अमेरिकाको न्युयोर्क सहर निरन्तर भास्सिइरहेको छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको जेट प्रोपल्सन ल्याबले गरेको अध्ययनले न्युयोर्क सहर धस्सिंदै जानुका केही कारणहरु पत्ता लगाएको छ ।
सहर भासिँदै जानुको पहिलो कारण टेक्टोनिक प्लेटहरु धस्सिनु हो भने दोस्रो जमिनको माथिल्लो पत्रमा थपिइरहेको वजन । तेस्रो कारण चाहिं जलवायु परिवर्तनका कारण भैरहेको मौसमी बदलावलाई लिइएको छ ।
भलै हामीलाई आफ्नो पाइतालामुनिको जमिन स्थिर तथा टिकाउ लाग्नसक्छ, तर वास्तविक रुपमा त्यस्तो हुँदैन । जमिन हल्लिएको, चलिरहेको तथा धस्सिरहेको हुनसक्छ । कहिले माथि उठेको तथा कहिले तल भासिएको हुनसक्छ ।
जेट प्रपल्सन ल्याबको अध्ययन अनुसार न्युयोर्क सहर सन् २०१६ देखि २०२३ सम्म प्रतिवर्ष १.६ मिलिमिटरको दरले धस्सिइरहेको छ ।
नासाले स्याटेलाइटका माध्यमबाट न्युयोर्क सहरको InSAR डेटा लिएको छ र त्यसबाट थ्री डी नक्सा तयार गरेको छ । अर्थात् सहरको सतहमुनिको थ्रीडी नक्सा । यसबाटै न्युयोर्क सहरका ठूलो इलाका बर्सेनि एक वा दुई मिलिमिटरको दरले धस्सिरहेको पत्ता लागेको हो । न्युयोर्कको भूगोल यसरी बिग्रिनुको कारण चाहीँ उसको माथि बनेका अग्ला अग्ला गगनचुम्बी भवनहरु र ती भवनहरुको वजन नै हो ।
पहिले बर्फको मोटो पत्र, अहिले केवल धसान
न्युयोर्क सहरलाई तहसनहस पार्नका लागि कुनै प्राकृतिक विपत्तिको आवश्यकता छैन । यी भवनहरुले नै न्युयोर्कलाई पातालमा धसाइदिनेछन् । विज्ञानको भाषामा यसलाई सब्सिडेन्स भनिन्छ । यो भनेको जमिनका ठूलो हिस्सा अचानक तल धस्सिनु हो ।
करिब २४ हजार वर्षअघि न्युयोर्क न्यू इंगल्याण्डको हिस्सा थियो जो बर्फले ढाकिएको थियो । बर्फको वजनले गर्दा न्यू इंगल्याण्डको जमिन भास्सिएको थियो ।
समय परिवर्तन भयो र तापक्रम बढ्दै गयो । बर्फ पग्लँदा जमिन पुनः माथि आयो । यसलाई ग्लेसियल आइसोस्टेटिक एडजस्टमेन्ट भनिन्छ । कुनै सहरका लागि यो शव्दको अर्थ भनेको त्यो सहर भास्सिँदैछ भन्नु हो । यो कुनै प्राकृतिक गडबडी होइन । मानिसको क्रियाकलापका कारण भैरहेको छ ।
न्युयोर्क सहरमुनिको विस्तृत नक्सा
जेपिएलका वैज्ञानिक तथा न्युयोर्क सहरका शोधकर्ता ब्रेट बुजांगाका अनुसार उनीहरुले सहरमुनिको विस्तृत नक्सा तयार गरेका छन् । उनका अनुसार न्युयोर्क सहर बीचबीचमा फोका जस्तै फुट्ने तयारीमा छ । फोका फुट्ने समयमा माथि उठ्दछ । तर त्यसपछि ठूलो खाडल बन्दछ । न्युयोर्क यदि यस्तो घटना भयो भने धेरै ठाउँमा समुद्र तथा नदीको पानी भरिनेछ ।
यसमा क्विन्सको उदाहरण लिन सकिन्छ । त्यहाँ लागार्डिया विमानस्थलको रनवे नम्बर १३/३१ तथा आर्थर एशे रंगशाला ल्याण्डफिलमा बनेका छन् । ती क्षेत्र औसत भन्दा तीव्र गतिमा भास्सिरहेका छन् । यसका अलावा गभर्नर टापु तथा राइकर्स टापुपनि ल्याण्डफिलका कारण भास्सिइरहेका छन् । केही ठाउँहरु माथितर्फ उठिरहेका छन् । तर यो पनि समस्याको विषय हो ।
