मुख्य समाचार
युरोप पुगेका नेपाली युवामा डिप्रेसनको समस्या बढ्दो
युरोप पुगेका नेपाली युवामा डिप्रेसनको समस्या बढ्दो

— जर्मनीको हेमवर्ग निवासी चितवनका जेनिस महर्जन नेपालबाट जर्मनीमा अध्ययन भिसामा आउँदा उनमा कुनै समस्या देखिएको थिएन । तर जर्मनी आइसकेपछि उनमा डिप्रेसन देखियो । उनले चिकित्सकको सल्लाहमा औषधि लिइरहेका थिए । एकदिन उनी औषधि लिन गएका थिए फार्मेसीमा ।

'अर्डर' गरेर मात्रै पाइने उक्त औषधि फार्मेसीले केही दिनमा मगाइदिने मिति दिएको थियो । औषधि नपाएर छटपटाइरहेको उनीनिकट व्यक्तिहरूले मेसो पाएका थिए ।

त्यही छटपटिएका बेला एकदिन दिउँसो तीन बजे 'ल म सुत्न जान्छु' भन्दै पत्नी गइन् । जेनिस भान्छामा कसैसित कुरा गरिरहेका थिए । केहीबेरपछि उनले भान्छाको झ्यालबाट हाम्फालेर ज्यान गुमाए । कसैले खबर गरेपछि केही मानिसहरूसहित आएका प्रहरीले ढोका फोरेर उठाउँदासम्म पत्नीलाई घटनाको जानकारी नै थिएन । प्रहरी आएर उनैले घचेटेको हो भन्ने आरोपमा पक्राउ गर्‍यो । दुई दिन थुन्यो । पत्नीलाई झन् ठूलो आघात भयो । यता भर्खर बिहे गरेको लोग्नेको ज्यान गएको छ अर्कोतिर आफू अपराधी घोषित गर्दै प्रहरीले पक्राउ गर्‍यो । उनको संलग्नता नदेखेपछि केही दिन थुनेर पत्नीलाई छोड्यो ।

यस्तै नवीन आचार्य, जर्मनीमा विद्यार्थी भिसामै थिए । पढाइ राम्रो भएपनि उनी जर्मनीमा कामको भारले नियमित कलेज जान पाएनन् । फेल भए । त्यसपछि गत नोभेम्बरमा पोर्चुगल गए । साँझ राम्रोसित सुतेका उनी बिहान ओछ्यानमै मृत भेटिए ।

'आचार्य त पढ्न एकदमै तगडा थिए । मसितै बसेका थिए केही समय । अरुले नपढे पनि यो केटोले पढ्छ भन्ने थियो । तर जर्मनीमा पास हुन नसकेपछि उनी पोर्चुगल गएका थिए । उनमा पनि डिप्रेसन थियो भन्ने बुझियो । उनले पनि उतै ज्यान फालेछन्,' जर्मनीको मुन्स्टरमा रेस्टुरेन्ट व्यवसाय गर्दै आएका सूर्य तिवारीले कान्तिपुरलाई सुनाए ।




म्युनिखस्थित क्लिनिकोम बोगेन हाउजिङ अस्पतालमा न्युरोलोजिस्ट डा. प्रवेश पौडेलले नवीनसँगै सन् २००९ तिर चिकित्सा विज्ञान अध्ययन गरेका थिए । यहाँ आएर हाइस्कुलमा पढे । त्यो पास गरे, तर मेडिसिनमा नवीनको नाम निस्किएन । त्यसपछि स्टुट्गार्ड सहरनजिकैको टुबिंगिङमा बायोटेक्नोलोजी पढ्न सुरु गरेका थिए । पढाइ सकिएकै थिएन, कामको चक्करमा म्युनिखतिर सरे। उनले पढाइ र काम एकसाथ लान सकेनन् । पढाइ छोडेर एउटा रेस्टुरेन्टको भान्छामा काम थाले ।

