— कलाकार राजेश हमालले घरेलु उद्योगलाई बढावा दिनुपर्ने आवश्यकता रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै हमालले प्रत्येक नागरिकले घरेलु उत्पादन र उद्योगलाई महत्त्व दिनुपर्ने बताएका हुन् ।
उनले घरेलु उद्योग एउटा व्यवसाय मात्रै नभएको भन्दै यसले देश, संस्कृति र कलालाई प्रतिनिधित्व गर्ने बताए । घरेलु उद्योग ओझेलमा पर्नु, लोप हुनु भनेको संस्कृति र कला लोप हुनु रहेको उनको भनाइ छ ।
पुर्खाको सीप, कलालाई प्रतिनिधित्व गर्ने घरेलु उद्योगका सामग्रीहरूलाई आधुनिकताको नाममा हेलचेक्य्राइँ गरे समाज र परम्परागत संस्कृतिका लागि हानी पुग्ने उनले बताए ।
‘हामी प्रत्येक नागरिकले घरेलु उद्योगलाई बढावा दिनुपर्छ । घरेलु उद्योग, ह्यान्डिक्राफ्ट छ, यो खालि व्यवसाय मात्रै नभइ यसले देश, संस्कृति र हाम्रो कलालाई प्रतिनिधित्व गर्छ । यो ओझेलमा पर्नु, यो लोप हुनु भनेको संस्कृति र कला लोप हुनु हो । किनभने यसले पुर्खाको सीप, कलालाई प्रतिनिधित्व गर्छ । हामीले आधुनिकताको नाममा यसलाई हेलचेक्य्राइँ गर्ने हो भने र आधुनिकताका सरसामानको पछि लाग्यौँ भने हाम्रो समाजका लागि र परम्परागत संस्कृतिको लागि हानी पुर्याउँछ,’ उनले भने ।
हमालले नेपालका घरेलु उद्योगका सामग्रीहरुको महत्त्व करिब ४० वर्ष पहिला धेरै महत्त्वपूर्ण हुने गरेको र लोकप्रिय रहेको समेत बताए । उनले नेपालका घरेलु उद्योगबाट उत्पादित सामग्रीहरू विश्व बजारमा ओझेलमा परेको बताए ।