— प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणपछि बेपत्ता कञ्चनपुरका विपिन जोशीको अवस्था अझै अज्ञात छ । असोज २० मा हमासले गरेको आक्रमणमा १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए । किबुज अलुमिमबाट विपिनलाई विद्रोही समूहले आफूसँगै लगेको थियो ।
हमास विद्रोहीले अपहरण गरी बन्धक बनाइएकाको संख्या १ सय १९ जना रहेको इजरायली सेनाले बताएको छ । गाजापट्टीमा राखिएका उनीहरू इजरायली र विदेशी नागरिक छन् । इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले हमासद्वारा बन्धक बनाइएकालाई राखिएको स्थानबारे आफूहरूलाई जानकारी भएको समेत जनाएको छ । ‘हामी गाजामा बन्धक बनाई राखिएको स्थानलाई थप यकिन गर्न निकै मिहिनेत गरिरहेका छौं । हामीसँग यसबारे केही सूचना छ,’ आईडीएफका प्रवक्ता रियर एडमिरल डेनियल हगारीले सोमबार पत्रकार सम्मेलनमा भने, ‘हामी नागरिकलाई खतरा हुने खालको आक्रमण गर्ने छैनौं ।’
सेनाका अनुसार बन्धक बनाइएकाहरूमा बच्चा र विशेष हेरचाह गर्नुपर्ने वृद्धवृद्धासमेत छन् । गाजापट्टीसँग जोडिएको दक्षिण इजरायलको सेदोतलगायत स्थानबाट उनीहरूलाई अपहरण गरिएको थियो । हमासले भने आफ्नो नियन्त्रणमा ३० जना मात्रै रहेको दाबी गर्दै आएको छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई बन्धक बनाइएकालाई मुक्त गर्न पीडित परिवारका सदस्यले दबाब दिइरहेका छन् ।
पीडित परिवारसँग आइतबार गरिएको भेटमा प्रधानमन्त्री नेतन्याहुले छिट्टै मुक्त हुने विश्वास दिलाएका थिए । यो लडाइँको उद्देश्य भनेको बन्धक भएकालाई मुक्त गर्ने र हराएकाहरूको वास्तविकता पनि सार्वजनिक गर्नु रहेको उनले पीडित परिवारलाई बताएका थिए । उनले अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको ९० मिनेट कुराकानीमा बन्धक बनाइएकाको विषयमा छलफल गरेका थिए । बन्धकलाई मुक्त गराउने विषयमा अमेरिकी रक्षामन्त्री एन्टोनी ब्लिंकेन र कतारी समकक्षीबीच पनि कुराकानी भएको थियो ।
अपहरणपछि बेपत्ता पारिएका नेपाली विद्यार्थी विपिनका साथीहरूका अनुसार हमास लडाकुहरूले आक्रमण गर्दा उनी बंकरमा नै थिए । लडाकुले प्रहार गरेको एउटा ग्रिनेडलाई हातैले टिपेर बंकरबाहिर फालेर साथीहरूलाई बचाएका थिए । पछि लडाकुहरूले विपिनलाई किबुज अलुमिमबाट थाइल्यान्डका नागरिकसँगै लगेको गोरखाका हिमाञ्चल कट्टेलले बताए । ‘हमास लडाकु बंकरभित्र छिरेर हामीमाथि अन्धाधुन्ध गोली चलायो, विपिन र तीन जना थाई नागरिकलाई गोली लागेको थिएन । थाईहरूले हात उठाएपछि लडाकुले लिएर गएको देखेको हुँ,’ तीन गोली लागेर उपचाररत कट्टेलले कान्तिपुरसँग भने ।
सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत कृषि विज्ञान संकायको अन्तिम सेमेस्टरमा अध्ययनरत विपिन ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए । ‘विपिनको खोजीका लागि कूटनीतिक क्षेत्रमा छलफल गरिराखेका छौं । उहाँको लोकेसन लोकेट गर्ने कोसिस भइरहेको छ,’ परराष्ट्रमन्त्री एनपी साउदले भने, ‘इजरायल सरकारका विभिन्न तहसँग विपिनको खोजीका लागि आग्रह गरिरहेका छौं । प्रहरी र अस्पताललगायत सम्भावित सबै ठाउँमा खोजी तीव्र पारिएको छ । हमाससित असल सम्बन्ध भएका मुलुकहरूसँग पनि यसका लागि पहल भइरहेको छ ।’
इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले पनि विपिनको खोजी भइरहेको बताइन् । ‘उहाँको अवस्था पत्ता लगाउन विभिन्न माध्यम प्रयोग भइरहेको छ,’ उनले भनिन्, ‘तर, थप सूचना प्राप्त भइसकेको छैन ।’
मन्त्री एनपी साउदले इजरायलमा कार्यरत नेपालीमध्ये चार सयभन्दा बढीले स्वदेश फर्किनका लागि ‘अनलाइन रजिस्ट्रेसन फाराम’ भरेको बताए । ‘स्वदेश फर्किन इच्छुकहरूलाई बिजनेस फ्लाइटमा ल्याउने गरी व्यवस्था गरिएको छ,’ उनले भने, ‘एकै पटक २ सय ५० भन्दा बढीको संख्यामा नेपाल फर्किन चाहने भएमा चार्टर्ड विमान पठाउने तयारी छ । त्यो संख्या नपुगे फर्किन चाहनेका लागि सरकारले आवश्यक टिकट र अन्य व्यवस्था गरिरहेको छ ।’
हमासको आक्रमणमा परी मृत्यु भएका नेपाली विद्यार्थीमध्ये ५ जनाको शव इजरायलले त्यहाँस्थित नेपाली दूतावासलाई बुझाइसकेको छ । नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली र आशिष चौधरीको शव नेपाली दूतावासलाई हस्तान्तरण गरिएको र बाँकी पाँच शव पनि हस्तान्तरणको प्रक्रियामा रहेको बताइएको छ । आक्रमणमा घाइते ४ नेपालीमध्ये २ जना अझै उपचाररत छन् । एक जना डिस्चार्ज भएर नेपाल आइसकेका छन् भने अर्का एक दूतावासको हेरचाहमा छन् । सरकारले असोज २६ मा इजरायलमा रहेका २ सय ५४ नेपाली विद्यार्थीको हवाई उद्धार गरेको थियो ।
इजरायलमा ४ हजार ५ सयभन्दा बढी नेपाली कार्यरत छन् । नेपाल सरकारले अवस्थामा परिवर्तन नआउन्जेलसम्म इजरायल जान रोक लगाएको छ । एडभाइजरी नै जारी गरेर इजरायल भ्रमणमा जान रोक लगाइएको हो ।