— नेपालले एसियाली खेलकुदको पुरुष क्रिकेटमा आइतबार अन्तिम आठको यात्रा तय गरेको छ । नेपालले लिग चरणको आफ्नो अन्तिम खेलमा माल्दिभ्सलाई १ सय ३८ रनले हरायो । यस अगाडि नेपालले मंगोलियालाई हराएको थियो ।
क्वाटरफाइनलमा अब नेपालको प्रतिद्वन्द्वी सोमबार निश्चित हुनेछ । त्यस दिन ड्र निकालिनेछ । यस चरणमा टेस्ट मान्यता प्राप्त टिम जोडिनेछन् ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा सात विकेट गुमाएर २ सय १२ रन बनाएको थियो । त्यसमा कप्तान रोहित पौडेलले सर्वाधिक ५२ रन बनाए । उनले २७ बलमा तीन तीन चौका र छक्का प्रहार गरे । यस्तै, कुशल मल्लले २० बलमा ४७ रन बनाए र नटआउट रहे ।
जवाफमा माल्दिभ्सले १९.४ ओभरमा ७४ रन बनाएर अलआउट भयो । त्यसमा अब्दुल घानी एक्लैले ३६ रन बनाए । नेपाली बलरमध्ये अभिनास बोहोराले छ विकेट लिए ।