इजरायल र प्यालेस्टाइनबीच ७५ वर्षदेखि जारी तनाव फेरि अर्को युद्धका रूपमा विस्फोट हुँदा नेपाली नागरिकसमेत घानमा परेका छन् ।
गाजामा रहेको प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले इजरायलको दक्षिणी क्षेत्रमा गोलाबारी गर्दा कम्तीमा १० नेपाली विद्यार्थीको ज्यान गएको छ भने केही घाइते भएका छन् । रोजगारी र सीप सिक्न कैयन् नेपाली इजरायलमा छन् । इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिनमा कृषिसम्बन्धी प्रयोगात्मक सिकाइका लागि एक महिनाअघि मात्र पुगेका सुदूरपश्चिम विश्वविद्यालयका १० विद्यार्थी शनिबार बिहान हमासको आक्रमणमा परेका हुन् । घाइते भएका र जोखिमयुक्त क्षेत्रमा रहेका अन्य नेपालीको उद्धार र उपचार प्रबन्ध मिलाउन सरकारले तत्काल पहल थाल्नुपर्छ ।
हमासले शनिबार बिहान इजरायलविरुद्ध अहिलेसम्मकै ठूलो आक्रमण गरेको हो । उसले इजरायली कब्जा अनियन्त्रित ‘अपरेसन अल–अक्सा फ्लड’ सुरु भएको जनाएको छ । हमासले शनिबार बिहान अचानक एकसाथ करिब पाँच हजार रकेट प्रहार गर्नुका साथै दक्षिणी इजरायलभित्र प्रवेश गरेर आफ्ना सैनिक तथा नागरिकलाई बन्धक बनाएपछि इजरायलले ‘युद्धको अवस्था’ घोषणा गरेको छ । जवाफी हमलामा उत्रिएको इजरायलले यो युद्ध लामो र कठिन हुने भन्दै प्यालेस्टाइनले अहिलेसम्म अनुमानसमेत नगरेको मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ । इजरायलले प्यालेस्टाइनी सहर गाजालक्षित आक्रमण तीव्र बनाइरहेको छ । दुवैतिर हताहती हुनेको संख्या आइतबार राति नै हजार नाघिसकेको छ । अहिले दुवैतर्फको आक्रोश हेर्दा यो संख्या कैयौं गुणा बढ्ने स्थिति छ ।
यसले विश्वलाई फेरि ध्रुवीकृत गर्ने, साधन र स्रोत युद्धमा खर्च हुने र अमूल्य मानवजीवन पनि होमिने स्थिति छ । यो परिदृश्य कल्पना गर्दा पनि अत्यासलाग्दो छ । इजरालयमाथि हमला भएपछि उसको समर्थनमा अमेरिका, जर्मनी, फ्रान्सलगायतका पश्चिमा देशहरू खुलेर अगाडि आएका छन् । उनीहरूले इजरायललाई आवश्यक सम्पूर्ण सहयोग निःसर्त दिने घोषणा पनि गरेका छन् । यता साउदी अरब र कतारजस्ता देशहरूले इजरायलकै आक्रमकताका कारण यो हिंसा भएको टिप्पणी गरिसकेका छन् । हमासको आक्रमणप्रति समर्थन जनाउँदै इरानमा र्यालीहरू नै भएका छन् । इरानको समर्थनप्राप्त लेबनानी इस्लामिक सैन्य समूह हिजबुल्लाहले आइतबारै इजरायलको पश्चिमी क्षेत्रमा रकेट प्रहार गरेर स्थिति थप तनावपूर्ण बनाइदिएको छ । हमासले पनि आक्रमण गर्न आफूहरूलाई इरानको प्रत्यक्ष सहयोग रहेको जनाइरहेको छ । वर्षौंदेखि भूराजनीतिक भुमरीमा परेको त्यस क्षेत्रमा युद्ध चर्कंदै जाँदा क्षेत्रीय र वैश्विक ध्रुवीकरण बढ्ने सम्भावना देखिँदै छ ।
साढे सात दशकअघि स्वतन्त्र मुलुकका रूपमा इजरायल स्थापित भएदेखि नै प्यालेस्टाइनसँग संघर्ष चल्दै आएको छ । यो संघर्ष भूमिसँग मात्र सम्बन्धित छैन, धर्मसँग जोडिएको छ । दीर्घकालीन शान्तिका लागि संयुक्त राष्ट्रसंघलगायत निकायले पटक–पटक प्रयास गरेका पनि हुन् तर मुख्य गरी इसाई, इस्लाम र यहुदी तीनै थरीको महत्त्वपूर्ण धार्मिकस्थल जेरुसेलमका कारण निकास निस्कन सकेको छैन । जेरुसेलमलाई धार्मिक प्रतिष्ठाको विषय बनाएर सजिलै गुमाउन वा अरू कसैको नियन्त्रणमा पार्न कुनै पनि पक्षले चाहेको छैन । धार्मिक–राजनीतिक स्वार्थका कारण यसरी युद्धहरू हुँदै गर्दा निहत्था मानिसले ज्यान गुमाउँछन् । यसैपालि हमासले आक्रमण गर्दा युद्धसँग कुनै साइनो नभएको नेपालका नागरिकले ज्यान गुमाए । इजरायल–प्यालेस्टाइन युद्ध नरोकिए त्यसको बाछिटा कहाँसम्म पुग्छ, भन्न सकिने अवस्था छैन । आइतबार मात्र इजिप्टमा दुई इजरायली पर्यटकको गोली हानी हत्या गरिएको छ । युद्धमा सामेल नै नभएको व्यक्ति यसरी मारिँदै जानु दुर्भाग्यपूर्ण छ ।
संसारका कुनै पनि मुद्दा युद्धबाट वारपार भएको दृष्टान्त विरलै छ । बरु वार्ता–संवादबाट युद्धलाई शान्तिमा रूपान्तरण गरिएका उदाहरण प्रशस्त छन् । सैन्य शक्तिका हिसाबले बलियो मानिने रुसले त युक्रेनमाथि आक्रमण थालेको दुई वर्ष हुन लाग्दा पनि वारपार कता हुने हो भन्ने यकिन हुन सकेको छैन । त्यसको असर भने प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सिङ्गो विश्वले भोगिरहेको छ । अमेरिकी नेतृत्वको गठबन्धन फौजले अफगानिस्तानमा तालिबानमाथि आक्रमण गरेर परास्त गरेको थियो तर अमेरिकी फौज फिर्ता हुनासाथ तालिबान सत्तामा आएको छ अर्थात् हजारौं मानिसको हताहती र अर्बौं खर्चपछि त्यहाँको स्थिति पूर्ववत् अवस्थामै पुगेको छ । इजरायल र प्यालेस्टाइनले पनि आपसी संघर्षबाट केही पाएका छैनन्, गुमाइरहेका मात्र छन् । यसबाट पनि दुवै पक्षले पाठ सिक्न सक्नुपर्छ र वार्ता–संवादमार्फत दीर्घकालीन शान्तिको खोजी गर्नुपर्छ । यसमा विश्व समुदायले पनि दबाब र सहजीकरण गर्न सक्नुपर्छ ।