भारतले यसपटक गहुँ तथा चामलको निर्यातमा प्रतिबन्ध लगायो । नेपालसहित विश्वभर खाद्यान्नको भाउ अकासियो । देशभित्र मूल्यमाथि नियन्त्रण पाउन खाद्यान्न निर्यातमा प्रतिबन्ध लगाउँदा त्यसको असर विश्वभर देखिएको हो । भारत यसरी खाद्यान्न निर्यातक मात्रै नभएर आत्मनिर्भर देश बनेको भने धेरै भएको छैन ।
लामो समयदेखि भोकमरीसँग जुध्दै आएको भारत धान र गहुँमा आत्मनिर्भर भएको ५० वर्ष पुग्न लागेको छ । भारतमा खाद्यान्न संकटको अवस्था कस्तो थियो भने १९६४ मा खाद्यान्न बचाउन तत्कालीन प्रधानमन्त्री लालबहादुर शास्त्रीले ‘सातामा एक दिन व्रत’ बस्न नागरिकलाई आग्रह गरेका थिए । त्यसैलाई भारतमा ‘शास्त्री व्रत’ भन्ने गरिन्छ ।
त्यसअघिसम्म भारतका नीति निर्माताका लागि जनसंख्या र त्यसलाई पर्याप्त मात्रामा पुग्ने खाद्यान्न उत्पादन गर्ने विषय ठूलो चुनौतीका रूपमा रहेको थियो । त्यसलाई अन्त्य गर्न भारतले ‘हरित क्रान्ति’ सुरु गरेको थियो । त्यही हरित क्रान्तिको नेतृत्व गर्ने कृषि वैज्ञानिक एमएस स्वामिनाथनको गत बिहीबार चेन्नईमा निधन भएको छ । उनी ९८ वर्षका थिए ।
’६० देखि ९० को दशकसम्म भारतका विभिन्न संस्थाको नेतृत्व स्वामिनाथनले गरेका थिए । उनलाई संसारले ‘भारतीय हरित क्रान्तिका पिता’ भन्ने गरेको छ । उनको नेतृत्वमा जे जस्ता काम भए, त्यसले भारतलाई खाद्यान्नको प्रमुख उत्पादक देशका रूपमा उभ्याएको थियो । ’६० को दशकमा जनसंख्याका विज्ञहरूले भारतको जनसंख्या र खाद्यान्न उत्पादनको अन्तरलाई हेरेर भोकमरीले जनताको अवस्था भयावह हुने प्रक्षेपण गरेका थिए । खाद्यान्न अभावका कारण वधशालामा मारिने भेडाको जस्तै अवस्था हुन अब बेर नलाग्ने उनीहरूको भनाइ थियो ।
स्वामिनाथनको निधनपछि न्युयोर्क टाइम्सले उनका बारेमा लामो आलेख प्रकाशित गरेको छ । जसमा ’६० को दशकमा प्रकाशित हुने धेरै पुस्तकमा उनले भारतले सबैलाई खुवाउन नसक्ने बताउने गरेको उल्लेख छ । स्वामिनाथनले जे जस्तो काम गरे, त्यसले लाखौं मानिसलाई भोकमरीबाट जोगाएको छ । आनुवांशिक वैज्ञानिक स्वामिनाथनले किसानलाई गहुँ तथा धानका विभिन्न प्रजाति प्रयोग गरेर कसरी उत्पादकत्व बढाउन सकिन्छ भनेर बुझाउने गरेका थिए । उनले सात दशकको व्यावसायिक जीवनमा वाली विज्ञान तथा खाद्यान्न उत्पादनको क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
युवा वैज्ञानिकका रूपमा उनले तीन महादेशमा काम गरे । सोही क्रममा किसानसँगै हिलोमा पस्नेदेखि प्रयोगशालामा घण्टौंसम्म अनुसन्धानमा बिताउने गर्थे । भारत र विश्वका विभिन्न कृषि अनुसन्धान संस्थाको वरिष्ठ कार्यकारी भूमिकामा रहेर उनले काम गरेका थिए । उनी धेरै देशका विभिन्न आयोगमा बसेका थिए । सन् १९७९ देखि १९८२ सम्म भारतको कृषि तथा सिँचाइ मन्त्रालयको प्रमुख सचिव, योजना आयोगको वरिष्ठ कार्यकारी र मन्त्रिपरिषद्को विज्ञान सल्लाहकार समितिको अध्यक्षका रूपमा उनले काम गरेका थिए । सन् १९८२ देखि १९८८ सम्म इन्टरनेसनल राइस रिसर्च इन्स्टिच्युट (इरी) को महानिर्देशक बनेका थिए ।
