मुख्य समाचार
नागोर्नो–काराबाखबाट १ लाख विस्थापित
नागोर्नो–काराबाखबाट १ लाख विस्थापित

— अजरबैजानको द्वन्द्वग्रस्त क्षेत्र नागोर्नो–काराबाख क्षेत्रमा केही सातायताको तनावका कारण त्यहाँ बस्दै आएका १ लाख व्यक्ति विस्थापित भएका छन् । आर्मेनियन समुदाय बसोबास गर्दै आएको उक्त क्षेत्रलाई पछिल्लो साता अजरबैजानले नियन्त्रणमा लिएपछि सैनिक कारबाहीबाट जोगिन अधिकांशजसो स्थानीय आर्मेनियामा विस्थापित भएका हुन् ।
अजरबैजानी सैनिकसँगको लडाइँ सुरु भएपछि स्थानीय समूह निःशस्त्र र भंग हुन तयार भएको हो । अजरबैजानले उक्त क्षेत्रलाई फेरि आफ्नो भूभागमा समावेश गर्ने र त्यहाँका बासिन्दालाई समान व्यवहार गर्न चाहेको बताएको छ । तर, आर्मेनियाका प्रवक्ताले भने यसलाई झूटो बताएका छन् । अन्तर्राष्ट्रिय समुदायले नागोर्नो–काराबाख क्षेत्रलाई अजरबैजानको हिस्सा स्विकार्दै आएको छ । तर, त्यहाँ आर्मेनियन जाति तीन दशकदेखि बस्दै आएका थिए ।

अजरबैजानले नियन्त्रणमा लिने क्रममा कम्तीमा २ सय आर्मेनियन र दर्जनौं अजरबैजानका सैनिकको मृत्यु भएको छ । युद्धविरामको सम्झौतापछि पृथकतावादीले हतियार बुझाएका थिए । स्वघोषित गणराज्य नागोर्नो–काराबाखका नेतृत्वकर्ताले नयाँ वर्षदेखि संघर्षको अस्तित्व सकिने बताएका छन् ।

आर्मेनियाका प्रधानमन्त्रीकी प्रवक्ता नाजेली बागदासारियनले गत साता आफ्नो देशमा प्रवेश गर्ने शरणार्थीको संख्या १ लाख ४ सय १७ पुगेको बताइन्, जबकि नागोर्नो–काराबाखको अनुमानित जनसंख्या १ लाख २० हजार छ । संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी एजेन्सी (यूएनएचसीआर) ले पनि १ लाख व्यक्ति उक्त क्षेत्रबाट विस्थापित भएको अनुमान गरेको छ । उनीहरूलाई तत्कालै मानवीय सहायता आवश्यक रहेको पनि उक्त संस्थाले जनाएको छ ।

पृथकतावादी आर्मेनियन नेता अर्तक बेल्गारियनका अनुसार विस्थापित हुनेको अन्तिम समूह शनिबार आर्मेनियातर्फ लागेको थियो । ‘अब केही सय व्यक्ति मात्र यहाँ बाँकी छन्, जसमा अधिकारी, आपत्कालीन सेवाका कर्मचारी, स्वयंसेवक र विशेष आवश्यकताका केही व्यक्ति हुन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।



अजरबैजानको सैन्य अभियानबाहेक एक साताअघिको विस्फोटमा थप १ सय ७० जनाको मृत्यु भएको छ । नागोर्नो–काराबाखको एक इन्धन डिपोमा विस्फोट भएको छ । अजरबैजानको सैनिक कारबाहीबाट जोगिन हजारौं आर्मेनियालीहरू उक्त क्षेत्रबाट भाग्ने क्रममा यस्तो घटना भएको हो । विस्फोटका कारण झन्डै ३ सय मानिस घाइते भएका एपी न्युजले जनाएको थियो । १० महिनादेखि इन्धन आपूर्तिमा अजरबैजानको अवरोधका बीच उक्त डिपोमा इन्धन लिन लामबद्ध भएका उपभोक्ताहरू मारिएको आशंका गरिएको छ । आर्मेनियाका प्रधानमन्त्री निकोल पासिन्यानले यस क्षेत्रमा जातीय सफाया भइरहेको भन्दै उक्त घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

