: चितवनका सुमन सापकोटा विगत १९ वर्षदेखि चीनमा बस्दै आएका छन्। सन् २००४ अगष्टमा पढाइको सिलसिलामा चीनको हाङचाओ आएका उनी अहिले सपरिवार यतै बसिरहेका छन्। सुमन चचाङ विश्वविद्यालयमा अध्ययनका लागि आएका थिए। यहाँ बस्दाबस्दै उनलाई यहीँको परिवेशले भलायो र सपरिवार यतै बसिरहेका छन्।
यसैगरी शिखा उपाध्याय खतिवडा चीन आएको पनि लामै समय भइसक्यो। चचाङ विश्वविद्यालयमा स्कुल अफ मेडिसिनअन्तर्गत सोसल मेडिसिन र हेल्थ म्यानेजमेन्टमा पीएचडी गरिरहेकी उनी चीनको रहनसहन र परिवेशसँग राम्रै घुलमिल भइरहेकी छन्।
सुर्खेतका नवीन महताराले चीनमा पाइला राखेको लामै समय भइसकेको छ। नवीन इन्जिनियरिङकोर्स गर्न चीन आइपुगेका हुन्। उनी हाङचाओको जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजीमा मेकानिकल इन्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत छन्।
सुमन, शिखा र नवीनजस्तै झन्डै एक दर्जन नेपाली आइतबार जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा ‘नेपाल नेपाल’ भनेर चिच्चाइरेका थिए। १९औं एसियाली खेलकुदअन्तर्गत क्रिकेटको समूह ‘ए’ को दोस्रो खेलमा नेपालले आइतबार माल्दिभ्ससँग प्रतिस्पर्धा गरेको थियो। सुमन, शिखा र नवीनलगायत नेपालको समर्थन गर्न यहाँ जम्मा भएका हुन्। ‘आफू बसिरहेकै सहरमा नेपाली टोलीलाई समर्थन गर्न पाउँछु भन्ने कल्पनै गरेको थिइनँ। यो अवसर मेरा लागि निकै गर्विलो छ। यसका बारेमा शब्दमा बयान गर्नै सक्तिनँ’, सुमन भन्छन्, ‘यहाँ नेपालले खेलेको देखेर ‘नोस्टाल्ड’ हुन्छु। सन् १९९६ मा श्रीलंकाले विश्वकप जितेदेखि मैले क्रिकेट हेर्न थालेको हुँ। त्यही बेलादेखि नेपालमा क्रिकेटको लहर बढेको हो। त्यसैले क्रिकेट भनेपछि आफैलाई अर्कै अनुभूति हुन्छ।’
उनी नेपालमा स्तरीय रंगशाला नहुँदानहुँदै पनि खेलाडीको प्रदर्शन गौरव गर्न लागेको सुमन बताउँछन्। ‘नेपालमा भौतिक पूर्वाधार छैन। क्रिकेटको राम्रो रंगशालासम्म छैन। यस्तो अवस्थाबाट यहाँसम्म आइपुग्नु भनेको निकै ठूलो कुरा हो। ‘वि अलवेज चेयर आवर कन्ट्री’, सुमन भन्छन्। शिखा १० किलोमिटर टाढाबाट खेल हेर्न जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट मैदान आएकी हुन्। उनी मेट्रोमा यात्रा गर्दा एक घण्टाभन्दा बढी समय लागेको बताउँछिन्। ‘धेरै टाढाबाट नेपाललाई सपोर्ट गर्न आएकी हुँ। बल्लबल्ल टिकट पाएँ’, उनी भन्छिन्, ‘मंगोलियाविरुद्धको खेलमा पनि आएको थिएँ। टिकट नपाएर बाहिरैबाट फर्किनु पर्यो।’
उनी विदेशी भूमिमा नेपालले खेलेको र जितेको देख्दा गर्वले छाती चौडा हुने बताउँछिन्। ‘आफ्नो देशले विदेशी भूमिका खेलेको प्रत्यक्ष हेर्दा र जितेको देख्दा निकै गर्वको अनुभव हुँदोरहेछ’, उनी भन्छिन्, ‘क्रिकेटले हामीलाई गर्विलो महसुस गराइरहेको छ।’ उनी सामाजिक सञ्जालमा खेलाडीहरूलाई फलो गरिरहेको र नेपालको प्रायः खेल हेर्ने गरेको बताउँछिन्।
नवीन विश्वविद्यालयमा मैदान बनाउँदै गर्दा नेपाल पनि खेल्न आउँदै छ भन्ने थाहा पाउँदा निकै खुसी र उत्साहित भएको बताउँछन्। ‘मैदानको काम सुरु हुँदै गर्दा नै नेपालले पनि खेल्छ भन्ने थाहा थियो’, उनी भन्छन्, ‘आफ्नै विश्वविद्यालयको मैदानमा समर्थन गर्न पाउँदा खुसी लागेको छ।’ नवीनसहित जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजीमा पाँच नेपाली अध्ययनरत रहेको र उनीहरू सबैले नेपालको समर्थन गरिरहेका छन्।