— भारतीय रिजर्व बैंकले दुई हजारको नोट साट्ने समयावधि एक साता थप गरेको छ । रिजर्व बैंकले चलनचल्तीमा रहेको दुई हजारको नोटलाई बैंकमा फर्काउने नीति लिएको हो ।
उक्त नोटलाई बैंकमा जम्मा गराउन वा साटेर अर्को नोट लिनलाई यसअघि सेप्टेम्बर ३० तारिखसम्मको समय दिइएको थियो । शनिबार जारी सूचनाअनुसार उक्त अवधिलाई अक्टोबर ७ सम्म बढाइएको हो । रिजर्व बैंकले गत १९ मेमा सूचना जारी गरेर दुई हजारको नोटलाई बजारबाट फिर्ता लिने निर्णय सार्वजनिक गरेको थियो । त्यसका लागि चार महिना बढीको अवधि दिएको थियो । अहिलेसम्म ३ लाख ४२ हजार करोड मूल्य बराबरका दुई हजारका नोट बैंकमा फिर्ता भइसकेका छन् । अझै केही नोट फिर्ता हुन बाँकी रहेकाले ७ दिनको समय थपिएको हो ।
प्रधानमन्त्री नरेन्द्र मोदीले २०१६ मा बजारमा रहेका पाँच सय र एक हजारका नोटमाथि प्रतिबन्ध लगाएपछि त्यही वर्ष बजारमा रिजर्व बैंकले दुई हजारको नयाँ नोट ल्याएको थियो । उक्त नोटलाई पनि अब फिर्ता लिइएको हो । अब बजारमा दुई हजारको नोट चलनचल्तीमा रहने छैन ।