राष्ट्रसंघले उक्त क्षेत्रको मानवीय स्थिति अध्ययन गर्न यस साताको अन्त्यमा एउटा टोली पठाउने भएको छ । अजरबैजानले पनि यसका लागि सहमति दिएको छ । आर्मेनियाका प्रमुख कूटनीतिज्ञ एड्मन मारुकियानले राष्ट्रसंघको यात्रा समयलाई आलोचना गरेका छन् । तर, उनले उक्त क्षेत्रमा आएर आर्मेनियनको वास्तविक अवस्था बुझ्न राष्ट्रसंघलाई आग्रह गरेका छन् । ‘नागोर्नो–काराबाखमा राष्ट्रसंघको टोली आउनु राम्रो हो । यसले त्यहाँ कसरी जातीय सफाया भइरहेको छ, आफ्नो पैतृक भूमिबाट स्थानीय लखेटिएका छन् भन्ने कुराको उनीहरू साक्षी बन्नेछन्,’ उनले भने ।

नागोर्नो–काराबाखको द्वन्द्वलाई हाल विश्वमा लामो समयदेखि चलिरहेको विवादमध्येको एक मानिन्छ । यो भूभाग ब्ल्याक सी र क्यास्पियन सीको बीचस्थित दक्षिण ककेससको पहाडी क्षेत्रमा पर्छ । अजरबैजान र आर्मेनियाबीच सन् १९८० को अन्त्यतिर यस क्षेत्रलाई लिएर रक्तपातपूर्ण लडाइँ भएको थियो, जसले हालसम्म पनि हिंसा बढाइरहन सहयोग गरेको थियो । पछिल्लो ठूलो लडाइँ सन् २०२० मा भएको थियो, जतिबेला ६ साताजतिको अवधिमा हजारौं व्यक्ति मारिएको बीबीसीले उल्लेख गरेको छ । पछि रुसी शान्ति सैनिकको प्रयासपछि लडाइँ रोकिएको थियो ।

सन् २०२२ डिसेम्बरमा अजरबैजानले नाकाबन्दी गरेपछि फेरि हिंसा सुरु भएको थियो । अजरबैजानले नागोर्नो–काराबाखबाट आर्मेनिया जोडिने लाचिन करिडोर अवरुद्ध गरेको थियो । यो करिडोर स्थानीयका लागि आपूर्तिको प्रमुख मार्ग थियो । त्यसैले करिडोर बन्द हुँदा खाद्यान्न तथा औषधिको संकट हुन थालेको थियो । नागोर्नो–काराबाखमा सैन्य सामग्री आपूर्तिका लागि आर्मेनियाले उक्त मार्ग प्रयोग गरेको अजरबैजानले आरोप लगाएको थियो, जसलाई आर्मेनियाले भने अस्वीकार गर्दै आएको छ । अजरबैजान सरकारले उक्त अवधिमा खाद्यान्न तथा औषधिको आपूर्तिका लागि अन्य मार्गको प्रयोग गर्ने विकल्प दिए पनि उक्त क्षेत्रमा बस्ने आर्मेनियनले अस्वीकार गरेको पनि दाबी गरेको छ ।

पछिल्लो समय रुसले युक्रेनसँगको युद्धका कारण यस क्षेत्रमा ध्यान दिन छोडेपछि हिंसा सुरु भएको थियो । तर, लडाइँ सुरु भएको २४ घण्टामै गत सेप्टेम्बर २० मा रुसको उपस्थितिमा पुनः युद्धविरामको सम्झौता भएको थियो । सम्झौतामा स्थानीय सैन्यको निःशस्त्रीकरण र भंगको सहमति भएको थियो । लगत्तै अजरबैजानले उक्त भूभागलाई समाहित गर्ने प्रयास थालेको थियो । तर, त्यहाँ स्वतन्त्र राज्यका पक्षधरका नेता सामवेल साहरामान्यानले आगामी नयाँ वर्षमा स्वतन्त्रताको संघर्ष अन्त्य हुने, विभिन्न संस्थान भंग गर्नेबारे अडान लिएर सम्झौता गरेका थिए । उनले यो सम्झौता स्थानीयको सुरक्षा र महत्त्वपूर्ण आवश्यकतामा आधारित भएको बताए । स्थानीयले स्वैच्छिक र निर्बाध यात्रा गर्न पाउनुपर्ने उक्त सम्झौताको आशय थियो । तर, सम्झौतालगत्तै अधिकांशजसो स्थानीय उक्त क्षेत्रमा आफ्नो भविष्य नभएको भन्दै विस्थापित भएका हुन् ।

