— हामी सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरुलाई सोमबार रातिबाट रामेत नागेभको कृषि फार्ममा ल्याएर राखिएको छ । हामी तलबाट आउने आतंककारीलाई होल्ड गर्न सक्छौं । माथिबाट आउने मिसाइल हो । साथीहरु भए जस्तै पनि हुन सक्छ । बाँच्न पनि सकिन्छ । मर्न पनि सकिन्छ ।
दूतावासमा फोन गर्दा हरेक समय चनाखो भएर बस्नु भनेको छ । हामीसँगै ल्याएको कम्बोडिया र थाइल्यान्डका नागरिकलाई सोमबार नै उद्धार गरेर लागिसके । चार दिन भइसक्यो बैठक बस्दैछौं भनिरहेको छ सरकार । प्राथमिकता केलाई दिने भन्ने कुरा नै देशको सरकारले छुटाउन सकेको छैन । अहिले बैठक त बसिरहेको छ । त्यो बैठकले साथीहरुको मूल्यमात्रै तोकिरहेको छ । कहिले आठ लाख भनेको छ । कहिले १० लाख भनेको छ । तर, हामी जुन तरिकाले शारीरिक र मानसिक तरिकाले गुज्रिरहेका छौं ।
भलै, दुई दिन अगाडिसम्म खाना पाएका थिएनौं । अहिले खाना खान पाएका छौं । त्यो फरक कुरा हो । जुन तरिकाले समाचार पढिरहेका छौं । त्यो कठिनाई छ । यसको पनि ख्याल गरिदिनुहोला ।
दूतावासलाई फोन गर्दा कमर्सियल विमानहरु चलिरहेको छ भन्छ । यसको लागि पैसा चाहिने रहेछ । यो पैसाको जिम्मेवारी कसले लिने भन्ने कुरा आएको छ । पैसा हाल्नु पर्ने भए हामी तयार छौं । सरकारले पैसा हाल्न सक्तैनौं भन्नुपर्यो । पैसा हाल्न नसक्ने भए आज साँझभित्र नै हामीलाई सूचना प्रदान गर्नुपर्यो ।
हामीलाई जहिल्यै पनि मानसिक, इमोसनली बलियो हुनुपर्छ भनेर सबैले भनिरहेका छन् । आफूले सकेसम्म शतप्रतिशत दिइसकेका छौं । अब ५ दिन भइसक्यो, बमको आवाज गर्जेको गर्ज्यै छ । यो ठाउँ अहिलेको लागि सेफ हो । यो बमको आतंक कम भएको ठाउँमा रिलोकेट गरेको मात्रै हो । एउटा ठाउँबाट अर्को ठाउँमा स्थानान्तरण गरेको मात्रै हो । हामी पूर्णरुपमा सुरक्षित छैन । अब १६ अक्टोबरबाट उडानहरु कतैबाट पनि बाहिर जान नदिने कुराहरु चलिरहेको छ । इजरायलका मान्छेहरुलाई बिदामा दुई/तीन महिनाको लागि बाहिर जाऊ भनिरहेको छ । हामीलाई नेपाल सरकारले किन अहिलेसम्म लिन आइरहेको छैन ?
हामीलाई खाना पाएको छ, बस्न पाएको छ भनेर सोध्न पर्दैन । हामीलाई यो ठाउँमा बस्नु नै छैन । हामीले साथीहरु गुमाइसक्यौं । हामीलाई जसरी नै नेपाल फर्कनु छ । अब अरु साथीहरुलाई गुमाउनु छैन ।