काठमाडौं । गणपूरक संख्या नपुगेपछि मंगलबारको प्रतिनिधि सभाको कार्यसूची प्रभावित भएको छ ।
मंगलबार एउटा मात्रै कार्यसूची थियो-विद्युत विधेयक पेश गर्ने । तर, पेश गर्नु अगाडि संसदमा गणपूरक संख्याबारे प्रश्न उठ्यो । गन्दा जम्मा ६६ सांसद मात्रै उपस्थित रहेको जानकारी सभामुख देवराज घिमिरेले सदनलाई गराए ।
संसद सचिवालयका अनुसार मंगलबार १८० जना सांसदले उपस्थित भएको हाजिर गरेका छन् ।
कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेश गर्नुपर्नेमा प्रतिनिधि सभाको एक चौथाई सदस्य हुनुपर्ने संवैधानिक व्यवस्था छ । त्यस अनुसार २७५ सदस्यीय प्रतिनिधि सभामा कम्तिमा ६९ सांसद उपस्थित हुनुपर्छ ।
हाजिर गरेर सांसदहरु हिडेँपछि गणपूरक संख्या यकिन गर्दा ६६ जना सांसदमात्रै देखिए । त्यसपछि सभामुख घिमिरेले कार्यसूचीबाट बाँकी विषय हटाएर बैठक स्थगित गरिदिए । प्रतिनिधि सभाको अर्को बैठक १८ गते दिउँसो १ बजे बोलाइएको छ ।