मुख्य समाचार
स्वस्थ खसीलाई हरियो, रोगीलाई रातो रङ
स्वस्थ खसीलाई हरियो, रोगीलाई रातो रङ

— दसैं जति नजिकिँदै छ, खसीबोका, च्यांग्राको माग उत्तिकै बढेको छ । यही अवस्थालाई हेरेर व्यवसायीले जिल्ला–जिल्लामा खसीबोका र च्यांग्रा खोज्न थालेका छन् । केहीले उपत्यका भित्र्याउन सुरु नै गरिसकेका छन् । केही व्यवसायीले भारतबाट पनि आयात गर्न थालेका छन् ।

यसरी उपत्यकामा हजारौंको संख्यामा खसीबोका र च्यांग्रा भित्र्याउँदा अस्वस्थ पनि आउने सम्भावना उत्तिकै रहन्छ । यही अवस्थालाई दृष्टिगत गरी पशु सेवा विभागले स्वस्थ खसीको सिङमा हरियो र रोगीकोमा रातो रङ लगाउने भएको छ ।

विभागले उपत्यकाका ११ स्थान र आसपासका बजारमा पशु चिकित्सकको टोली परिचालन गरी खसी, च्यांग्रा, राँगालगायत पशुबस्तुको परीक्षण गरी रङ लगाउने भएको हो । ‘चाडबाडमा लामो दूरीबाट ढुवानी हुँदा पशु बिरामी पर्ने सम्भावना रहन्छ । बाटोमा बिरामी भएको अवस्थामा रोग फैलिन सक्छ,’ पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले भने, ‘रोग फैलिन नदिन विभिन्न नाका र आसपासका बजारमा स्वास्थ्य टोली परिचालन गरेर रोगी, निरोगी पहिचान गर्नेछौं । सोही आधारमा हरियो र रातो रङ लगाउँछौं ।’

खसीबोकाको बाहिरी रूपमा देखिने रोगका लक्षण, मुटुको ढुकढुकी र शंका लागे रगतको नमुनाका आधारमा अध्ययन गरी सिङमा हरियो र रातो चिह्न लगाइने जानकार बताउँछन् । आवश्यक परीक्षणसँगै स्वस्थ र अस्वस्थ खसीको वर्गीकरण गरी बिक्रीका लागि अनुमति दिइने पनि ढकालले जनाए ।

खसीबोकाको नाक, मुखबाट सिँगान र र्‍याल बगेको, पातलो दिसा बगेको, चोटपटक लागेर संक्रमण रोगबाट कानमा घाउ भएको वा रगत बगेको लगायत निरीक्षण गरिने उनको भनाइ छ । शरीरको तापक्रम, गिँजा र खुट्टाको खुरमा घाउ, आँखामा चिप्रा र राता आँखा, घरीघरी आकाशतर्फ फर्केर घुम्दै कराउने र लड्नेजस्ता लक्षणको पहिचान गरिने उनले बताए । ‘पशु चौपायाको फिजिकल परीक्षण हुन्छ । बिरामी खसी, च्यांग्रा झुम्म परेर बस्ने, नाक, मुखबाट पानी बग्ने, आँखामा चिप्रालगायत खोट देखिए आइसोलेट गरिन्छ । तापक्रम परीक्षण हुन्छ । आवश्यक परे रगत, पिसाबको पनि नमुना संकलन गर्छौं,’ नेपाल भेटेरिनरी एसोसिएसनका महासचिव केदार सुवेदीले भने, ‘घाउ, चोटपटक लागेको र तत्काल बिक्री गर्न नमिल्ने हकमा रातो रङ लगाइन्छ ।’

मापदण्डअनुसार क्रोनिक फेजमा खसीबोका र च्यांग्रा बिक्रीवितरण नगर्न पनि निर्देशन दिइने उनले बताए । चाडबाडमा स्वास्थ्य परीक्षण अत्यावश्यक रहेको पनि उनले जनाए । विभागका अनुसार पशु स्वास्थ्य परीक्षण तथा नाका अनुगमनका लागि असोज २८ देखि कात्तिक ६ सम्म परीक्षण गरिनेछ । नौ दिनसम्म गरिने परीक्षणमा कलंकीको खसी बजार, बल्खु–कालीमाटीको माछा बजार, चोभार नाका, चाल्नाखेलको राँगा बजार, टुकुचाको खसी बजार र खाद्य संस्थान, लोकन्थलीको खसी बजार अनि सल्लाघारीको च्यांग्रा बजारमा टोली खटाइनेछ ।

बालाजु बाइपास नाका, लगनखेल, धापाखेल, अकासे धारा/सुकेधारा र चन्द्रागिरि (थानकोट) दाउरा डिपो, दहचोक र मूलपानी चौरका खसी बजारमा होल्डिङ तथा संकलन भएका पशुपन्छीको स्वास्थ्य परीक्षण गरिने विभागका महानिर्देशक उमेश दाहालको भनाइ छ । ‘पशुको खरिदबिक्री हुने स्थानमा पशु स्वास्थ्यकर्मी परिचालन गरी क्लिनिकल परीक्षण हुन्छ । स्वस्थ पशुलाई हरियो र रोगी पशुलाई रातो रङले संकेत गर्ने व्यवस्था मिलाउँछौं,’ उनले भने, ‘रोगी पशुको उपचारको व्यवस्था गर्ने, आवश्यकताअनुसार रोग निदानका लागि सूचना संकलन र परीक्षण गर्ने कार्यक्रम छ ।’

