मुख्य समाचार
इजरायल घटनाका प्रत्यक्षदर्शीको बयान ‘आफ्नै आँखा अगाडि एकपछि अर्को साथी ढल्दै गए’
इजरायल घटनाका प्रत्यक्षदर्शीको बयान ‘आफ्नै आँखा अगाडि एकपछि अर्को साथी ढल्दै गए’

— हामी १७ जना साथीहरू दक्षिण इजरायलको सेदोत नेगेभको किवुज अलुमिनको बासस्थानमा सुतिरहेका थियौँ । शनिबार बिदा थियो‚ ड्युटी थिएन । बिदाको दिन खासै चहलपहल हुँदैन । हामी तलबको प्रतिक्षामा थियौँ । साथमा पैसा पनि थिएन । बाहिर हिँडडुल गर्ने योजनामा पनि थिएनौं । बिहान ६ बजेसम्म उठेका थिएनौं ।

हामी बसेको ठाउँ इजरायल र गाजाको बोर्डरबाट २० किलोमिटर टाढा पर्थ्यो । माथि आकाशमा मिसाइल आउँदा आकासमै डिस्पोज हुन्छ भन्ने जानकारी थियो । मिसाइल आउनुअघि साइरन बज्थ्यो । शनिबार बिहान साइरन बजेन । आकासमा चरा उडेजसरी मिसाइलहरू उडिरहेका थिए ।

हामी सबै जना आकासतिर उडिरहेका मिसाइल हेर्न बाहिर निस्किएका थियौं । सबैले मोबाइलबाट भिडियो खिच्यौँ । पहिलोपल्ट भएर पनि होला‚ रमाइलो मनिरहेका थियौँ । आकासमा धेरै मिसाइल विस्फोट हुन थालेपछि हामी सुरक्षित हुन बंकरतिर लाग्यौं ।

अवस्था एक घण्टासम्म सामान्य नै थियो । १७ जना नै एउटै बंकरमा बसिरहेका थियौं । अरु कृषि फार्ममा रहेका साथीहरूसँग भिडियोमा कुराकानी भइरहेको थियो । जयपृथ्वी–६, बझाङका गणेशकुमार नेपाली शौचालय जान बंकरबाट बाहिर निस्किएका थिए । शौचालय नजिकै थियो । शौचालयबाट फर्किरहेका बेला गणेशमाथि दुई गोली प्रहार भयो । उनी त्यही ढलिहाले । हाम्रो बंकरको ढोकाको भाग खुल्ला थियो । ढोकाबाट देखिहाल्यौं ।

हमासका लडाकुहरू हामी बसेको क्षेत्रमा छ्याछ्याप्ती भइसकेको हामीले पत्तो नै पाएनौं । ढोकाको छेऊमै रहेका अर्का साथी लेकम-५ दार्चुलाका दीपेशराज विष्ट ‘वी आर नेपाली, वी आर नेपाली’ भन्दै हात उठाउँदै बाहिर निस्किए । उसलाई पनि गोली हानिदिए । उनले एय्या पनि गर्न पाएनन् । ढलिहाले ।




त्यतिबेरसम्म हामीभित्र रुवाबासी चलिसकेको थियो । सात्तो गइसकेको थियो । हमास लडाकुहरूले दुईवटा ग्रिनेड एकसाथ बंकरभित्र फालिदिए । एउटा ग्रिनेडलाई भीमदत्त–३ कञ्चनपुरका विपिन जोशीले बाहिर फालिदिए भने अर्को भित्रै पड्कियो । सबै साथीहरू एकै ठाउँमा अर्थात् म भएको ठाउँमा हामफाले । साथीहरू एकमाथि अर्को गरी खप्टिए । म सबैभन्दा भुईंमा थिएँ । खप्टिँदाखेरि ग्रिनेड विस्फोट भयो । ७ जना साथीहरू घाइते भए । धेरैजसोको घुँडामुनि लाग्यो । कसैको पिँडुला फुट्यो । कसैको पैतला नै झर्‍यो ।