पढाइ बिग्रियो । कागज बिग्रियो । त्यसपछि २०१५–१६ मा नेपाल फर्किए । नेपालमै रेस्टुरेन्ट खोले । नेपालमा बिहे गरेर फेरि युरोपको कागज बनाउने चक्करमा उनी पोर्चुगल आए । जर्मनीको पढाइ, काम, युरोपको कागज बिग्रिनु, नेपाल गएर फेरि पोर्चुगल आउँदा पनि काम र घरपरिवारमा सन्तुलन नमिलेपछि उनले ज्यान फाले ।

जर्मनीमा अध्ययन भिसामा आएर ज्यान गुमाउनेमा जर्मनीको केमनिस्ट भन्ने ठाउँमा ज्यान गुमाएका विकास पोडर र जीवन पाण्डेलगायत अरु पनि छन् । तर यसरी ज्यान गुमाए पनि नेपालीहरूले ती घटनाहरूलाई गुपचुप राख्ने गरेका छन् ।

जर्मनीका नेपालीको भनाइमा नवीन आएको करिब १० वर्ष भइसकेको थियो । आठ वर्षमा चिकित्सक पढाइ सक्नुपर्नेमा उनले सकेका थिएनन् । विकास आएको भने तीन वर्ष मात्रै भएको थियो । उनले काम पाएका थिएनन् । निम्न मध्यमवर्गीय परिवारका नवीनसित आउनेहरू चिकित्सक बनेर काम गर्न थालिसकेका थिए तर उनी भने एक दशक पुग्दा पनि सफल भएका थिएनन् । उता निम्न वर्गको परिवार भएकाले खर्च थिएन । कामसमेत नपाएर रन्थनिएका थिए ।

जर्मनी र पोर्चुगलमा पुगेर ज्यान गुमाएका चार जनामध्ये तीन जनाका लागि जर्मनी निवासी नेपालीहरूले भित्रभित्रै चन्दा उठाएर शव नेपाल पठाए । जर्मनीबाट मृतकको शव नेपाल पुर्‍याउन करिब ६ हजार युरो लाग्छ । आत्महत्यामा परेर ज्यान गुमाउनेका लागि पोर्चुगल, फ्रान्स, क्रोएसियालगायतका अन्य देशमा पनि यसैगरी चन्दा संकलन गर्ने गरिएको छ ।

यसरी डिप्रेसनमा पुगेर ज्यान गुमाउने नेपालीहरूको संख्या पोर्चुगल, फ्रान्स, क्रोएसिया, स्विजरल्यान्डलगायत युरोपभर नै बढ्दो छ । डिप्रेसनकै कारण ज्यान गुमाउनेको संख्या पोर्चुगलमा पनि आधा दर्जनभन्दा बढी भइसकेको छ ।

तर, डिप्रेसनमा परेका नेपालीको संख्याबारे कसैलाई यकिन थाहा छैन । पछिल्लो समयमा सयौं नेपाली डिप्रेसनमा पुगेको र कतिपयलाई डिप्रेसनमा पुगेको जानकारीसमेत नभएको भनाइ नेपाली चिकित्सक र नेपाली समुदायका अभियन्ताहरूको छ ।

'कतिपयलाई त डिप्रेसन भनेको के हो । डिप्रेसनमा परेको हो कि होइन भन्ने ज्ञान पनि हुन्न । झन् दक्षिण एसियाली मुलक नागरिकमा त डिप्रेसनको उपचार हुन्छ भन्ने हेक्का पनि कम छ,' जर्मनीको म्युनिखस्थित क्लिनिकोम बोगेन हाउजिङ अस्पतालमा न्युरोलोजिस्ट डा. प्रवेश पौडेल भन्छन् ।

किन बढिरहेछ डिप्रेसन?

गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलका सचिव रवि अर्यालको भनाइमा युरोपमा ठूलो सपना बुनेर आउँछन् नेपाली । १५–२० लाखसम्म खर्च गरेर आएर महिनामै लाखौं कमाउने सपना देखेकाले मुस्किलले ७०–८० हजार कमाएर पनि धान्न मुस्किल भएपछि दबाबमा पर्न थाल्छन् र निराशा बढ्छ ।

कोरोनाकालमा क्रोएसियाबाहेक युरोपका सबैजसो देश लकडाउनमा थिए र आवतजावत बन्द थियो । कोरोनाकाल सक्किएलगत्तै युरोपका विभिन्न देशबाट नेपाली पोर्चुगल लागे । केही महिनाको अन्तरालमै ३० हजारभन्दा बढी ओइरिएपछि काम, कागज र डेराको समस्या पर्न थाल्यो । तिनीहरूमा निराशा उत्पन्न भयो । कतिपय कुलतमा समेत फसे । तिनमा झनै डिप्रेसन बढ्दै गयो ।

धेरै नेपालीलाई १२ देखि १८ लाख असुलेर दलालले पोर्चुगल ल्याउँछन् । खासमा कृषि कम्पनीले कामदार ल्याएबापत कुनै दस्तुर लिन्न । दलालहरूले कामको अनुभवप्राप्त नक्कली प्रमाणपत्र तयार गर्छन् र भिसा लगाएर ल्याउँछन् । प्रमाणपत्र भए पनि तिनलाई युरोपमा कामको ज्ञान हुन्न । केही दिनमै कम्पनीले काम राम्रो भएन भनेर निकालिदिन्छ । त्यसो भएपछि अर्को कम्पनीले पनि तत्कालै काम दिन्न । भाषाको ज्ञान हुन्न । हातमा पैसो हुन्न र त्यो व्यक्ति सडकमा पुग्छ ।

'मान्छे ल्याउने दलालसित गुनासो गरे 'तपाईंले कामै गर्नुहुन्न त के गर्ने ? काम गर्नुपर्दैन ? काम जान्या छु भनेर प्रमाणपत्र पेस गर्‍या होइन ?' भनेर हकार्छ । त्यो मानिस डिप्रेसनमा जान्छ, कोही पागल हुन्छ । कोही जाँड खाएर बाटोमा सुत्छ । कोही आत्महत्या गर्छ,' सन् २०१५ देखि पोर्चुगल बसेर कृषिमा काम गर्दै आएका जनप्रगतिशील मञ्च पोर्चुगलका अध्यक्ष पूर्णबहादुर विक भन्छन्, 'मानसिक रोगीहरू प्रशस्त छन् । सडकमा मागेर खानेहरू प्रशस्त छन् । नेपालीहरू टन्नै बेवारिसे छन् नि । काम छैन, बस्ने ठाउँ छैन, डिप्रेसन छ, पैसा छैन । रोडमा सुत्ने अवस्था छ पूरै ।'

युरोपमा हरेक देश र सहरपिच्छे समस्या केही फरक पनि छन् । जर्मनीको म्युनिख, फ्रान्सको पेरिस, स्विजरल्यान्डको जेनेभा, स्विडेनको स्टकहोम, नेदरल्यान्ड्सको हेहेग तथा आम्स्टर्डम जस्ता सहरमा बस्नेलाई कोठा पाउनै ठूलो समस्या छ। यी सहरमा भाडा महँगो छ । सम्बन्धित देशकै विद्यार्थी भए बाबुआमाको कागजात जमानी राखेर कोठा भाडामा लिन मिल्छ । तर, नेपाली विद्यार्थीलाई त्यो सुविधा हुन्न । कि त नेपालीको आफ्नै बैंक खाता हुनुपर्‍यो । त्यो बैंक खातामा पनि पैसा खासै हुन्न । त्यसैले विद्यार्थीलाई घर भाडामा दिन गाह्रो मान्छन् । होस्टेलको संख्या न्यून हुन्छ । तर जर्मनीको लाइफचिख जस्ता सहरमा डेराको समस्या नभए पनि काम पाउने समस्या छ ।

विद्यार्थीहरूले भोग्ने अर्को ठूलो समस्या भनेको भिसा बढाउने हो । विद्यार्थीलाई जहाँ पनि भिसा र वैधानिक कागज बनाउन पैसा हुन्न । जर्मनीमा पहिले ८ हजार युरो थियो अहिले त्यो पनि बढेको छ । युरोपका अधिकांश देशमा सुरुमा एक एक वर्ष वा दुई वर्षभन्दा बढी समयको भिसा दिन्न । कतै पूरै सात हजार युरो माग्छ त कतै काम गरेको कागज बुझाए अलि थोरै लिएर पनि भिसा बढाइदिन्छ । फ्र्यांकफर्ट त झन् यस्तो सहर हो भिसा बढाउन रातिदेखि गएर लाइनमा बस्नुपर्छ । भित्र गएर फेरि अर्को तनाव दिन्छन् ।

