— पश्चिमी अफ्रिकी देश निजेरबाट फ्रान्सका सेना फिर्ता हुन थालेका छन् । निजेरमा क्याम्प बनाएर बसेका फ्रान्सेली सेनाको पहिलो समूह निजेरबाट अर्को अफ्रिकी देश चाडतर्फ लागेको राजधानी नियामीका अधिकारीले जानकारी दिएका छन् ।
फ्रान्सेली सेनाको सामग्री बोकेका ट्रक गत मंगलबार नियामीबाट बाहिरिएका हुन् । गत जुलाईमा यहाँ सेनाले निर्वाचित राष्ट्रपति मोहम्मद बाजौमलाई अपदस्थ गर्दै सत्ता कब्जामा लिएको थियो । त्यसयता फ्रान्सेली सैनिक फिर्ताको माग गर्दै नियामीमा प्रदर्शन भएका थिए भने स्थानीयले क्याम्पअघि नाराबाजी र फ्रान्स दूतावासमा तोडफोड पनि गरेका थिए । सैन्य सरकारले पनि फ्रान्सेली अधिकारी तथा सेनालाई फिर्ता हुन आग्रह गरेको थियो ।
यसअघिको सरकारको पालामा निजेरमा १ हजार ५ सय फ्रान्सेली सैनिकले क्याम्प खडा गरेका थिए । तर, सेनाको सरकारले उनीहरूलाई आफ्नो देशबाट हट्न दबाब दिँदै आएको थियो । राज्य नियन्त्रित टेलिभिजनमा निजेरका सैन्य अधिकारीले एक सन्देश जारी गर्दै सडक मार्गमार्फत बाहिरिन थालेका फ्रान्सेली सेनामाथि कुनै अप्रिय गतिविधि नगर्न आग्रह गरेको छ । ‘उल्लामस्थित फ्रान्सेली सेनाले आफ्नो क्याम्प छाडेका छन् । हाम्रो सुरक्षा र सैन्य सहयोगमा फ्रान्सेली सेनाको पहिलो समूहको फिर्ती चाडतर्फको दिशामा अघि बढेको छ,’ सेनाले भनेको छ ।
निजेरमा गत जुलाई २६ मा सेनाले ‘कु’ गरेको थियो । गत सेप्टेम्बरमा फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोंले सेना फिर्ता गर्नेबारे पुष्टि गरेका थिए । नियामीमा १ हजार फ्रान्सेली सेना थिए भने बाँकी विद्रोही गतिविधि हुने माली र बुर्किना फासोको सीमा क्षेत्रमा तैनाथ थिए । निजेरको सैन्य शासकले फ्रान्सेली सेनाको फिर्क्ध्ता पूर्ण सुरक्षित हुने प्रतिबद्धता गरेको छ । अपदस्थ राष्ट्रपति बाजौमले मालीबाट निकालिएका फ्रान्सका सैन्य बललाई आफ्नो देशमा तैनाथ गर्न पनि स्वीकृति दिएका थिए, जसको विरोध नागरिकस्तरबाट हुँदै आएको थियो ।
अमेरिकाले पनि गत मंगलबार निजेरमा निर्वाचित राष्ट्रपतिलाई सैन्य ‘कु’ बाट हटाइएको आधिकारिक रूपमा घोषणा गरेको छ, जसका कारण त्यहाँ अमेरिकी सहायता रोकिएको छ । पछिल्ला दुई महिनामा निजेरमा संवैधानिक व्यवस्था कायमै राख्न गरिएका प्रयास असफल भएपछि यस्तो घोषणा गरिएको अमेरिकी अधिकारीले बताएका छन् । अमेरिकी विदेशी विभागका प्रवक्ता म्याथ्यु मिलरले अगस्टमा अस्थायी रूपमा रोकिएको २ अर्ब अमेरिकी डलर सहायता अब आधिकारिक रूपमा स्थगित भएको छ । लोकतान्त्रिक शासनको सुरुवातका लागि आवश्यक कारबाही सुरु भएमा मात्र सहायता पुनः दिन थालिने उनको भनाइ थियो ।
यसअघि निजेरमा ‘कु’ पछि आएको सेनाको सरकारलाई फ्रान्सले मान्यता दिन र निजेरबाट बाहिरिन अस्वीकार गरेको थियो । जसका कारण निजेरको सैन्य नेतृत्वले पनि फ्रान्सेली अधिकारी र सेनालाई देशबाट फिर्ता जान दबाब दिँदै आएको थियो । यसअघि निजेरका सेना प्रमुखले तीन वर्षपछि मात्र देशमा नागरिक शासन फिर्ता गर्ने प्रस्ताव राखेका थिए । अफ्रिकी क्षेत्रीय संगठन इकोवासका पदाधिकारीसँगको छलफलपछि सेना प्रमुख अब्दुर्रहमान चियानीले नागरिक शासन पुनर्बहाली गर्ने समयसीमा तोके पनि यसबारे थप विवरण खुलाएका छैनन् । पश्चिम अफ्रिकाका बुर्किना फासो, गिनी, माली र चाडपछि निजेरमा पनि सैन्य शासन लागू भएको हो । यी सबै देश कुनै बेला फ्रान्सको उपनिवेश थिए भने पछिल्लो समयसम्म यहाँ उसैको दबदबा थियो ।
सेनाले सत्ता कब्जा गर्न थालेपछि भने यी देशमा फ्रान्सलगायत पश्चिमा मुलुक र अमेरिकाको पकड कमजोर बन्दै गएको छ भने रुसको प्रभाव बढिरहेको छ । विशेषगरी रुसको निजी सैन्य समूह वाग्नरले अफ्रिकामा आफ्नो प्रभाव बढाइरहेको छ । निजेर तथा आसपासका देशमा इस्लामिक समूहको आक्रमण बढ्दो छ । अन्य देशका सैन्य शासनले पनि असुरक्षाको कारण देखाउँदै सत्ता कब्जा गरेका थिए । अहिले निजेरमा पनि सेनाले त्यही कारणलाई आफ्नो हतियार बनाएको छ ।
जिहादी समूहको आक्रमण रोक्न पर्याप्त काम नगरेको आरोप उनीहरूले आफ्ना सहयोगी देश फ्रान्सलाई लगाएका छन् । देशको बिग्रँदो सुरक्षा अवस्था, खराब सामाजिक, आर्थिक स्थितिका कारण सत्ता कब्जा गर्नुपरेको निजेरको सेनाले दाबी गर्दै आएको छ । अर्कोतर्फ देशभर फ्रान्सविरोधी भावना बढ्दै जाँदा पनि सेनालाई ‘कु’ गर्न बल मिलेको हो ।