ग्रिनेड फालेर उनीहरू त्यहाँबाट हिँडे । विपिनले वरिपरिका साथीहरूलाई एम्बुलेन्स पठाइदिन अनुनयविनय गरिरहे । मैले पनि साथीहरूलाई हारगुहार गरेँ । १५–२० मिनेटको अन्तरालमा तीन जनाको टोली एम्बुलेन्स लिएर आयो । सख्त घाइतेलाई हामी लिएर जान्छौं भन्दै हामीलाई अर्को बंकरमा जान भन्यो । घोडाघोडी-४ का नारायणप्रसाद न्यौपाने, सपही–६ धनुषाका आनन्द साह र टीकापुर–९ कैलालीका धनबहादुर चौधरी सख्त घाइते थिए । एम्बुलेन्समा आएका प्रहरीको जिम्मामा उनीहरूलाई छाडेर हामी नजिकको अर्को बंकरमा गयौं । त्यहाँबाट धनबहादुरलाई मात्रै अस्पताल लगिएको पछि मात्रै थाहा पायौं । उपचार नपाएर नारायण र आनन्दको बंकरमै ज्यान गयो ।

अर्को बंकरमा जाँदा बौनिया–३ कैलालीका आशिष चौधरी, मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार, पाचनली–३ डोटीका राजन फुलरा, लमिखल–८ डोटीका पदम थापा, शारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्रसिंह धामी, शारदा–२ सल्यानका विधान सेजवाल, दंगीशरण–३ दाङका प्रविन डाँगी, गोरखा–८ गोरखाका हिमाञ्चल कट्टेल, भीमदत्त–३ कञ्चनपुरका विपिन जोशी, त्रिवेणी–१ सल्यानका प्रमोद केसी, त्रिशक्ति–४ कैलालीका वीरेन्द्र चौधरी भजनी र मसहित १३ जना साथीहरु सकुशल थियौँ ।

त्यो बंकर पहिलाको बंकरबाट एक मिनेटको मात्रै दूरी थियो‚ त्यसमा हामीसँगै काम गर्ने २० जना थाइल्यान्डका नागरिक पनि थिए । त्यो बंकरमा किचनको सुविधा पनि थियो । म किचनको वेसनमुनिको भागमा गएर बसेँ‚ त्यहाँ काठको सानो ढोका थियो । त्यो ढोका लगाएर म नबोली बसिरहेँ । वीरेन्द्र भने चामालको बोरा पछाडि गएर बसे । बाँकी साथीहरू थाइल्यान्डका नागरिकको छेउमा गएर भुइँमै बसिरहे । कसैले कसैसँग कुरा गरिरहेका थिएनन् । हामी त्यहाँ गएर बसेको आधा घण्टा जति सुनसान थियो त्यहाँको अवस्था । एक्कासी फेरि हमासका लडाकुहरू बंकरभित्र छिरे । थाइल्यान्डका नागरिकहरूले उनीहरूकै भाषामा आफूहरू थाइल्यान्डका नागरिक हौँ भन्दै गुहार मागे । ७ जना थाईलाई त्यहाँबाट बाहिर लिएर गयो । त्योक्रममा विपिन पनि परे । बाँकीलाई त्यहीँ राखेर अन्धाधुन्ध गोली बर्साए । उनीहरुले गोली सिधा नहान्दा मतिर आएन । तलतिर बर्साउँदा साथीहरूलाई लाग्यो । चार–पाँचवटा ग्रिनेड भित्रै फालियो । अश्रुग्यास पनि फालेर उनीहरू हिँडे ।

मलाई र विरेन्द्रलाई गोली लागेन । हामीबाट छलियौँ । आशिष, राजेशकुमार, राजन, पदम, प्रवेश र लोकेन्द्रसिंह धामीको त्यहीँ मृत्यु भयो । विधान, प्रविण र हिमाञ्चल घाइते भए । उनीहरूले पानी पानी भनिरहे । मैले किचनमा रहेको पानीको पाइप फुटाएँ र त्यहाँबाट अलि अलि पानी निकालेर उनीहरूलाई दिएँ । पानी भएपछि अश्रुग्यासको गन्ध पनि बिस्तारै हराउँदै गयो ।

विधान र प्रविणको खुट्टामा क्षति पुग्यो । हिमाञ्चल सामान्य घाइते थिए । उनीहरूलाई पानी खुवाइरहेँ‚ त्यसरी हामीले दिनभर बितायौं । साथीहरू गम्भीर थिए । रक्तश्राव भइरहेको थियो । जतिखेर पनि चिच्चाहटले एकदमै मानसिक तनाव भइरह्यो । साँझ आएर एम्बुलेन्सले विधान, प्रविण र हिमाञ्चललाई नजिकको अस्पतालमा लिएर गयो । विरेन्द्र र म त्यहाँबाट बाहिरिन सक्यौं ।

