१९ औं एसियाली खेलकुद विशालको ऐतिहासिक प्रदर्शन
१९ औं एसियाली खेलकुद विशालको ऐतिहासिक प्रदर्शन

— नेपालका विशालसिंह विष्टले पदकबाट धेरै टाढा रहे पनि भारोत्तोलनमा बिहीबार ऐतिहासिक प्रदर्शन गरेका छन् । चियोसन स्पोर्ट्स सेन्टर जिम्न्याजियममा सम्पन्न पुरुष ९६ केजी तौल समूहमा विशालले तीन राष्ट्रिय कीर्तिमानसहित ३ सय १ केजी उठाउने दुर्लभ कीर्तिमान स्थापित गरेका छन् । नेपाली भारोत्तोलकले कुनै पनि तौल समूहमा कुलमा ३ सय केजीसम्म भार उचालेको यो पहिलोपल्ट हो । सुनील जोशीले यसअघि अभ्यासमा तीन सय केजी उठाएको दाबी गरिन्छ ।

विशालले स्न्याचमा १ सय ३३ केजी, क्लिन एन्ड जर्कमा १६८ केजी र कुलमा ३ सय १ केजी उठाए । स्न्याचमा १२६ केजी, क्लिन एन्ड जर्कमा १६५ केजी र कुलमा २९१ केजीको राष्ट्रिय कीर्तिमान उनकै नाममा थियो । उनले उक्त कीर्तिमान केही साताअघि रियादमा सम्पन्न विश्व भारोत्तोलन च्याम्पियनसिपमा स्थापित गरेका थिए । स्न्याचमा भने विशालले दोस्रो लिफ्टमा नै १ सय २७ केजी उठाउँदै राष्ट्रिय कीर्तिमान स्थापित गरिसकेका थिए । पहिलो लिफ्टमा विशालले १ सय २१ केजी उचालेका थिए । क्लिन एन्ड जर्कमा उनले पहिलो लिफ्टमा १ सय ६१ केजी उठाएका थिए ।

दोस्रो लिफ्टमा विशाल १६८ केजी उचालेर राष्ट्रिय कीर्तिमान रचेपछि तेस्रो लिफ्टमा कीर्तिमान सुधार गर्ने प्रयासमा १ सय ७५ केजी उठाउन भने सफल भएनन् । खेलपछि उनले भने, ‘यो प्रदर्शनका लागि म निकै खुसी छु । यो प्रदर्शनले मलाई भविष्यमा अझ राम्रो प्रदर्शन गर्न प्रेरित गर्नेछ ।’ नेपाल भारोत्तालन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले विशालको प्रदर्शनप्रति खुसी व्यक्त गरे । उनले भने, ‘नेपाली भारोत्तोलन इतिहासमा विशालको प्रदर्शन दुर्लभ छ र यो दिनलाई भारोत्तोलनले बिर्सन सक्ने छैन ।’

एथलेटिक्स

म्याराथनमा नेपालका दुवै खेलाडीले सन्तोषजक प्रदर्शन गर्न सकेनन् । उनीहरूले आफ्नो टाइमिङ पनि सुधार्न सकेनन् । पुरुषतर्फ राजन रोकाया समग्रमा १४ औं स्थानमा रहे । उनले निर्धारित दूरी पूरा गर्न २ घण्टा २३ मिनेट १७ सेकेन्ड खर्चिए । जबकि राजनको व्यक्तिगत उत्कृष्ट टाइमिङ २ घण्टा २० मिनेट ०८ सेकेन्डको हो ।




कुल १८ खेलाडी सहभागी भएकोमा साउदी अरेबिया र किर्गिस्तानका खेलाडीले दौड पूरा गरेनन् । चीनका जी हेले २ घण्टा १३ मिनेट ०२ सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण जिते । उत्तर कोरियाका हानले २ घण्टा १३ मिनेट २७ सेकेन्डबाट रजत र चीनकै याङले २ घण्टा १३ मिनेट ३७ सेकेन्डबाट कांस्य जिते ।

महिलातर्फ पुष्पा भण्डारीले निर्धारित दूरी ३ घण्टा ०२ मिनेट ३७ सेकेन्डमा पूरा गरिन् । सहभागी १७ खेलाडीमध्ये सागकी कांस्य विजेता पुष्पाले १६ औं स्थानमा दौड टुंग्याइन् । सागमा २ घण्टा ५० मिनेट ११ सेकेन्डको टाइमिङ निकालेकी उनले गत वर्ष ढाका म्याराथनकी स्वर्ण जितेकी थिइन् । बहराइनकी पाउल चुम्बा युनिस छेबिचीले पहिलो स्थान हात पार्ने क्रममा २ घण्टा २६ मिनेट १४ सेकेन्डको समय निकालिन् । चीन र काजकिस्तानका खेलाडीले रजत र कांस्य जिते ।