जमिन उठ्नु पनि समस्याको विषय
ब्रुकलिनको इस्ट विलियम्सबर्गको जमिन हरेक वर्ष १.६ मिलिमिटरको दरले माथि उठिरहेको छ । क्वीन्सको उडसाइडको जमिन ६.९ मिलिमिटर माथि उठेको छ । तर अहिले भने त्यो उठान रोकिएको छ । यो छोटो समयका लागि भएको सानो घटना थियो । तथापि न्युयोर्कको धेरैजसो हिस्सा भने तल धस्सिइरहेको छ । यदि जमीनमा कतै धसान भयो भने अन्त कतै त माथि उठ्ने नै भयो ।
न्युयोर्कको अध्ययनका लागि भारतीय सहयोग
भारतीय अन्तरीक्ष संस्था इसरो तथा अमेरिकी अन्तरिक्ष संस्था नासाले प्रक्षेपण गर्ने निसार स्याटेलाइटबाट न्युयोर्क सहरको थप अध्ययन हुनेछ । यो मिसनले विश्वलाई नै यस खालका प्राकृतिक विपत्तिहरुबाट बँच्ने तरिकाहरु सुझाउनेछ र विद्यमान अवस्थाको बारेमा पनि जानकारी गराउनेछ । समुद्री जलस्तर माथि उठ्नेदेखि तुफान आउने विषयसम्म अनि हिमनदी पग्लिनेदेखि ज्वालामूखी विस्फोट हुनेसम्मका सबै घटनाक्रममा यो स्याटेलाइटले निगरानी गर्नेछ ।
संकटको घण्टी
न्युयोर्क सहर भास्सिनुको सबैभन्दा ठूलो कारण यहाँको जमिनमा बनेका निकै ठूला गगनचुम्बी महलहरु नै हुन् । यो सहरको केही भाग निकै तीव्र गतिमा भासिँदै गएको छ । न्युयोर्कको यस्तो क्षेत्रमा करिब ८० लाख मानिस बस्दछन् जुन होँचो क्षेत्र हो र तीव्र रुपमा धस्सिँदै गएको छ । त्यस क्षेत्रमा पानी भरिने खतरा सदैव रहेको छ । अमेरिकन जियोलोजिकल सर्भेका भूगर्भविद थम पार्सन्सका अनुसार यसले गर्दा भविष्यमा बाढीको पनि खतरा रहेको छ ।
पार्सन्सको टोलीले न्युयोर्क सहरका १० लाख भवनको वजनसम्बन्धी तथ्यांक निकालेको छ । जस अनुसार न्युयोर्कका १० लाखवटा भवनको तौल ७ खर्ब ६४ अर्ब केजी छ । उनीहरुले सहरलाई १०० गुणा १०० मिटरको ग्रिडमा विभाजन गरी भवनहरुका कारण न्युयोर्कको जमिनमा कति चाप परेको छ भन्ने मापन गरेका छन् ।
यो अध्ययनमा केवल भवनहरुको मात्रै वजन लिइएको छ । न्युयोर्कको जमिन बालुवा, सिल्ट, माटो अर्थात् क्ले तथा बेडरक अर्थात् चट्टानबाट बनेको छ । क्लेबाट बनेको माटो तथा जमिन भास्सिने जोखिम धेरै हुन्छ । शोधकर्ताहरुका अनुसार विगत केही दशकमा म्यानहटन सहर २९४ मिलिमिटर भास्सिइसकेको छ ।
लगातारको उत्खनन, ढल तथा नालीको निर्माण, भवनको जगका लागि गरिने खनन, ठूला मेसिनबाट हुने ड्रिलिङका कारण जमिन भास्सिने खतरा बढ्दछ । केवल न्युयोर्क मात्र होइन इण्डोनेसियाको जकार्ता पनि भास्सिने चरणमा छ । सन् २०५० सम्ममा जकार्ता सहर समुद्रमा डुबिसक्ने बताइन्छ । त्यहाँका कतिपय ठाउँहरु ११ सेमी पानीमुनि हुनेछन् ।