नेतान्याहुको राजीनामा माग्दै प्रदर्शन
नेतान्याहुको राजीनामा माग्दै प्रदर्शन

— एक साताअघि प्यालेस्टाइनको विद्रोही समूह हमासको आक्रमणमा बेपत्ता र बन्दी भएका इजरायलीको परिवारले सरकार तथा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको विरोधमा प्रदर्शन गरेका छन् । तेल अभिभमा प्रदर्शन गर्दै उनीहरूले गाजा क्षेत्रमा बन्धक बनाइएका इजरायलीको उद्धारमा सरकारले बेवास्ता गरेको बताएका हुन् । प्रदर्शनकारीले प्रधानमन्त्री नेतान्याहुको राजीनामा पनि माग गरेका छन् ।

हमासको आक्रमणबाट गत शनिबारसम्म १४ सय इजरायलीको ज्यान गएको छ । हमासले १५० जनालाई बन्धक पनि बनाएको अनुमान गरिएको छ । तर, इजरायल सरकारले भने ‘शत्रु पक्ष’ सँग वार्ता नगर्ने जनाएको छ । गत शनिबार इजरायलको राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख तजाची हनेग्बीले ‘इजरायलले आफ्नो शत्रुसँग वार्ता नगर्ने र उनीहरूको पत्तासाफ गरिछाड्ने कसम खाएको’ बताएका थिए । त्यसपछि पीडित परिवारले जारी गरेको एक वक्तव्यमा अपहरणमा परेका नागरिकको उद्धारमा सरकारले बेवास्ता गरेको भन्दै आलोचना गरिएको थियो ।



समाचार संस्था टाइम्स अफ इजरायलका अनुसार शनिबार रक्षा मन्त्रालयअघि एकत्रित भएका प्रदर्शनकारीले प्रधानमन्त्री नेतान्याहुविरुद्ध नारा लगाएका थए । उनीहरूले ‘बन्धकमा परेकालाई छिटो फिर्ता गर’, ‘विश्वास छैन, राजीनामा देऊ’ जस्ता नारा लेखिएका प्लेकार्ड लिएर प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा सहभागी ६२ वर्षीया मोनिका लेभी जसले आफ्नो परिवारको सदस्य २५ वर्षीय मपाल एडमलाई यस युद्धमा गुमाएकी छन्, उनले प्रधानमन्त्री नेतान्याहुलाई आफ्नै राजनीति प्यारो भएको र पीडितको कुनै वास्ता नभएको आरोप लगाइन् ।

इजरायल र हमासबीच जारी द्वन्द्वमा मर्नेको संख्या बढ्दै जाँदा प्यालेस्टाइनको पक्षमा विश्वका विभिन्न देशमा प्रदर्शन भएको छ । शनिबार अमेरिकाको वासिङ्टन डीसीमा हजारौं समर्थकले ‘फ्रि प्यालेस्टाइन’को नारा लगाउँदै प्रदर्शन गरेका थिए । अमेरिकाका अन्य राज्यमा पनि प्यालेस्टाइनको पक्षमा प्रदर्शन भएको छ । यस्तै, बेलायतको लन्डनलगायत विभिन्न स्थान, स्कटल्यान्डमा पनि प्रहरीको चेतावनीबीच प्यालेस्टाइनको पक्षमा प्रदर्शन भएको थियो । यस्तै, स्विट्जरल्यान्ड, आयरल्यान्ड, फ्रान्स, इटाली, अस्ट्रेलिया र मोरक्कोलगायत देशमा पनि प्यालेस्टाइनको पक्षमा समर्थकले जुलुस, र्‍याली आयोजना गरेका छन् ।

यही अक्टोबर ७ मा हमासले गाजाको सीमा क्षेत्रमा रहेका इजरायली भूभागमा आक्रमण गरेको थियो । त्यसक्रममा हमासले इजरायली नागरिक तथा सैनिकलाई बन्धक बनाएको हो । हमासले पनि हालको द्वन्द्व नसकिएसम्म बन्धकमा रहेकालाई छोड्ने कुनै वार्ता नगर्ने बताएको छ । हमासको आक्रमणपछि इजरायलले पनि उत्तरी गाजा क्षेत्रमा निरन्तर मिसाइल आक्रमण गरेको छ । यसक्रममा २ हजार ४ सय ५० जनाको मृत्यु भएको प्यालेस्टाइनी अधिकारीले जनाएका छन् ।

यसैबीच, इजरायलले अब हवाईसँगै जमिन र सामुद्रिक रूपमा पनि आक्रमण गर्ने जनाएको छ । इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले एक वक्तव्य जारी गर्दै गाजामा अन्य माध्यमबाट पनि आक्रमण गर्ने जनाएको हो । आक्रमणका लागि आईडीएफका सैनिक गाजाको सीमा क्षेत्रमा पुगेका छन् ।