‘इरीमा जोडिनुपूर्व उहाँले भारतमा विभिन्न संस्थाको नेतृत्व गर्दै हरित क्रान्तिको नेतृत्व गर्नुभयो,’ इरीमा नेपालका पूर्वप्रतिनिधि रहेका कृष्णदेव जोशीले भने, ‘भारतलाई भोकमरीबाट जोगाउनमा स्वामिनाथनको योगदान अतुलनीय छ । उहाँले आफैंले अनुसन्धानभन्दा पनि भएका अनुसन्धानलाई तल्लो तहसम्म पुर्याउन योगदान गर्नुभयो ।’ जोशीका अनुसार प्रयोगशालामा भएको अनुसन्धानलाई नवीनतम तरिकाले छिटोछरितो ढंगले गाउँगाउँमा पुर्याउने काम स्वामिनाथनले गरेका थिए । ‘उनीहरूको अनुसन्धान नेपालसँग प्रत्यक्ष सम्बन्धित नभए पनि त्यसको स्पिल ओभर इफेक्ट भने पक्कै परेको छ,’ उनले भने ।
भारत फर्किएपछि स्वामिनाथन राष्ट्रिय वातावरण नीति तयार पार्ने समिति र भूमिगत जल अध्ययनको अध्यक्ष बनाइए । सन् २००८ मा सरकारले उनलाई माथिल्लो सदन राज्यसभाको सांसदमा मनोनीत गरेको थियो । ’६० को दशकको सुरुमै उनी आफ्नो क्षेत्रमा विश्वभर चिनिन थालेका थिए । इन्डियन एग्रिकल्चर रिसर्च इन्स्टिच्युटको बाली अनुवांशिक वैज्ञानिकका रूपमा कार्यरत रहेर उनले अमेरिकी वैज्ञानिक नर्मन ई. बोरलागसँग काम गरेका थिए । बोरलागले मेक्सिकोमा नयाँ प्रजातिको विकास गरेका थिए । जसले गहुँको उत्पादकत्व निकै बढाएको थियो । ‘बोरलागले गहुँलाई सिन्दुरे रोग प्रतिरोधी बनाउनु भयो भने बाली अग्लो नभई होचो बनाउन लाग्नुभयो,’ जोशीले भने, ‘जसले गर्दा बालीमा बढी मल हाल्दा पनि नलड्ने भयो र बढी उत्पादन दिन थाल्यो । यसअघि रैथाने भने अग्लो हुने र अलिकति मलखाद दिँदा नै लड्ने थियो ।’ बोरलागले भारत र पाकिस्तान दुवैतर्फ परीक्षण गरेको जोशीले बताए ।
न्युयोर्क टाइम्सका अनुसार स्वामिनाथनले नै तत्कालीन अनुसन्धान केन्द्रका प्रमुखलाई बोरलागलाई भारतमा आमन्त्रण गर्नेमा जोड दिएका थिए । सन् १९६३ मा बोरलाग भारत आए र स्वामिनाथनसँग मिलेर पन्जाब र हरियाणामा पुगे । दुवैको साझेदारी परिणाममुखी भयो र स्वामिनाथले बोरलागको प्रजातिसँग मेक्सिको र जापानको प्रजातिसँग क्रस ब्रिडिङ गराए । आनुवांशिक मिश्रणको परिणामस्वरूप कडा डाँठ भएको सेतो प्रजातिको गहुँ सुनौलो रंगमा उत्पादन हुन थाल्यो । ‘नर्मन बोरलागले गहुँमा विकास गरेको जातलाई भारतमा ल्याएर लगाउन धेरै काम गर्नुभयो । त्यसलाई नेपालसहित दक्षिण एसियामा फैलाउनका लागि स्वामिनाथनको भूमिका महत्त्वपूर्ण छ,’ नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वरिष्ठ बाली वैज्ञानिक रेशमबाबु अम्गाईंले भने, ‘भारत र नेपालको हावापानी उस्तै हो । भारतमा गहुँको होचा र नयाँ जात आएपछि नेपालमा पनि आएको हो ।’ अम्गाईंका अनुसार स्वामिनाथन इरीको प्रमुख हुँदा धानका होचा जात विकास गर्न महत्त्वपूर्ण भूमिका खेले । इरीले नै नेपालमा पनि धानको होचो जातको बीउ उपलब्ध गराएको हो । ‘त्यसरी नयाँ प्रजातिको धान र गहुँको विकास हुँदैनथ्यो भने भोमकरी निश्चित थियो,’ अम्गाईंले भने ।
