अनलाइन सट्टेबाजीको दलदलमा सर्वसाधारण
अनलाइन सट्टेबाजीको दलदलमा सर्वसाधारण

— झापा बिर्तामोडका विमल क्षेत्री (परिवर्तित नाम) दुई महिनाअघि एक साथीमार्फत अनलाइन सट्टेबाजी (बेटिङ एप) ‘फिफिया’ मा जोडिए । चाँडो पैसा कमाउने उपाय खोजिरहेका उनका लागि यो अनलाइन प्लेटफर्म सही विकल्प थियो । तीन पटक बाजी लगाउँदा प्रत्येक पटक १ दशमलव ४८ प्रतिशत नाफा आउने थाहा पाएपछि त उनले ७४ हजार रुपैयाँ ऋण काढेर लगानी गरे ।


उनको खातामा १ लाख २६ हजार पुगेको थियो । उनी दसैं खर्च निक्लिने भो भनेर मनमनै खुसी देखिन्थे । तर, त्यो खुसी धेरै टिकेन । असोज ३ को राति ९ बजे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले फिफियाको टोखा–६ स्थित कार्यालयमा छापा मार्‍यो । भोजपुर घर भएकी कार्यालयकी सञ्चालक २८ वर्षीया दादिकी शेर्पा (राई) लाई अनलाइन सट्टेबाजीबाट ११ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा नियन्त्रणमा लियो । ‘प्रहरीले मान्छे पक्रेपछि बल्ल यो काम त गैरकानुनी रहेछ भन्ने थाहा पाएँ,’ क्षेत्रीले भने, ‘धेरै कमाउने लोभले पैसा डुबाइयो ।’


उनीजस्तै फिफियामार्फत पीडित बन्नेको संख्या ५ हजार हाराहारी छ । उनीहरूको १० हजारदेखि १७ लाखसम्म डुबेको छ । यो अवैध प्लेटफर्ममा रकम डुबाउनेको संख्या देशभर १ लाख हाराहारी रहेको अनुमान प्रहरीको छ । यसमा सर्वसाधारणको करोडभन्दा बढी रकम फसेको छ । फिफिया एजेन्ट शेर्पा पक्राउ परेपछि यो प्लेटफर्ममा जम्मा भएको प्रयोगकर्ताको रकम रोकिएको छ । झापाकै सन्जोग (नाम परिवर्तन) ले पनि फसेको रकम निकाल्न धेरै प्रयत्न गरे तर सकेनन् । उनको करिब ६ लाख रकम फसेको छ । कम्पनीले गत बिहीबार सूचना प्रकाशित गर्दै आफ्नो रकम निकाल्न १०० डलर तिर्न आह्वान गरेको थियो । उनले त्यहीअनुसार क्रिप्टोकरेन्सीमा १३ हजार ६ सय रुपैयाँ तिरे । तर, फसेको रकम त के भर्खरै पठाएको रकम पनि गायब भयो । ‘फसेको पैसा आउँछ भने १३ हजार खर्च गर्नुपरो भनेर तिरें,’ उनले गुनासो पोखे, ‘तर, त्यो पैसा पनि हरायो ।’

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार अभियुक्त शेर्पाले ‘फिफिया इन्टरनेट मिडिया प्रालि’ नामबाट घरेलु तथा साना उद्योगमा संस्था दर्ता गरी कम्पनी खोलेको र त्यही संस्थामार्फत अनलाइन सट्टेबाजी सञ्चालन गरेका थिए । ‘शेर्पाले चिनियाँ नागरिकसँगको सहयोगमा सिंगापुरबाट गैरकानुनी काम गरेको पुष्टि हुन्छ,’ कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले भने, ‘नेटवर्किङ शैलीमा फस्टाएको यो धन्दामा हजारौं नेपालीलाई फसाइएको देखिन्छ ।’

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार फिफिया विभिन्न नाममा फरक–फरक तरिकाले दर्ता भएको पाइएको छ । ‘फिफिए अनलाइन मिडिया’ नाम गरेको संस्था कम्पनी रजिस्ट्रार कार्यालयमा ३१७१७७/२०८०/०८१ नम्बरमा दर्ता भएको देखिन्छ । त्यस्तै, स्थायी लेखा नम्बर ६१०४९२५४३ रहेको र कारोबारको नाम ‘फिफिअ इन्टरनेट मिडिया प्रालि’ नामबाट काठमाडौं महानगरपालिका–७ चाबहिलमा सोही प्रकृतिको कम्पनी सञ्चालित छ ।




यसैगरी कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता नम्बर ३११६५/७९/८० रहेको अर्को कम्पनी ‘फिफिअ इन्टरनेट मिडिया’ राखेर दर्ता भएको खुलेको छ । ‘यी कागजात देखाएर कम्पनी वैधानिक हो भनी विश्वास दिलाउन खोजिएको देखिन्छ,’ प्रहरी स्रोतले भन्यो, ‘संस्था वैधानिक भए पनि उसले गरिरहेको गतिविधि अवैधानिक हो ।’

