मुख्य समाचार
बैंकिङ कसुर तथा सजाय ऐन २०६४ संशोधन हुँदै : चेक बाउन्समा २ वर्षसम्म कैद प्रस्ताव
बैंकिङ कसुर तथा सजाय ऐन २०६४ संशोधन हुँदै : चेक बाउन्समा २ वर्षसम्म कैद प्रस्ताव

काठमाडौं । सरकारले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को संशोधन गरी चेक अनादरलाई बैंकिङ कसुर बनाउने प्रस्ताव गरेको छ ।

केही समयअघि मन्त्रीपरिषद्बाट पारित विधेयकमा चेक अनादरको विषयलाई बैंकिङ कसुर मान्ने र त्यस्तोमा अधिकतम् दुई वर्षसम्म कैद सजाय हुनसक्ने व्यवस्था प्रस्ताव गरिएको हो ।

सरकारले चेक अनादरलाई बैंकिङ कसुर बनाउने प्रयोजनकै लागि बैंकिङ कसुर तथा सजायसम्बन्धी ऐन संशोधन गर्न लागेको हो । यसअघिको ऐनमा यस सम्बन्धमा पर्याप्त व्यवस्था नभएको तथा सर्वोच्च अदालतले भिन्नभिन्न प्रकृतिमा फैसला गरेपछि चेक अनादरको विषयमा कानूनी एकरुपता थिएन । विधेयक पारित भएपछि त्यसमा स्पष्टता हुनेछ ।

मन्त्रिपरिषद्बाट स्वीकृत भएको बैंकिङ कसुर तथा सजाय ऐन २०६४ लाई संशोधन गर्न बनेको विधेयकमा ‘कसैले पनि आफ्नो बैङ्क खातामा रकम मौज्दात नभएको वा मौज्दात भए पनि भुक्तानीको लागि पर्याप्त छैन भन्ने जानीजानी कसैलाई चेक जारी गरी दिन वा बैङ्कसँग त्यस्तो चेकको भुक्तानी माग गर्नुहुँदैन,’ भन्ने व्यवस्था छ । यसअघिको बैंकिङ कसुर तथा सजाय ऐनमा ‘आफ्नो खातामा मौज्दात रकम नभएको जानीजानी चेक काटीदिन नहुने’ व्यवस्था मात्रै थियो ।

साथै, बैंकले भुक्तानीको लागि आएको चेकमा आवश्यक रकम खातामा नभए चेक धारकलाई फिर्ता दिनुपर्ने र त्यसरी फिर्ता हुन आएको चेक धारकले अनादर भएको प्रमाणित गराउन चाहेमा बैंकले बढीमा तीस दिनको म्याद दिई आफ्नो खातामा आवश्यक रकम जम्मा गर्न सम्बन्धित खातावालालाई सूचना दिई त्यसको अभिलेख राख्नुपर्ने प्रस्ताव विधेयकमा छ ।

चेक फिर्ता दिँदा बैंकले खातावालालाई दिएको सूचनाको अभिलेख राखिसकेपछि त्यसको व्यहोरा चेकमा समेत जनाई त्यस्तो चेक धारकलाई फिर्ता गर्नुपर्ने गरी ऐन संशोधन प्रस्ताव गरिएको छ ।

३० दिनको म्याद समाप्त भएपछि चेक धारकले फिर्ता गरिएको चेकमा उल्लेख गरिएको रकम भुक्तानी माग्दा खातामा आवश्यक रकम मौज्दात नभएर भुक्तानी दिन नसकिने भएमा बैंकले तीन दिनभित्र सम्बन्धित खातावालाले चेक अनादर गरेको व्यहोरा प्रमाणित गरी त्यस्तो चेक धारकलाई फिर्ता गरिदिनु पर्ने गरी ऐन संशोधन प्रस्ताव गरिएको हो ।

तर, खातावालालाई बैंकमा पर्याप्त रकम नरहेको सूचना दिएकोमा खातावालाले जुनसुकै बखत त्यस्तो चेक फिर्ता लिई धारकलाई चेकमा उल्लिखित रकम भुक्तानी दिन भने सक्ने प्रस्ताव गरिएको छ ।

चेक अनादर गरेको व्यहोरा प्रमाणित गर्ने कार्यविधि भने अर्थ मन्त्रालयको परामर्शमा नेपाल राष्ट्र बैंकले निर्धारण गरेअनुसार हुने प्रस्ताव गरिएको हो ।

