— अन्ततः नेपालले १९ औं एसियाली खेलकुदमा पदक जित्ने निश्चित भएको छ । महिला कबड्डीमा नेपालले सोमबार बंगलादेशलाई ३७-२४ ले हराएपछि कम्तीमा कांस्य पदक जित्ने निश्चित भएको हो । प्रतियोगिता औपचारिक रूपमा सुरु भएको दस दिनपछि नेपालको पदकको खाता खोल्ने भएको हो ।
यससँगै नेपाली इतिहासमै कबड्डी एउटा ठूलो सफलता चुमेको छ । यो जितपछि नेपाल सेमिफाइनल पुग्ने निश्चित भएको हो । नेपाल पहिलो हाफमा २१-१६ ले अगाडि रहेको थियो ।
महिला कबड्डीमा कुल सात टिमको सहभागिता रहेको छ । त्यसमध्ये समूह ‘ए’ मा चार टिम रहेका छन्, भारत, चिनिया ताइपेयी, थाइल्यान्ड र दक्षिण कोरिया । समूह ‘बी’ मा भने नेपाल र बंगलादेशसँगै इरान रहेका छन् । कबड्डीमा तेस्रो स्थानका लागि थप खेल हुने छैन् ।
नेपालले बंगलादेशलाई पछिल्लो १३ औं दक्षिण एसियाली खेलकुदमा पनि पराजित गरेको थियो ।