इजरायलको नाकाबन्दी र आक्रमणका कारण उत्तरी गाजाको जनजीवन कष्टपूर्ण बनेको छ । इजरायलले गत सोमबारदेखि नाकाबन्दी गर्दा गाजामा खानेपानी, विद्युत्, इन्धन तथा खाद्यान्नको चरम अभाव भएको छ । यस क्षेत्रमा बसोबास गर्ने करिब ११ लाख स्थानीयलाई इजरायलले दक्षिण क्षेत्रमा जान निर्देशन पनि दिएको थियो ।

प्यालेस्टाइन राहतको क्षेत्रमा काम गरिरहेको राष्ट्रसंघीय संस्था यूएनआरडब्लूएका निर्देशक जुलियट टौमाले द्वन्द्वका कारण एक सातामा १० लाख प्यालेस्टाइनी नागरिक विस्थापित भएको समाचार संस्था एएफपीलाई बताएका छन् । गाजाका ५ वटा प्रान्त उत्तरी गाजा, गाजा सिटी, दिर अल–बलाह, खान युनिस र राफाहमा गरी २३ लाख जनसंख्या रहेको अनुमान गरिएको छ । इजरायल र इजिप्टको सीमा रहेको यो क्षेत्र ३ सय ६५ वर्गकिलोमिटरमा फैलिएको छ ।

यसैबीच, इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहिनले इजरायल गाजा क्षेत्रमा प्रवेश गरे त्यसको दूरगामी असर पर्न सक्ने चेतावनी दिएका छन् । यस्तो अवस्था आउन नदिन संयुक्त राष्ट्रसंघ, सुरक्षा परिषद्लगायत जिम्मेवार हुनुपर्ने इरानको भनाइ छ । इजरायल अमेरिकाको कठपुतली रहेको आरोप लगाउँदै हुसेनले अहिले अमेरिका सहयोगका लागि अघि आएको तर युद्ध बढेमा त्यसको असर उसले पनि भोग्नुपर्ने बताए ।

समाचार संस्था रोयटर्सका अनुसार हमासमा नेता इस्माइल हानियाले कतारमा इरानका विदेशमन्त्री हुसेनसँग भेटवार्ता गरेका छन् । वार्तामा मन्त्री हुसेनले हमासले गरेको आक्रमणको प्रशंसा गरेको र आगामी दिनमा सहयोग जारी राख्ने बताएको रोयटर्सले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

यस्तै, चीन र अमेरिकी अधिकारबीच इजरायल–हमास द्वन्द्वबारे छलफल भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनबीच उक्त समस्या सुल्झाउन शनिबार कुराकानी भएको चिनियाँ विदेश मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ । चीनले समस्या सुल्झाउन छिट्टै अन्तर्राष्ट्रिय शान्ति सम्मेलन बोलाउन पनि अपिल गरेको छ । इजरायल–हमासबीच संघर्ष बढेपछि अमेरिकी विदेशमन्त्री ब्लिंकन हाल मध्यपूर्वका देशमा छन् । यस्तै, इजरायलको उत्तरी सीमामा इजरायल र लेबनानमा सक्रिय विद्रोही समूह हिज्बुल्लाहबीच तनाव बढेको छ । बीबीसीका अनुसार लेबनानबाट भएको मिसाइल आक्रमणमा परी एक इजरायलीको मृत्यु भएको छ । हिज्बुल्लाहले आफूले इजरायलतर्फ मिसाइल आक्रमण गरेको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। लेबनानमा कम्युनिकेसन डिभाइस पेजर र वाकीटकी मार्फत श्रृंखलाबद्ध विस्फोट भएको छ । स्वास्थ्यमन्त्री फिरास अबैदले बताएअनुसार मंगलबार र बुधबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३७ पुगेको छ । मंगलबार लेबनानका साथै सिरियाका कयौं क्षेत्रमा लडाकु समूह हिज्बुल्लाहका सदस्यहरुले प्रयोग गर्ने सयौं पेजरमा लगभग एकै समयमा बिस्फोट भयो । बिस्फोटमा परी १२ जनाको मृत्यु भयो ...
। दक्षिण अमेरिकी राष्ट्र जिम्बाबे पछिल्लो चार दशकदेखि भयानक खडेरीबाट गुज्रिरहेको छ । त्यहाँ कृषि उत्पादन चौपट भएको छ र खाद्यान्नको अभावमा भोकमरी चरम बनिरहेको छ । मानिसहरुसँग खानका लागि केही पनि बाँकी छैन । यस्तोमा खडेरीका कारण फैलिरहेको भोकमरीको समस्या समाधानका लागि जिम्बाबे सरकारले एउटा कठोर निर्णय लिएको छ । जसअनुसार त्यहाँका २ सय जंगली ...
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...