मुख्य समाचार
इजरायल–हमास युद्धले मानवीय संकट बढ्दै
इजरायल–हमास युद्धले मानवीय संकट बढ्दै

— इजरायल र प्यालेस्टाइनको विद्रोही समूह हमासबीच जारी युद्धले नागरिकको दैनिकी कष्टपूर्ण बनेको छ । गाजामा इजरायलको आक्रमण तथा इजरायली भूभागमा हमासको आक्रमणका कारण दुवैतर्फ मानवीय सहायताको आवश्यकता रहेको अन्तर्राष्ट्रिय संघसंस्थाले जनाएका हुन् ।

विश्व स्वास्थ्य संगठनले गाजामा सहायताका लागि मानवीय करिडोर बनाउन अपिल गरेको छ । प्यालेस्टाइनी अधिकारीका अनुसार शनिबारयता इजरायलको आक्रमणमा गाजामा १ हजार जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । गाजामा इजरायलको निरन्तर आक्रमण र नाकाबन्दीका कारण सर्वसाधारणको कठिनाइ बढिरहेको छ । सोमबार इजरायलले गाजा क्षेत्रमा नाकाबन्दी गर्ने घोषणा गरेको थियो, जसका कारण त्यहाँ पानी, इन्धन, बिजुलीलगायतको आपूर्ति रोकिएको छ ।

यस्तै, शनिबारयता हमासको आक्रमणका कारण १ हजार २ सय जनाभन्दा बढी इजरायली नागरिकको मृत्यु भएको इजरायलका अधिकारीले बताएका छन् । घाइतेको संख्या ३ हजारभन्दा बढी छ । इजरायलले गाजा क्षेत्रमा निरन्तर मिसाइल आक्रमण गरिरहेको छ । हमासले पनि १ सयदेखि डेढ सयसम्म इजरायलीलाई बन्धक बनाएको अनुमान गरिएको छ । बन्धक हुनेमा महिला, बालबालिका तथा सैनिक पनि छन् । हमासले संघर्ष जारी रहेसम्म बन्धकहरूलाई छोड्ने विषयमा कुनै पनि वार्ता गर्न अस्वीकार गरेको छ । हमासले पनि गाजामा आक्रमणको प्रतिरोधस्वरूप इजरायलको अस्केलोन सहरमा आक्रमण गर्ने धम्की दिएको छ । टेलिग्राममा राखिएको एउटा पोस्टमा हमासले गाजादेखि उत्तरमा रहेको उक्त सहरमा आक्रमण गर्ने धम्की दिएको हो । उसले स्थानीयलाई उक्त इलाका छाड्न उर्दी पनि जारी गरेको छ ।

अन्तर्राष्ट्रिय समुदायले शान्तिका लागि आह्वान र मध्यस्थताका लागि तत्परता देखाएका छन् । कतारका विदेश मन्त्रालयले इजरायल र हमासबीच मध्यस्थताका लागि प्रयास गरिरहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता माजिद अल–अन्सारीले शनिबार रातिदेखि नै वार्ता गरिरहेको समाचार संस्था रोयटर्सलाई बताएका छन् । ‘हाम्रो प्राथमिकता रक्तपातपूर्ण युद्ध अन्त्य गर्नु हो । यस्तै, कैदीबन्दीको रिहाइ र युद्धको असर क्षेत्रीयस्तरमा फैलिन नदिनु पनि हो,’ उनले भने ।

हमासले आक्रमण गरेपछि इजरायलको सुरक्षा परिषद्ले औपचारिक रूपमा ‘युद्ध स्थिति’ को घोषणा गरिसकेको छ । यो घोषणापछि इजरायल सरकारलाई महत्त्वपूर्ण सैन्य गतिविधि गर्न अनुमति मिलेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा क्षेत्रका स्थानीयलाई विस्थापित हुन चेतावनी दिँदै उक्त क्षेत्रलाई ‘निर्जन स्थल’ को रूपमा बदल्ने घोषणा गरेका छन् ।

सन् १९६७ को मध्यपूर्वको युद्धपछि इजरायलले पूर्वी जेरुसेलममाथि कब्जा गरेको थियो । त्यसपछि उसले पूरा जेरुसेलमलाई आफ्नो राजधानी दाबी गर्दै आएको छ । प्यालेस्टाइनले भने पूर्वी जेरुसेलमलाई ‘भविष्यको एक सार्वभौम र स्वतन्त्र मुलुकको राजधानी’ का रूपमा लिँदै आएको छ । यही विषयमा प्यालेस्टाइन र इजरायलबीच विवाद रहँदै आएको छ भने पटक–पटक यसले युद्धको रूप लिएको छ । सन् २०१४ को जुलाईदेखि अगस्टको बीचमा भएको द्वन्द्वमा २ हजार २५१ प्यालेस्टाइनी मारिएका थिए । तीमध्ये १ हजार ४ सय ६२ त सर्वसाधारण नै थिए । त्यस्तै इजरायलका ६ सर्वसाधारणसहित ६७ जना सैनिक मारिएका थिए ।