विश्व फुटबल महासंघ (फिफा) को जस्तै नाम रहेका कारण यसले धेरै सर्वसाधारणलाई चाँडै फसाउन सफल भएको देखिन्छ । अनलाइन मिडिया र इन्टरनेट कम्पनीका रूपमा दर्ता भए पनि यसको मुख्य काम भने अनलाइन जुवाका रूपमा सर्वसाधारणसँग रकम असुल्नु हो । यो सञ्जालमा जोडिएपछि सुरुमा ३ सय रुपैयाँ बोनस प्राप्त हुन्छ । यो रकम एउटामात्र सट्टेबाजीमा प्रयोग गर्नु सकिन्छ । ‘यसरी रकम आउने रहेछ भन्ने भ्रमले प्रयोगकर्ताले बढी रकम लगानी गरेको देखिन्छ,’ अनुसन्धानमा खटेका एक प्रहरीले भने, ‘जबकि बोनस ३ सय रुपैयाँ निकाल्नुपर्‍यो भने त्यो रकम बढाएर ५ सय पुर्‍याउनुपर्ने प्रावधान हुनेरहेछ ।’ ५ सय रुपैयाँ बनाउन प्रयोगकर्ता जुवा खेलिरहन्छन्, अरू रकम लगानी गरेर । रकम बढ्दै जान्छ र प्रयोगकर्ता नजानिँदो किसिमले लतमा फस्ने गरेको पाइएको छ ।

फिफियामार्फत भइरहेको ठगी बारेमा प्रहरीले दुई साताअघि जानकारी पाएको थियो । १५ पीडितले प्रहरीलाई आफ्नो सम्पर्क नम्बरसमेत राखेर इमेलमार्फत ठगीको घटनाबारे जानकारी गराएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले थप सूचना संकलन थालेको थियो । प्रहरीले टोखास्थित कार्यालयबाट यो धन्दा चलिरहेको सुइँको पाएर छापा मारेको थियो । प्रहरीकै अगाडि एक पीडितले फिफिया खाताबाट एक लाख रुपैयाँ आफ्नो बैंक खातामा पठाउँदा पाँच हजार काटिएर जम्मा भएपछि प्रहरी यो ठगी धन्दा हो भन्ने निष्कर्षमा पुगेको थियो ।

आठ कक्षा मात्रै पढेकी शेर्पा सामाजिक सञ्जालबाट चिनजान भएको एक व्यक्तिमार्फत फिफियामा जोडिएको प्रहरीले जनाएको छ । जागिरको खोजीमा रहेकी उनलाई तिनै व्यक्तिले फिफियाको कार्यालय खोल्न प्रेरित गरेको देखिन्छ । ती पुरुषले ‘अनलाइनको काम हो’ भनेर कार्यालय स्थापना गर्नुका लागि अनलाइनबाटै २० लाख रुपैयाँ शेर्पालाई उपलब्ध गराएको अनुसन्धानले देखाएको छ । उनले तीन महिनाअघि मात्र टोखामा कार्यालय खोलेकी थिइन् । पर्यटकको गाइड गर्ने श्रीमान्लाई समेत उनले यसबारे जानकारी नदिएको प्रहरीको भनाइ छ । उनलाई कार्यालय स्थापनामा सहयोग गर्ने व्यक्ति को हुन् भन्ने निष्कर्षमा प्रहरी पुगिसकेको छैन । ‘क्लाउड फ्लेयर नाम गरेको इन्टरनेट सर्भरबाट फिफिया डटकम चलाएर अनलाइन ठगी गरिरहेकाहरूबाटै प्रयोगकर्तालाई विश्वस्त पार्नु कार्यालय खोलिएको देखिन्छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने ।

प्रहरीले देशभर एक लाखभन्दा बढी फिफिया प्रयोगकर्ता रहेको र अर्बौं रुपैयाँको अवैध कारोबार चलेको प्रारम्भिक निष्कर्ष निकालेको छ । अहिले पनि दैनिक ४/५ जना आफू ठगिएको भन्दै उजुरी गर्नु नयाँ बानेश्वरस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगिरहेका छन् । यसको भुक्तानी र कमिसनको पिरामिड संरचनाका कारण पनि प्रयोगकर्ता फस्ने गरेको देखिन्छ । फिफियामा खाता भएको ‘क’ नाम गरेकोले ‘ख’ नाम गरेको अर्कोलाई ‘इन्भिटेसन’ पठाएर खातामा जोड्दा ‘क’ लाई ६ प्रतिशत कमिसन आउँथ्यो । प्रहरीले अनुसन्धान थालेपछि फिफिया अनलाइन बन्द भएको छ । यसले गर्दा यसका प्रयोगकर्ताहरूले जम्मा गरेको रकम फिर्ता गराइपाउँ भनी पीडितहरू प्रहरीमा पुग्न थालेका छन् ।