तीन महिना कैदलाई २ वर्ष बनाइयो

संशोधन विधेयकमा प्रस्ताव भएको चेक अनादर प्रमाणित भएमा चेक जारी गरीदिने खातावालाबाट धारकलाई बिगो बमोजिमको रकम भराई चेक जारी गरीदिने खातावालालाई बिगोको पाँच प्रतिशत जरिवाना साथै जेल सजायको समेत प्रस्ताव गरिएको छ ।

चेक अनादरमा पाँच लाख रुपैयाँसम्म बिगो भए एक महिनासम्म कैद, पाँचलाख रुपैयाँभन्दा बढी दश लाख रुपैँयाँसम्म बिगो भए तीन महिनासम्म कैद, दश लाख रुपैयाँभन्दा बढी पचास लाख रुपैँयाँसम्म बिगो भए ६ महिनासम्म कैद र पचास लाख रुपैयाँभन्दा बढी जतिसुकै बिगो भए पनि दुई वर्षसम्म कैद सजाय प्रस्ताव भएको हो ।

यसअघिको ऐनमा यस्तो कसुर गर्नेलाई बिगोबमोजिम जरिवाना र तीन महिनासम्म कैद हुने व्यवस्था थियो ।

चेक अनदार गर्ने व्यक्ति सम्बन्धित संस्थाको अध्यक्ष, सञ्चालक, प्रमुख कार्यकारी अधिकृत भएमा उक्त ऐनमा प्रस्ताव गरिएको सजायमा थप एक वर्ष कैद हुने प्रस्ताव गरिएको छ ।

तीन महिनाभित्र जाहेरी दिनुपर्ने

ऐन संशोधन मार्फत खातामा पर्याप्त मौज्दात नहुँदा चेक काटेर चेक अनादर गरेको प्रमाणित भएमा प्रमाणित भएको मितिले तीन महिनाभित्र जाहेरी दिन सकिने व्यवस्था गर्न लागेको हो । । त्यसरी जाहेरी परेको मितिले तीन महिनाभित्र सम्बन्धित जिल्ला अदालत समक्ष मुद्दा दायर गरिसक्नुपर्ने व्यवस्था पनि गर्न लागिएको छ ।

मिलापत्र गर्न सकिने

चेक अनादरको मिलापत्र गर्न भने सकिने प्रस्ताव विधेयकमा गरिएको छ । मिलापत्रको लागि निवेदन परेमा सरकारी वकीलले मुद्दा अनुसन्धानको सिलसिलामा भए अनुसन्धान अधिकृतलाई दुवै पक्षबीच मिलापत्र गराई दिन र मिलापत्र भएको व्यहोरा अभिलेखमा जनाई उक्त अनुसन्धान स्थगन गर्न सम्बन्धित अनुसन्धान अधिकारीलाई आदेश दिनुपर्ने प्रस्ताव भएको छ । यसरी सरकारी वकीलले दिएको आदेशअनुसार मिलापत्र गराई त्यसको अभिलेख राख्नु सम्बन्धित अनुसन्धान अधिकृतको कर्तव्य हुने विधेयकमा प्रस्ताव गरिएको छ ।

मिलापत्रको लागि निवेदन परेमा सम्बन्धित अदालतले प्रचलित कानून बमोजिम मिलापत्र गराई दिनुपर्ने र त्यसरी मिलापत्र भएकोमा प्रतिवादीलाई ऐनबमोजिम सजाय नहुने प्रस्ताव भएको हो । यसरी चेक अनादरको अनुसन्धान हुँदै गर्दा वा मुद्दा दर्ता भइसकेपछि पनि मिलापत्र हुनसक्ने व्यवस्थाले अदालतमा यस्ता मुद्दाको संख्या कम हुनसक्ने बुझाइ सरकारको छ ।

विनिमेय अधिकारपत्र ऐनको दफा १०७क खारेज हुने

चेक बाउन्समा बैंकिङ कसुर ऐनका साथै विनिमेय अधिकारपत्र ऐन २०३४ पनि आकषिर्त हुने विद्यमान व्यवस्था थियो । उक्त ऐनको दफा १०७ ‘क’ मा बैंक खातामा रकम नभएको वा पर्याप्त नभएको जानीजानी चेक काटी हस्तान्तरण गर्ने र उक्त चेक भुक्तानीको लागि बैंकमा जाँदा पर्याप्त निक्षेप नभएको कारणले बैंकबाट चेक अनादर भएमा चेक काट्ने व्यक्तिबाट चेकमा उल्लिखित रकम र ब्याज समेत धारकलाई भराई चेक काट्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था थियो । उक्त व्यवस्थालाई खारेज गर्दै बैंकिङ कसुर तथा सजाय ऐनमा नै बिगो दाबी जरिवाना र जेल सजायको व्यवस्था भएको हो ।