'भिसा बढाउनु भनेको विद्यार्थी जीवनमा तनाव नै हुन्छ । पैसा पुग्छ कि पुग्दैन भनेर पनि तनाव नै तनाव हुन्छ,' न्युरोलोजिस्ट डा. प्रवेश पौडेलले भने । विद्यार्थीका लागि सहज भनेको कसैले प्रायोजन (स्पोन्सर) गर्नु हो । त्यो भएमा विश्वविध्यालयले पढाइको कागज बाहेक अरु केही हेर्दैन, सजिलो हुन्छ । विद्यार्थीले सेमेस्टरपिच्छे पढाइ सक्नुपर्छ । पैसा पनि छैन भने त तनाव झन् दोब्बर हुन्छ । विश्वविद्यालयमा पढिरहेको कागज छैन भने भिसाको मिति सकिन्छ । पढ्न आएको मान्छे कामको कागज मात्रैले त भिसा बढ्दैन । कुनै सेमेस्टरमा अनुपस्थित भएमा त्यो पनि सोधेर तनाव दिन्छन् भिसा बढाउन जाँदा । जर्मन, फ्रान्सेली वा अन्य देशको स्थानीय भाषामै पढ्नुपर्ने हो भने भाषा पनि जान्नुपर्‍यो । त्यसले झन ठूलो तनाव दिन्छ ।

'विदेश आइसकेपछि भिसा बढाउने, कामको चक्कर, घरको ऋण, साथीभाइसित प्रत्यक्ष भेटघाटको अभाव। अझ घरमा बाबुआमाले पकाएको खाइरहेको बानी । यता आएर आफैंले गर्नुपर्छ । त्यसले दोब्बर हुन्छ तनाव,' डा. प्रवेश पौडेलले भने ।

नेपालीहरू मेहनती त हुन्छन् । तर तनाव लिनसक्ने क्षमता धेरैमा हुन्न । कि त दु:ख पाएर हुर्किनुपर्‍यो । धेरै युवायुवतीलाई बाबुआमाले गरिखा, पढ् भनेर पठाएका हुन्छन् । एक्लै लड्ने जुध्ने क्षमता विकास भएको हुन्न । कम उमेरका युवायुवती आउँछन् । आकांक्षा, सपना धेरै हुन्छन् तिनका। सामाजिक सञ्जालमा अरुले सुख पाएको, मोजमस्ती गरेको धेरै कुरा देखिन्छ । अरुसित तुलना गर्छन् । त्यसले पनि निराशा बढाइदिन्छ ।

'नेपालीको बानी फेरि नराम्रो के छ भने अरुसित तुलना गर्ने । फलानोले यस्तो प्रगति गरिसक्यो मेरो त भएन भन्ने । पढाइ, खानपान, घुमघाम साराको सारा तुलना गर्छन् त्यो पनि सामाजिक सन्जालमा अरुको देखेर । त्यसले तनाव दिनु स्वभाविक हो,' पौडेल सुनाउँछन् ।

विदेशमा संघर्षरत नेपालीहरु डिप्रेसनमा जानुको अर्को कारण नेपालमा रहेका परिवार पनि हुन् । परिवारले विदेश गएका अन्य नेपालीसित आफ्नाको कमाइ र अवस्थाको तुलना गरिदिन्छन् ।

कपिलवस्तुको शुद्दोधन गाउँ पालिका-३ स्थायी घर भएका सन्तोष क्षेत्री हाल पेरिसको आईसीटी कलेज अफ बिजनेसमा अध्ययनरत छन् । कामको अभाव, डेराको समस्या, र भाषाको कठिनाइ एकैपटक भोग्नुपर्दा युरोप आएका युवायुवतीमा डिप्रेसनको समस्या देखिएको बताउँछन् ।