कराते

पदकको आस गरिएको करातेको पहिलो दिन नेपाली खेलाडीको प्रदर्शन सुखद रहेन । नेपालका तीन खेलाडीले प्रतिस्पर्धा गरेकामा तीनै खेलाडी पराजित भएर प्रतियोगिताबाट बाहिरिएका छन् । लिनपिङ स्पोर्ट्स सेन्टर जिम्न्याजियममा भएको पुरुष ७५ केजीमुनि नेपालका शेखु मोहम्मद आलम काजकिस्तानका खेलाडीसँग पराजित भए । काजकिस्तानका नुरकान्त अझिकानोभले शेखुलाई अंकका आधारमा ५–० ले पराजित गरे । रिपिचेजको पहिलो बाउटमा बाइ पाएका शेखु रिपिचेजकै अर्को बाउटमा भने किर्गिस्तानका नजिम नुर्लानोभसँग २–० ले चुके ।

एकल कातातर्फ पुरुषमा स्वर्णिम मानन्धर र महिलामा एलिसा मागर रास्कोटी पनि पहिलो चरणभन्दा अगाडि बढ्न सकेनन् । स्वर्णिमले ३८.३० र एलिसाले ३७.३० अंक जोडेका थिए ।

कुस्ती

कुस्तीमा नेपालकी शिवाङ्गी दुवे पराजित भएकी छन् । लिनान स्पोर्ट्स कल्चर एन्ड एक्जिविसन सेन्टरमा महिला ५७ केजी तौल समूहको पहिलो चरणको खेलमा थाइल्यान्डकी श्रृपाराले

शिवाङ्गीलाई ८–० ले पराजित गरिन् । १३ औं सागमा शिवाङ्गीले रजत पदक जितेकी थिइन् । पहिलो राउन्डमा श्रृपाराले ८–० अंक जोडिन् भने दोस्रोमा दुवैले अंक बटुल्न सकेनन् ।

क्यानोइङ

क्यानोइङ स्लालमअन्तर्गत पुरुष कायकमा नेपालका गणेश गुरुङ शुक्रबार सेमिफाइनलका लागि छनोट भएका छन् । दुई चरणको हिट्समा प्रतिस्पर्धी भएका गणेश सेमिफाइनल चरणमा पुगेका हुन् । कायकमा १६ खेलाडी सेमिफाइनल पुग्ने प्रावधान छ । गणेश पहिलो हिट्समा १६ खेलाडी सहभागी भएकोमा १४ औं भए । पहिलो हिट्सबाट ८ खेलाडी सेमिफाइनल चरणमा पुगेका थिए ।

दोस्रो हिट्समा नेपालका गणेशसहित आठ खेलाडीले प्रतिस्पर्धा गर्दा उनी सातौं हुँदै छनोट भए । दोस्रो हिट्समा खेलेका सबै खेलाडी सेमिफाइनल चरणमा छनोट भएका हुन् । सेमिफाइनल चरणमा १६ खेलाडी प्रतिस्पर्धी हुनेछन् । त्यसबाट १० खेलाडीले फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाले आईसीसी विश्वकप लिग–२ मा यूएईलाई १० विकेटले हराएको छ । १०७ रनको लक्ष्य अमेरिकाले १५.५ ओभरमा पूरा गर्‍यो। ओपनर एन्ड्रिस गौस ५४ बलमा १२ चौका र १ छक्कासहित ६६ तथा स्मित पटेल ४१ बलमा ५ चौकासहित ३८ रनमा नटआउट रहे । त्यसअघि नामिबियाको विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३१.२ ओभरमा १०६ ...
। मध्यक्रमका ब्याटर कामिन्दु मेन्डिसको शतकमा घरेलु टोली श्रीलंकाले पहिलो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध मध्यम ब्याटिङ गरेको छ। गालेमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका पहिलो दिनको समाप्तिमा ३०२–७ को अवस्थामा छ। कामिन्दु मेन्डिस १७३ बलमा ११ चौकासहित ११४ रनमा आउट भए । मात्रै सातौं टेस्ट खेलेका कामिन्दुको यो चौथो टेस्ट शतक हो। कुशल मेन्डिस ५०, दिनेश चान्डिमल ३०, ...
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...