लामो समयदेखि द्वन्द्व चले पनि दुवै देशले हालसम्म कुनै शान्ति सम्झौता गरेका छैनन् । यस्तै, दुवै देशबीच वार्ता चले पनि हालसम्म कूटनीतिक सम्बन्ध पनि कायम छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— हमासले इजिप्ट र कतारी कूटनीतिक पहलपछि बन्धक बनाएका दुई महिलालाई रिहा गरेको छ ।‘मानवीय कारण र कमजोर स्वास्थ्य आधार’का कारण रिहा गरिएको जनाएको छ। प्यालेस्टिनी समूह र रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी)काअनुसार गाजामा हमासद्वारा बन्धक बनाएका दुई महिलालाई रिहा गरिएको छ। हमासको सशस्त्र शाखाका प्रवक्ताले कतार र इजिप्टको मध्यस्थतामा दुई बन्दीलाई रिहा गरिएको बताए । सोमबार एक विज्ञप्ति ...
— सार्वजनिक मञ्चमा देखिन छोडेको दुई महिनापछि चीनले रक्षामन्त्री ली साङ्फुलाई औपचारिक रूपमा बर्खास्त गरेको छ । उनलाई हटाउनुको कारण खुलाइएको छैन । चीनले नयाँ रक्षामन्त्रीको हुने भन्ने घोषणा गरेको छैन । सी चिनफिङको मन्त्रिपरिषद्का सदस्य विदेशमन्त्री क्विन ग्याङलाई गत जुलाईमा बर्खास्त गरिएको थियो । उनको बर्खास्ती पछि धेरै उच्च सैन्य अधिकारीहरूलाई पनि हटाइएको र अहिले ...
— संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा बिना सर्त दुवै पक्षले तत्काल युद्धविरामको घोषणा गर्नुपर्ने बताएका छन् । उनले इजरायली सेना र प्यालेस्टाइनको हमास समूह बिच चर्किएको द्वन्द्वले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको पनि बताएका छन् । हमासले अक्टोबर ७ का दिन दक्षिणी इजरायलमाथि अप्रत्यासित आक्रमण गरेर १४ सय नागरिकको ज्यान लिएसँगै इजरायलले विशेष गरेर गाजा ...
— अमेरिकाको मेन राज्यस्थित ल्युस्टन सहरमा एक अज्ञात बन्दुकधारीले गोली हानी हालसम्म १६ जनाको हत्या गरेका छन् । बीबीसीका अनुसार ती बन्दुकधारीको प्रहरीले खोजी गरिरहे पनि फेला पार्न सकेका छैनन् । यस घटनामा अन्य ५० जना भने घाइते भएका छन् । बसोबासको हिसाबले मेन राज्यको दोस्रो ठूलो सहरमा भएको यो घटनामा बन्दुकधारीले विभिन्न स्थानमा गोली प्रहार ...
: रकेट र हवाई आक्रमणबाट सुरु भएको इजरायल-हमास युद्ध अहिले रासायनिक हतियारतर्फ अघि बढेको देखिन्छ। इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले दावी गरेका छन् कि अक्टुबर ७ गते म्युजिक फेस्टिभलमा आक्रमण गर्ने हमासका आतंककारीहरूलाई रासायनिक हतियार बनाउन निर्देशन दिइएको थियो। इजरायली सेनाका अनुसार किबुट्जको संगीत समारोहमा आक्रमण गर्ने केही आतंककारी मारिएका थिए। मारिएका ती आतंककारीको साथबाट रासायनिक हतियार ...