'समस्याबाट कसरी पार लगाउने भनेर आत्तिएका हुन्छन् । सँगैको साथीले एक सर्को दिन्छ, तान्यो । आनन्द आउँछ । राहत महसुस हुन्छ । केहीबेर समस्या भुलिन्छ । यसो गर्दागर्दै बानी लाग्छ, पैसा पनि सकिन्छ, स्वास्थ्य पनि बिग्रिन्छ । अनेक कुलतमा लागेर बिग्रिएका धेरै विद्यार्थी देख्छु म । डिप्रेसनमा जाने अवस्था छ। तर नेपालमा आफ्ना अभिभावकलाई यो कुरा थाहै हुन्न,' सन्तोष क्षेत्री भन्छन् ।

फ्रान्स, जर्मनी, बेल्जियम, नेदरल्यान्ड्सलगायत युरोपेली मुलुकमा आउनेहरूको कम्तीमा १४-१५ लाख खर्च हुन्छ । पेपरका लागि संघर्ष गर्नुपर्‍यो । यताको पद्धति र भाषा-संस्कृति, कुनै इलम सिक्दा दुई-तीन वर्ष लाग्छ। त्यो तीन वर्षका बीचमा उता नेपालमा ऋण गरेर आएको पैसाको ब्याज बढ्दै जान्छ । 'यत्रो समय भयो गएको । पैसा खोइ कमाएको ? ब्याज बढ्यो, फलानाले यति कमायो,' भन्ने जस्ता कुरा गरेर मध्यमवर्गीय परिवारकाले दाबाब दिन थाल्छन् ।

'युरोप आउने सबै सम्पन्न हुँदैनन् । ऋण काढेर आएका धेरै हुन्छन् । ऋणको ब्याज बढ्दै गयो भन्ने हुन्छ । अरुले यति पठाए हाम्रोले पठाएन भनेर घरबाट गुनासो आउँछ । कोठा, काम, भिसालगायत यहाँको समस्या छँदै छ, घरतिरका अपेक्षालाई पनि पूरा गर्न नसक्दा मान्छे आत्तिन्छ, डिप्रेसनलगायतका स्वास्थ्य समस्यामा फस्छ,' सूर्य तिवारीले भने ।

त्यसो त, युरोप आउनेका आशा र महत्त्वाकांक्षा पनि बढेका हुन्छन् । वर्षौं दु:ख गरेर राम्रोसँग घरजम गरेकासित नयाँ आएकाले तुलना गर्न थाल्छन् । उनीहरुको जस्तै घुमफिर, घर, गाडी, भोजभतेर आफ्नो नहुँदा छिटो निराश बन्ने गरेका छन् ।

'पुरानाहरूले राम्रो लुगा लगाउने, घुम्ने, डुल्ने, गाडी चढ्ने गरिरहेका हुन्छन् । नयाँहरू संघर्षकै कालमा हुन्छन्, त्यो सफलता त हुन्न । पुरानाले मोज गरे, मेरो केही भएन भनेर पनि निराश हुन्छन्,' सूर्य तिवारीले भने ।

सामाजिक सञ्जालले गर्दा मानिसहरूलाई प्रत्यक्ष सम्पर्कमा आउनै नचाहनेसमेत बनाइदिएको छ । सामाजिक सञ्जालमा हेरेर भर्खर आएकाहरू पनि यहीँका मान्छे जस्तो हुन खोज्दा पनि समस्या निम्तिने गरेको छ । पहिले पुरानाहरू दशैं, तिहार, तिज, फुटबल खेल्दा आउँथे, घुलमिल, बातचित हुन्थ्यो । अहिले मोबाइलमै सबै थोक पाइन्छ भनेर सम्पर्कमै आउँदैनन् । भेटघाट नभएपछि सम्पर्क गर्ने ठाउँ पाउँदैनन् । ती बोल्नै डर मान्ने र लजाएर तर्किने गरेको भनाइ नेपालीहरूको छ ।

