उनले इजरायली सेना र प्यालेस्टाइनको हमास समूह बिच चर्किएको द्वन्द्वले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको पनि बताएका छन् । हमासले अक्टोबर ७ का दिन दक्षिणी इजरायलमाथि अप्रत्यासित आक्रमण गरेर १४ सय नागरिकको ज्यान लिएसँगै इजरायलले विशेष गरेर गाजा ...
— अमेरिकाको मेन राज्यस्थित ल्युस्टन सहरमा एक अज्ञात बन्दुकधारीले गोली हानी हालसम्म १६ जनाको हत्या गरेका छन् । बीबीसीका अनुसार ती बन्दुकधारीको प्रहरीले खोजी गरिरहे पनि फेला पार्न सकेका छैनन् । यस घटनामा अन्य ५० जना भने घाइते भएका छन् । बसोबासको हिसाबले मेन राज्यको दोस्रो ठूलो सहरमा भएको यो घटनामा बन्दुकधारीले विभिन्न स्थानमा गोली प्रहार ...
: रकेट र हवाई आक्रमणबाट सुरु भएको इजरायल-हमास युद्ध अहिले रासायनिक हतियारतर्फ अघि बढेको देखिन्छ। इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले दावी गरेका छन् कि अक्टुबर ७ गते म्युजिक फेस्टिभलमा आक्रमण गर्ने हमासका आतंककारीहरूलाई रासायनिक हतियार बनाउन निर्देशन दिइएको थियो। इजरायली सेनाका अनुसार किबुट्जको संगीत समारोहमा आक्रमण गर्ने केही आतंककारी मारिएका थिए। मारिएका ती आतंककारीको साथबाट रासायनिक हतियार ...