गत वर्ष दसैं–तिहारमा घटस्थापनादेखि महानवमीको अवधिमा करिब ५४ हजार जिउँदा पशु काठमाडौंमा भित्रिएको थियो । तीमध्ये खसीबोका ५१ हजार, च्यांग्रा २ हजार ५ सय र राँगा ५ सय भित्रिएको थियो । यस वर्ष पनि व्यवसायीले ५० हजारभन्दा बढी खसीबोका भित्र्याउने जनाएका छन् । सरकारी संस्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २ हजार खसी र १ हजार च्यांग्रा ल्याउने बताएको छ ।

विगतजस्तै यसपालि पनि हेटौंडा, दाङ, धादिङ, मकवानपुरलगायत जिल्लाबाट किन्ने योजना रहेको खाद्यले जनाएको छ । व्यवसायीले भने भारतबाट समेत आयात गर्छन् । लामो दूरीबाट आयात गर्दा चोटपटक लाग्ने, बिरामी पर्ने सम्भावना रहन्छ । त्यसका लागि स्वास्थ्य परीक्षण आवश्यक रहेको जनाएको छ । ‘सामान्यतया कसैले पनि बिरामी नै परेको खसी ल्याउँदैनन् । जाँचेर ल्याउने हो, प्रमाणपत्र नभए प्रहरीले रोक्छ । तर ढुवानीको क्रममा बिरामी पर्न सक्छन् । त्यसका लागि परीक्षण गरिने हो,’ विभागका सूचना अधिकारी ढकालले भने, ‘विज्ञले रातो रङ लगाइदिनेबित्तिकै उपभोक्ताले किन्दैनन् ।’

विभागले उपत्यकालगायत प्रमुख सहर–बजारमा आपूर्ति हुने पशुबस्तुको स्वास्थ्य परीक्षण ढुवानीका क्रममा पशु कल्याणका मापदण्ड पूरा गरे/नगरेको पनि जाँच गर्ने जनाएको छ । बजारमा पशुजन्य तथा मत्स्यजन्य उत्पादनको गुणस्तर परीक्षणका लागि नमुना संकलन र परीक्षण गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कन्टेनरको उचित व्यवस्थापन नहुँदा सिर्सिया सुक्खा बन्दरगाहमा फेरि कन्टेनरको चाङ लागेको छ । हाल बन्दरगाह परिसर खाली र मालवाहक कन्टेनरले भरिएको छ । बिहीबार बन्दरगाह परिसरमा १ हजार ७ सय ६५ खाली र ९ सय ९० मालबाहक समेत गरी २ हजार ७ सय ५५ कन्टेनर रहेका छन् । इन्टरमोडल यातायात विकास समिति वीरगन्जका प्रमुख ...
— एसियाली विकास बैंक (एडीबी) ले विभिन्न तीन परियोजना कार्यान्वयन गर्न १ खर्ब ५ अर्ब ६१ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । सहायता रकममध्ये ६ अर्ब ५२ करोड रुपैयाँ अनुदान हो भने बाँकी रकम सहुलियतपूर्ण ऋण हो । दोस्रो चरणको काठमाडौं उपत्यका खानेपानी आपूर्ति सुधार परियोजना, दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) विद्युत् प्रसारण तथा वितरण सुदृढीकरण ...
: उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वदेशी र विदेशी निजी लगानीलाई वृद्धि गर्न आवश्यक रहेको बताएका छन्। थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्त सम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकको समापनमा अध्यक्षका हैसियतले सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले एसिया र प्रशान्त क्षेत्रमा सार्वजनिक पूँजीले मात्र वित्तीय आवश्यकता पूरा गर्न नसक्ने भएकाले निजी ...
— नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नौ अर्ब ११ करोड ३२ लाख बराबरको नाफा कमाएको छ । यो करकट्टी गर्नुअघिको नाफा हो । चालु आवको साउनदेखि असोज मसान्तसम्म ब्याज तथा अन्य आम्दानी समेत कूल आम्दानी ४१ अर्ब ८० करोड ६८ लाख रहेको छ । यस्तै ३२ अर्ब ६९ करोड ३६ लाख बराबरको ...
: विकास साझेदारबाट लगानीको प्रत्याभूति नहुँदा माथिल्लो अरुण जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन प्रभावित भएको छ। १०६३ मेगावाटको अर्धजलाशययुक्त आयोजनामा विश्व बैंकको नेतृत्वमा एसियाली विकास बैंक (एडीबी), जाइका लगायतका साझेदार निकायले लगानी गर्ने भन्ने थियो। तर, सन् २०२४ को अक्टोबरमा गर्ने भनेको वित्तीय व्यवस्थापन अहिलेसम्म हुन सकेको छैन। आयोजनाको लगानी भूराजनीतिक कारणले अनीर्णित बनेको स्रोत बताउँछ। ...