सन् १९६६ मा स्वामिनाथन इन्डियन एग्रिकल्चर रिसर्च इन्स्टिच्युटको निर्देशकमा नियुक्त भए र आफ्नो पदको प्रयोग गर्दै सरकारलाई १८ हजार टन मेक्सिकन गहुँ आयात गर्न सरकारलाई मनाए । त्यो गहुँले अपेक्षा गरिएजस्तै ३ गुणा बढी उत्पादन दिएको थियो । त्यसबाट प्रभावित भएकी तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले स्वामिनाथनलाई उत्पादन बढाउनका लागि भारतको प्रशासन, अनुसन्धान तथा कृषि नीतिको पूर्वाधारलाई पुनःसंरचना गर्ने जिम्मेवारी सुम्पिइन् । सन् १९७४ सम्म आइपुग्दा गहुँ र धानमा भारत आत्मनिर्भर बन्यो । सन् १९८२ सम्ममा गहुँको उत्पादन करिब ४ करोड मेट्रिक टन पुग्यो । जुन परिणाम ६० को दशकमा भारतले उत्पादन गर्ने परिणामभन्दा झन्डै तीन गुणा बढी थियो ।
बोरलागका कारण संसारबाट १ अर्ब मानिस भोकमरीको चपेटामा पर्नबाट जोगिएको अनुमान गरिन्छ । धेरै मानिसलाई भोकमरीबाट बाहिर निकालेको र संसारलाई खाना खुवाएको भन्दै सन् १९७० मा प्रदान गरिएको नोबेल पुरस्कार ग्रहण गर्दा बोरलागले भारतसँग सहकार्य नभएको भए आफूले पुरस्कार पाउन सम्भव नभएको प्रतिक्रिया दिएका थिए । स्वामिनाथनलाई सम्झिँदै उनले मेक्सिकन प्रजातिको सामर्थ्य बुझेको प्रतिक्रिया दिएका थिए । ‘त्यो नभएको भए एसियामा हरित क्रान्ति हुने सम्भावना निकै कम थियो,’ बोरलागले भनेका छन् ।
कृषि क्षेत्रमा काम गर्नेहरूलाई पुरस्कृत गर्न बोरलागले स्थापना गरेको वर्ल्ड फुड प्राइज पहिलो पटक स्वामिनाथनलाई प्रदान गरेका थिए । राष्ट्रसंघका तत्कालीन महासचिव ह्याभिएर पेरेज डे क्वेयरले स्वामिनाथनलाई विश्व विज्ञानको दुर्लभ प्रजातिको ‘लिभिङ लिजेन्ड’ भन्दै प्रशंसा गरेका थिए । अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले विश्वभरको खाद्यान्न आपूर्ति शृंखलामा सशक्त र महत्त्वपूर्ण प्रभाव पार्ने कार्यका कारण स्वामिनाथनको विश्वको खाद्यान्न तथा कृषि समुदायले लामो समयसम्म स्मरण गर्ने बताएका थिए । स्वामिनाथनले भारत र विश्वभरबाट एक सय बढी सम्मान पाएका थिए ।
वर्ल्ड फुड प्राइजबाट प्राप्त २ लाख अमेरिकी डलरबाट उनले चेन्नईमा स्वामिनाथन रिसर्च फाउन्डेसन स्थापना गरेका थिए । सो फाउन्डेसनले भारतको नवप्रवर्द्धन, प्रयोगात्मक विज्ञान र प्रविधिदेखि महिला एवं ग्रामीण विकासमा सहयोग गर्दै आएको छ ।