भगवान् दाहिने रहेछन् । एउटा जुनीमात्रै होइन‚ ३ जुनी सँगै पाएको जस्तो लागेको छ । आमाको दूधको दस धारा र बुबाको त्यो प्रार्थना बलियो रहेछ । अनि मेरो मायाको त्यो प्रार्थना पनि मूल्यवान् हुन गयो । यस्तो युद्ध त फिल्ममा पनि देखेको थिइनँ मैले । मेरै आँखा आगडि के के भयो भयो ! कति साथिलाई पानी पनि दिन पाइनँ । के के गरौंला, कमाउँला, रमाउँला भनेर सपना बोकी सँगै विदेश आएका साथीहरू रहेनन् । मेरा सम्पूर्ण नातेदार, साथीभाइहरू ! म सुरक्षित छु । मलाई नेपाली दाजुहरूले उद्धार गरेर तेलअविवमा ल्याउनुभएको छ । म र वीरेन्द्र साथमै छौं ।

(दक्षिण इजरायलको सेदोत नेगेभको किवुज अलुमिन फार्मबाट हमासको आक्रमणमा जोगिएर तेलअविव पुगेका केसीसँग होम कार्कीले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मलेसियाले एकैदिन २६ जना नेपालीलाई निष्कासन गरेको छ। मलेसियाको कानुन उल्लंघन गरेको अभियोगमा उनीहरूलाई निष्कासन गरिएको हो। अध्यागमन कार्यालय स्रोतका अनुसार उनीहरू बिहीबार साँझ काठमाडौं आइपुगेका हुन्। बटिक एयरलायन्सको विमानबाट उनीहरू काठमाडौं आइपुगेका हुन्। केही महिनाअघि श्रम गरेर मलेसिया पुगेका उनीहरूलाई त्यहाँको अध्यागमनले पक्राउ गरेको थियो। श्रम सम्झौताविपरीत अर्कै कम्पनीमा काम गरेको भेटिएपछि त्यहाँको अध्यागमनले ...
: क्यानडाले दुई जना नेपालीलाई निष्कासन गरेको छ। त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई निष्कासन गरिएको हो। निष्कासनमा पर्नेहरूमा कौशिला भुर्तेल र हिमलाल भुर्तेल रहेका छन्। एयर इन्डियाको विमानबाट मंगलबार उनीहरू काठमाडौं आइपुगेका हुन्। पछिल्लो समय अध्यागमन कानुन उल्लंघन गरी निष्कासनमा पर्ने नेपालीको संख्या बढिरहेको छ। केही दिनअघि अमेरिकाले पनि दुई जना नेपालीलाई निष्कासन गरेको थियो।
— अमेरिकाको भर्जिनियास्थित च्यान्टिलीमा भएको कार दुर्घटनामा दुई नेपाली युवाको ज्यान गएको छ । कमाउनका लागि ११ महिनाअघि अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–७ औली गाउँका सुरेश केसी र पढाइका लागि छात्रवृत्ति पाएर अमेरिका पुगेका बर्दिया मधुवनका २२ वर्षीय विवेक सुवेदीको ज्यान गएको हो । उनीहरूसँगै कारमा सवार अर्का एक युवक घाइते छन् । उनको भने ...
: अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा दक्षिण कोरियाले ६ नेपालीलाई निष्काशन (डीपोर्ट) गरेको छ। दक्षिण कोरियाको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई नेपाल 'डीपोर्ट' गरिएको स्रोतले बताएको छ। स्रोतका अनुसार निष्काशन गरिनेहरूमा लक्ष्मण महत, दिलु राना मगर, सुरज भट्टराई, वीरबहादुर मल्ल, आशिष थापा र विशाल मुकारुङ रहेका छन्। उनीहरूलाई शुक्रबार र शनिबार गरी नेपाल फिर्ता पठाइएको ...
: उत्तर अमेरिकी देश कोस्टारिकाले ८ जना नेपालीको भिसा रद्द गरिदिएको छ। भिसा रद्द गरिदिएपछि कोस्टारिका पुगेका उनीहरू शनिबार काठमाडौं फर्किएका छन्। फर्किनेहरूमा आशिष माझी, बुद्धिलाल माझी, चन्द्रबहादुर थापा मगर, गणेश बहादुर थापा मागर, आकाश जिसी, अशोक ढकाल, अम्बिरकुमार ढकाल र दिनेश प्रसाद अधिकारी रहेको स्रोतले जनाएको छ। दिनेश कतार एयरलायन्सको विमानबाट फर्किएका हुन् भने बाँकी ७ ...