— भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०३६ को ओलम्पिक आयोजनाका लागि आफ्नो देशले दाबी पेस गर्ने निश्चित भएको शनिबार बताएका छन् ।
भारत ओलम्पिकको आयोजना गर्ने एसियाको चौथो देश हुन चाहन्छ । विश्वको सबैभन्दा बढी जनसंख्या भएको देशमा अहिले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) को बैठक चलिरहेको छ ।
सन् २०२८ मा अमेरिकाका लस एन्जलसमा हुने ओलम्पिक्समा क्रिकेट पनि समावेश गर्ने निर्णय भइसकेको छ र यो खेल भारतमा सर्वाधिक लोकप्रिय छ । बैठकको औपचारिक रूपमा उद्घाटन गर्ने क्रममा सन् २०३६ को ओलम्पिक आयोजना गर्ने दाबी पेस गर्ने बताए र यो एक अर्ब ४० करोड भारतीय जनताको सपना रहेको पनि दाबी गरे ।
प्रधानमन्त्री मोदीले भने, ‘सन् २०३६ को ओलम्पिक आयोजनाको दाबी मजबुत बनाउन भारतले सबै खाले प्रयास गर्नेछ ।’ मोदीले भारतको कुन सहरले ओलम्पिक आयोजनाको दाबी पेस गर्ने हो, त्यो भने खुलाएका छैनन् । तर भारतीय मिडियामा आएको समाचार अनुसार गुजरातको राजधानी अहमदावाद ओलम्पिक आयोजनाको दाबी गर्ने सहर रहेको छ ।