स्वामिनाथन आलोचनाबाट पनि मुक्त हुन सकेनन् । प्रतिद्वन्द्वी वैज्ञानिकहरूको निसानामा उनी बेलाबखत पर्दै आएका थिए । उनका एक सहकर्मीले ’७० को दशकमा आफूले विकास गरेको गहुँको प्रजातिमा प्रोटिन तत्त्व रहेको भन्दै अतिरञ्जन रूपमा प्रस्तुत गरेर भारतमा लोकप्रिय बनाएको आरोप पनि लगाएका थिए । एउटा सरकारी छानबिन समितिले उनीमाथिको आरोपलाई खण्डन गरेको थियो । औद्योगिक कृषिमा जोड, अत्यधिक मलखाद एवं विषादीको प्रयोगलाई बढावा दिएको र आनुवांशिक रूपमा परिमार्जित खाद्यान्नलाई समर्थन गरेको भन्दै वातावरणवादी समूहले उनको चर्को आलोचना गरेका थिए । स्वामिनाथन र उनका सहकर्मीहरूले भने पूरै जीवन सुरक्षित तथा कम प्रदूषण गर्ने बाली उत्पादन गर्ने अभ्यासमा संलग्न रहेको बताएका छन् ।
सन् १९२५ अगस्ट ७ मा तामिलनाडु प्रदेशको कुम्बाकोनाममा जन्मिएका स्वामिनाथन चार सन्तानमा माइलो थिए । उनी महात्मा गान्धीका अनुयायी थिए । सन् १९४६ मा गान्धीले बंगालमा भएको भोकमरीमा ईश्वरलाई पुकार्दै सबैको घरमा रोटी पुर्याइदिन आग्रह गरेपछि स्वामिनाथन कृषि वैज्ञानिक बन्ने अठोट गरेका थिए । बंगालको भोकमरीमा एक वर्षमा ३० लाख मानिसको मृत्यु भएको अनुमान गरिन्छ । त्यसपछि उनी चिकित्साशास्त्रको पढाइ छाडेर कृषि अनुसन्धानमा लागेका थिए ।
तामिलनाडुको प्रमुख कृषि कलेजबाट ग्राजुएसन गरेपछि उनी इन्डियन एग्रिकल्चर रिसर्च इन्स्टिच्युट दिल्लीमा भर्ना भए । त्यसपछि थप अध्ययन नेदरल्यान्ड्स र इंग्ल्यान्डबाट गरे । क्याम्ब्रिज विश्वविद्यालयबाट उनले १९५२ मा पीएचडी गरेका थिए ।
युवा अवस्थामा स्वामिनाथनले आलु प्रजननमा विशेषज्ञता हासिल गरेका थिए । जसलाई हेरेर अमेरिकाको विस्कन्सिन विश्वविद्यालयले उनलाई पोस्टडकको फेलोसिप उपलब्ध गराएको थियो । उनका सहकर्मी निकै प्रभावित थिए र उनलाई त्यहीं अध्यापनका लागि आग्रह गरियो । तर विश्वविद्यालयको प्रस्तावलाई अस्वीकार गर्दै उनी सन् १९५४ मा इन्डियन एग्रिकल्चर रिसर्च इन्स्टिच्युटमै फर्किए । ‘मैले आफैंलाई सोधें जेनेटिकको किन अध्ययन गरें भनेर ?’ उनले सन् १९९९ को अन्तर्वार्तामा भनेका थिए, ‘यसले भारतमा पर्याप्त परिणाममा खाद्यान्न उत्पादन गर्छ । त्यसैले म स्वदेश फर्किएँ ।’
उनले हरियाणा र पन्जाबलाई केन्द्रमा राखेर आफ्नो अध्ययन अनुसन्धान र प्रयोग गरेका थिए । जसले पन्जाब र हरियाणालाई भारतको खाद्य भण्डारका रूपमा विकास गर्यो । नेपाल र त्यसमा पनि तराईका क्षेत्रबाट शारीरिक श्रम गर्न मलेसिया र खाडीतर्फ जानुअघिसम्म पन्जाब र हरियाणा प्रमुख श्रम गन्तव्यका रूपमा रहेका थिए । ‘इन्दिरा गान्धीको समयमा पन्जाब र हरियाणमा भारत सरकारले बाँध पनि बनायो र नयाँ जातको धान र गहुँ पनि लगाउन थाल्यो । त्यसपछि तराईतिरबाट हरियाणा र पन्जाबका खेतमा काम गर्न कामदारका रूपमा नेपाली जान थाले,’ अर्थविद् सुरेन्द्र लाभले भने, ‘तर अहिले त्यो श्रम शक्ति तराईबाट खाडी र मलेसियातर्फ गइरहेको छ ।’