— डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डले वान डे विश्वकप अगाडिको आफ्नो अन्तिम अभ्यास खेलमा सोमबार बंगलादेशलाई डीएसएल नियमअनुसार चार विकेटले पराजित गरेको छ । मोइन अलीले ३९ बलमा ५६ रन बनाए र इंग्ल्यान्डले १ सय ९७ रनको परिमार्जित लक्ष्य ७७ बलको खेल बाँकी छँदै हात पारेको थियो ।
त्यसअघि रिस टोपलीले २३ रनमा तीन विकेट लिएपछि बंगलादेशले ३७ ओभरमा नौ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो । बंगलादेशी इनिङ्सको मध्यमा खेल वर्षाले तीन घण्टा बिथोलिएको थियो ।
वान डे विश्वकपको बिहीबारको उद्घाटन खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डको सामना गर्नेछ । न्युजिल्यान्डले सोमबारको अर्को अभ्यास खेलमा दक्षिण अफ्रिकालाई डीएसएल नियमअनुसार सात रनले पराजित गर्यो । न्युजिल्यान्डले पहिले ब्याटिङ गर्दै तिरुवन्तपुरममा भएको खेलमा ६ विकेटमा ३ सय २१ रन बनाएको थियो ।
जितका लागि ३७ ओभरमा २ सय १९ रनको लक्ष्य पाएको दक्षिण अफ्रिकाले चार विकेटमा २ सय ११ रन मात्र बनाउन सक्यो ।