'एक्लिएपछि समस्या पर्दा समाधान गरिदिने कोही हुन्न र ती डिप्रेसनमा जान्छन् । अहिलेका युवायुवतीले त पुराना मान्छे पढेलेखेका हुन्नन्, केही जान्दैनन् भन्ने सोचाइले पनि पुरानादेखि तर्किन्छन् । आफ्नो समस्या किन अर्कालाई सुनाउने भनेर पनि गुम्स्याएर राख्छन् । त्यसो गर्दा ती एक्लिन्छन् र आफैं डिप्रेसनको सिकार बन्छन्,' तिवारीले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा दक्षिण कोरियाले ६ नेपालीलाई निष्काशन (डीपोर्ट) गरेको छ। दक्षिण कोरियाको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई नेपाल 'डीपोर्ट' गरिएको स्रोतले बताएको छ। स्रोतका अनुसार निष्काशन गरिनेहरूमा लक्ष्मण महत, दिलु राना मगर, सुरज भट्टराई, वीरबहादुर मल्ल, आशिष थापा र विशाल मुकारुङ रहेका छन्। उनीहरूलाई शुक्रबार र शनिबार गरी नेपाल फिर्ता पठाइएको ...
: उत्तर अमेरिकी देश कोस्टारिकाले ८ जना नेपालीको भिसा रद्द गरिदिएको छ। भिसा रद्द गरिदिएपछि कोस्टारिका पुगेका उनीहरू शनिबार काठमाडौं फर्किएका छन्। फर्किनेहरूमा आशिष माझी, बुद्धिलाल माझी, चन्द्रबहादुर थापा मगर, गणेश बहादुर थापा मागर, आकाश जिसी, अशोक ढकाल, अम्बिरकुमार ढकाल र दिनेश प्रसाद अधिकारी रहेको स्रोतले जनाएको छ। दिनेश कतार एयरलायन्सको विमानबाट फर्किएका हुन् भने बाँकी ७ ...
: अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा अमेरिकी सरकारले दुई नेपालीलाई निष्काशन गरेको छ। स्रोतका अनुसार विनोद कार्की र उमा थापा कार्कीलाई अमेरिकी सरकारले निष्काशन गरेको हो। भिसाको म्याद सकिएपछि पनि अमेरिकामै बसिरहेका विनोदलाई अमेरिकाले एयर इन्डियाको विमानबाट काठमाडौं फर्काएको हो। उमालाई भने क्याथे प्यासेफिकको विमानबाट फर्काइएको थियो। 'विनोद कार्कीले 'ओभर स्टे' गरेका कारण निष्काशन गरेको खुलाइए ...
— रुसी अदालतले स्थानीय श्रम कार्यालयबाट श्रम इजाजत (लेवर परमिट) बिना काम गर्ने ३४ जना नेपाली विद्यार्थीलाई डिपोर्ट (देश निकाला) गर्न आदेश दिएको छ । ती विद्यार्थीहरुलाई डिपोर्टेशन सेन्टरमा नेपाल पठाउन राखिएको छ । विद्यार्थी भिसामा रुस पुगेका ती विद्यार्थीहरुले विश्वविद्यालयको सहमति र श्रम इजाजतबिना काम गरेको भन्दै डिपोर्ट गर्ने फैसला सुनाइएको हो । उनीहरुलाई गत कार्तिक ...
: मलेसियाले वैदेशिक रोजगारमा गएका १२ जना नेपालीलाई निष्कासन गरेको छ। अध्यागमन कानुन उल्लंघन गरेको भन्दै मलेसियाले उनीहरूलाई निष्कासन गरेको हो। अध्यागमन विभागका अनुसार उनीहरू बिहीबार काठमाडौं आइपुगेका हुन्। 'मलेसियाले डीपोर्ट गरेका उनीहरू बिहीबार काठमाडौं आइपुगेका छन्। अध्यागमन कानुन उल्लंघन गरेको भन्ने छ। तर, कुन कानुन भन्ने कुरा स्पष्ट खुलाइएको छैन,' अध्यागमन विभाग स्रोतले अन्नपूर्णसँग भने। निष्कासनमा ...