तर, ऐन संशोधन हुनुअगाडि विनिमय अधिकारपत्र ऐन २०३४ अनुसार दायर भएका मुद्धा सोही ऐनअनुसार किनारा लाग्ने उल्लेख छ ।

सहकारी संस्था र संघलाई बैंकिङ कसुर ऐनबाट हटाइयो, सहकारी बैंकलाई ल्याइयो
विद्यमान बैंकिङ कसुर तथा सजाय ऐनको दायरामा सहकारी संस्था र संघहरु पनि रहेकोमा अब सहकारी बैंक मात्रै उक्त ऐनको दायराभित्र रहने गरी ऐन संशोधन प्रस्ताव भएको छ । ऐनको दफा १२ (क) लाई संशोधन गर्दै सहकारी संस्था र संघलाई झुक्याई कारोबार काम गर्दा बैंकिङ कसुर हुने व्यवस्थालाई हटाउने प्रस्ताव गरिएको छ । सो ठाउँमा सहकारी बैंक राख्न प्रस्ताव भएको हो ।

यस्तै ऐनको दफा १४ (ख) मा राष्ट्र बैंकको स्वीकृत लिएर मात्रै सहकारी संस्थाले बैंकिङ कारोबार गर्न सक्नेमा व्यवस्थालाई संशोधन गर्दै त्यसको स्थानमा सहकारी बैंक बनाउन प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कन्टेनरको उचित व्यवस्थापन नहुँदा सिर्सिया सुक्खा बन्दरगाहमा फेरि कन्टेनरको चाङ लागेको छ । हाल बन्दरगाह परिसर खाली र मालवाहक कन्टेनरले भरिएको छ । बिहीबार बन्दरगाह परिसरमा १ हजार ७ सय ६५ खाली र ९ सय ९० मालबाहक समेत गरी २ हजार ७ सय ५५ कन्टेनर रहेका छन् । इन्टरमोडल यातायात विकास समिति वीरगन्जका प्रमुख ...
— एसियाली विकास बैंक (एडीबी) ले विभिन्न तीन परियोजना कार्यान्वयन गर्न १ खर्ब ५ अर्ब ६१ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । सहायता रकममध्ये ६ अर्ब ५२ करोड रुपैयाँ अनुदान हो भने बाँकी रकम सहुलियतपूर्ण ऋण हो । दोस्रो चरणको काठमाडौं उपत्यका खानेपानी आपूर्ति सुधार परियोजना, दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) विद्युत् प्रसारण तथा वितरण सुदृढीकरण ...
: उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वदेशी र विदेशी निजी लगानीलाई वृद्धि गर्न आवश्यक रहेको बताएका छन्। थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्त सम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकको समापनमा अध्यक्षका हैसियतले सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले एसिया र प्रशान्त क्षेत्रमा सार्वजनिक पूँजीले मात्र वित्तीय आवश्यकता पूरा गर्न नसक्ने भएकाले निजी ...
— नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नौ अर्ब ११ करोड ३२ लाख बराबरको नाफा कमाएको छ । यो करकट्टी गर्नुअघिको नाफा हो । चालु आवको साउनदेखि असोज मसान्तसम्म ब्याज तथा अन्य आम्दानी समेत कूल आम्दानी ४१ अर्ब ८० करोड ६८ लाख रहेको छ । यस्तै ३२ अर्ब ६९ करोड ३६ लाख बराबरको ...
: विकास साझेदारबाट लगानीको प्रत्याभूति नहुँदा माथिल्लो अरुण जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन प्रभावित भएको छ। १०६३ मेगावाटको अर्धजलाशययुक्त आयोजनामा विश्व बैंकको नेतृत्वमा एसियाली विकास बैंक (एडीबी), जाइका लगायतका साझेदार निकायले लगानी गर्ने भन्ने थियो। तर, सन् २०२४ को अक्टोबरमा गर्ने भनेको वित्तीय व्यवस्थापन अहिलेसम्म हुन सकेको छैन। आयोजनाको लगानी भूराजनीतिक कारणले अनीर्णित बनेको स्रोत बताउँछ। ...