पछिल्लो पटक २०२२ अगस्टमा इजरायली सेनाले प्यालेस्टाइनी विद्रोही अखडामा हवाई आक्रमण गर्दा ४४ जनाको मृत्यु भएको थियो । प्यालेस्टाइनी विद्रोही समूहले १ हजारभन्दा बढी रकेट आक्रमण गरेपछि इजरायलले जवाफी कारबाही गरेको दाबी गरेको थियो । त्यसअघि सन् २०२१ मा रमदानकै महिना इजरायल–प्यालेस्टाइन द्वन्द्व चर्किएको थियो । ११ दिनसम्म लम्बिएको हिंसात्मक द्वन्द्वमा गाजा क्षेत्रका २ सय ५० जना र इजरायलका १३ जना मारिएका थिए । इजिप्टबाट कब्जामा लिएको ३८ वर्षपछि इजरायली सेना गाजाबाट एकतर्फी हटेको थियो । त्यस क्षेत्रलाई उसले प्यालेस्टाइनलाई छाडिदिएको थियो । त्यसयता कयौं पटक इजरायल र प्यालेस्टाइनबीच द्वन्द्व चर्किंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भारतको राजधानी नयाँ दिल्लीमा जीआरएपी-४ लागू भएको छ। वायु प्रदूषणको मात्रा अत्यधिक बढेपछि जिआरपी-४ लागू गरिएको हो। यससँगै दिल्ली-एनसीआरमा इलेक्ट्रिक वा बीएस-६ डिजेलको गाडी र अति आवश्यक सामान ल्याउने ट्रकलाई मात्र प्रवेश अनुमति दिइनेछ। भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डले सोमबार विहान वायु प्रदूषणको सूचकांकलाई 'गम्भीर' श्रेणीमा राखेको थियो। विहान ८ बजे दिल्लीको आनन्द ...
— अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई बारुदी सुरुङहरू उपलब्ध गराउन सहमत भएका छन् । किभलाई अमेरिकी क्षेप्यास्त्रहरू प्रयोग गर्न अनुमति दिएको केही दिनभित्र बाइडेन बारुदी सुरुङहरू दिन सहमत भएका हुन् । युक्रेनले मंगलबार मात्रै रुसी भूमिमा अमेरिकामा निर्मित लामो दूरीको क्षेप्यास्त्रहरू प्रयोग गरेको थियो । रुसी अधिकारीहरूका अनुसार युक्रेनले अमेरिकामा निर्मित पाँचवटा क्षेप्यास्त्र प्रहार गरेको ...
: श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले नयाँ मन्त्रिमण्डल गठन गरेका छन्। गत हप्ता भएको मध्यावधि संसदीय निर्वाचनपछि बनेको नयाँ २२ सदस्यीय मन्त्रिमण्डलमा रक्षा र वित्त (अर्थ) मन्त्रालयको जिम्मेवारी आफ्नै मातहतमा राखेका हुन्। गत सेप्टेम्बरमा भएको राष्ट्रपतीय चुनावमा विजयी भएका वामपन्थी नेताले आफ्नो अन्तरिम मन्त्रिमण्डलका सहकर्मीहरू प्रधानमन्त्री हरिनी अमरासुरिया र विदेशमन्त्री विजिता हेराथले आफ्नो जिम्मेवारी सम्हाल्ने बताएका ...
— हङकङको एक अदालतले त्यहाँका प्रमुख लोकतन्त्रवादी नेता तथा कार्यकर्तालाई देशद्रोहको अभियोगमा १० वर्षसम्मको जेल सजाय सुनाएको छ । उनीहरूलाई राष्ट्रिय सुरक्षासम्बन्धी एक मुद्दामा यसअघि नै दोषी ठहर गरिएको थियो । सजाय पाउनेमा बेनी ताई र जोशुआ वङसहित ४५ जना लोकतन्त्र पक्षधर छन् । उनीहरू 'हङकङ-४७' समूहसँग आवद्ध छन् । अदालतले ताईलाई १० वर्ष र वोङलाई ...
— अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्चित 'परियोजना २०२५' नामक दस्तावेज लेख्न प्रमुख भूमिका निभाएका टेलिकम क्षेत्रका अधिवक्ता ब्रेन्डन कार अमेरिकाको संघीय सञ्चार आयोगको प्रमुख आयुक्त नियुक्त हुने भएका छन् । लामो समयदेखि सोही आयोग र अन्य निकायमा रहेर उनले ट्रम्पका सञ्चार र प्रविधि नीतिको चर्को वकालत गर्दै आएका थिए । कारको नियुक्तिले नवनिर्वाचित राष्ट्रपतिका अर्का ...