: विश्वकप फुटबल २०२६ को प्रारम्भिक छनोटअन्तर्गत एसियाली छनोटको दोस्रो लेगको खेलमा नेपाल मंगलबार लाओसविरुद्ध मैदान उत्रिँदैछ। घरेलु मैदानमा भएको पहिलो लेगको खेलमा १–१ गोलको बराबरी खेलेको नेपालले मंगलबार लाओससँग उसकै घरेलु मैदानमा दोस्रो लेग खेल्न लागेको हो।
नेपाली टोलीले आइतबार र सोमबार लाओसको घरेलु मैदानमा प्रशिक्षण गरेको थियो। फिफा वरीयतामा आफूभन्दा तल रहेको लाओसविरुद्ध सहज जितको अपेक्षा गरे पनि अवे मैदानमा नेपाललाई अग्नी परीक्षा हुने देखिएको छ।
अन्जन विष्टको कीर्तिमानी गोलमा नेपालले घरेलु मैदानमा खेल बराबरी गरेको थियो। नेपालको अपेक्षा विपरीत लाओसका खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए। त्यसैले मंगलबारको खेल नेपालका लागि ‘गर या मर’को अवस्था हुने देखिएको छ।
लाओसविरुद्ध नेपालले अहिलेसम्म चार खेल खेलेको छ। जसमा तीन खेलमा जित निकालेको छ भने एक खेल बराबरीमा सकिएको छ। मंगलबार नेपालसँग खेल्दा घरेलु टोली लाओसलाई दशरथ रंगशालामा गरेको अवे गोलको फाइदा भने हुने छैन।
यस पटक विश्व फुटबल महासंघ (फिफा)ले प्रतियोगिताको नियमावली संशोधन गर्दै अवे गोलको गणना नहुने र दुई लेगको खेलमा प्रस्ट जित चाहिने व्यवस्था गरेको छ।