। विश्व फुटबलमा खासै सुनिएको नाम होइन सान मारिनो । तर युरोपको यो राष्ट्रले लगातार विश्वकप र युरोकप छनोट भने खेल्दै आएको छ ।
पिफा वरीयतामा २०७औं स्थानमा रहेपनि सान मारिनोले युरोपका ठूला टिमसँग खेल्ने मौका पाउँछ । त्यसैले त गोल गर्नु पनि सान मारिनोका लागि ठूलो कुरा हुन्छ ।
अर्को वर्ष हुने युरोकपका लागि छनोट खेलिरहेको सान मारिनोले दुई वर्षपछि पहिलो प्रतिस्पर्धात्मक गोल गरेको हो ।
डेनमार्कविरुद्ध २-१ ले पराजित भएको खेलमा सान मारिनोका लागि अलेसान्ड्रो गोलिनुसीले गोल गरेका हुन् ।
रासमस होलन्डले ४२औं मिनेटमा गोल गर्दै डेनमार्कलाई सुरुवाती अग्रता दिलाएका थिए । ६१औं मिनेटमा गोलिनुसीले सान मारिनोका लागि बराबरी गोल फर्काएका थिए । यसअघि छनोटका ८ वटै खेलमा पराजित भएको सान मारिनोले गोलिनुसीको गोलमा खुशीयाली मनाएको थियो ।
पछिल्लो पटक सान मारिनोका लागि निकोला नान्नीले २०२१ मा विश्वकप छनोटमा पोल्याण्डविरुद्ध गोल गरेका थिए । उक्त खेलमा सान मारिनो ७-१ ले पराजित भएको थियो ।
यस्तै युरो छनोटमा भने सान मारिनोले चार वर्षपछि पहिलो गोल गरेको हो । जसका लागि उसलाई १२ खेल खेल्नुपर्यो ।
यसबीचमा सान मारिनोले मैत्रीपूर्ण खेलमा भने लिथुनिया र सेन्ट लुसियाविरुद्ध गोल गरेको थियो ।
सान मारिनोले डेनमार्कलाई बराबरीमा रोक्न भने सकेन । ७०औं मिनेटमा युसुफ पउलसेनले डेनमारकका लागि विजयी गोल गरे ।
जितपछि ८ खेलबाट १९ अंक जोडेको डेनमार्क समूह एचमा दोस्रो स्थानमै छ र अर्को खेलमा स्लोभेनियालाई हराएमा युरोकपमा छनोट हुनेछ । समान अंक भएपनि स्लोभेनिया शीर्ष स्थानमा छ ।
सान मारिनोले युरो छनोटमा ८४ मध्ये ८३ खेलमा हार बेहोरेको छ । सन् २०१४ मा इस्टोनियाविरुद्ध गोलरहित बराबरी खेल्नु नै सान मारिनोका लागि ठूलो उपलब्धि थियो ।