केही समयअघि ‘किम्बे’ नामक पिरामिड शैलीको अनलाइन ठगी धन्दा सञ्चालनमा थियो । फिफिया पनि उही प्रकृतिको पाइएको प्रहरी अनुसन्धानले देखाएको छ । फिफिया एपमा तीन जनाले मात्रै १० लाख रुपैयाँ बराबरको रकम जम्मा गरेका छन् । खाता खोल्दाखोल्दैको जम्मा हुने तीन सयका दरलाई मात्रै हिसाब गर्ने हो भने एक लाखजति प्रयोगकर्ताको थोरैमा पनि तीन करोड बराबरको अवैध कारोबार गरेको अनुमान गर्नु सकिन्छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौर भन्छन्, ‘यो अवैध धन्दामा अर्बभन्दा बढी कारोबारमा छ भन्ने अनुमान छ, डिजिटल वालेटहरूबाट कारोबार भएको छ, हामीले विवरण मागेर अनुसन्धान गरिरहेका छौं ।’

मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा ४ मा कसैले सट्टेबाजी गर्नु वा गराउनु अपराध ठहर्ने उल्लेख छ । सोही दफाको उपदफा ५ मा भनिएको छ, ‘उपदफा (४) को प्रयोजनका लागि कसैले कानुनबमोजिम खेल्न खेलाउन हुने कुनै खेल वा प्रक्रियामा खास पक्षले हारेमा वा जितेमा कुनै चल अचल सम्पत्ति वा प्रतिफल पाउने वा गुमाउने गरी बाजी थापेमा सट्टेबाजीको कसुर गरेको मानिनेछ । कसुर प्रमाणित भएमा बिगो जफत गरी एक वर्षसम्म कैद र दस हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था कानुनमा छ ।

यसरी ठगिए सर्वसाधारण

फिफिया एप सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप, टेलिग्राम र भाइबरबाट तीव्र गतिमा फैलिएको देखिन्छ । एप इन्स्टल गर्नुका लागि एउटा लिंक पठाइन्छ । यसरी एकले अर्कालाई लिंक पठाउँदा कमिसन पाइने भएपछि यो सामाजिक सञ्जालबाट तीव्र विस्तार भयो । यसरी पठाइएको फिफिया एपको लिंक खोलेर डाउनलोड गरेपछि बैंक खातालगायतका वैयक्तिक विवरण अपडेट गर्नु लगाइन्छ ।

फिफिया खाता खोल्नेबित्तिकै तीन सय रुपैयाँ रकम बोनसका रूपमा पाइने र उक्त रकम प्रत्येक ९० मिनेटमा १.४८ प्रतिशतका दरले प्रतिदिन तीन पटक बढ्छ । अर्थात् २४ घण्टामा ४.४४ प्रतिशतले रकम बढ्छ । आफ्नै आँखा अगाडि पैसा बढ्ने भएपछि प्रयोगकर्ताले आफ्नो बैंक खातामा भएको रकम पनि सोही फिफिया खातामा जम्मा गर्थे । यसरी जम्मा भएको रकम पनि बढ्दै जान थालेपछि खातामा रकम हाल्नेहरूको संख्या पनि थपिँदै गयो । फिफिया एपको भर्चुअल खातामा जम्मा भएको रकम आफ्नो बैंक खातामा पठाउँदा प्रत्येक कारोबारमा पाँच प्रतिशतका दरले काटिन थालेपछि भने प्रयोगकर्ताहरू झस्किए । त्यसपछि बल्ल यो ठगीको जालो रहेछ भन्ने थाहा पाएर प्रहरीमा उजुरी गर्ने क्रम सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाले आईसीसी विश्वकप लिग–२ मा यूएईलाई १० विकेटले हराएको छ । १०७ रनको लक्ष्य अमेरिकाले १५.५ ओभरमा पूरा गर्‍यो। ओपनर एन्ड्रिस गौस ५४ बलमा १२ चौका र १ छक्कासहित ६६ तथा स्मित पटेल ४१ बलमा ५ चौकासहित ३८ रनमा नटआउट रहे । त्यसअघि नामिबियाको विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३१.२ ओभरमा १०६ ...
। मध्यक्रमका ब्याटर कामिन्दु मेन्डिसको शतकमा घरेलु टोली श्रीलंकाले पहिलो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध मध्यम ब्याटिङ गरेको छ। गालेमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका पहिलो दिनको समाप्तिमा ३०२–७ को अवस्थामा छ। कामिन्दु मेन्डिस १७३ बलमा ११ चौकासहित ११४ रनमा आउट भए । मात्रै सातौं टेस्ट खेलेका कामिन्दुको यो चौथो टेस्ट शतक हो। कुशल मेन्डिस ५०, दिनेश चान्डिमल ३०, ...
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...