अमूल्य मानवजीवनको सुरक्षा गर्न भइरहेको घातक ढिलाइ
अमूल्य मानवजीवनको सुरक्षा गर्न भइरहेको घातक ढिलाइ

इजरायल र प्यालेस्टाइनी कट्टरपन्थी हमासबीच जारी युद्ध ११ दिन पुग्दा मानवीय क्षति अनियन्त्रित देखिएको छ । युद्धमा चार हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने १४ हजारभन्दा बढी घाइते भएका छन् । ज्यान गुमाउने र घाइते हुनेमा युद्धमा सामेल नै नभएका सर्वसाधारणको संख्या अधिक छ, त्यसमा बालबालिकासमेत छन् । घाइतेहरू उपचार सेवाबाट पनि वञ्चित छन् । यो मानवीय त्रासदी रोक्न र संवादबाट समाधान खोज्न ढिलाइ भइरहेको छ । हरेक सेकेन्ड अमूल्य मानवजीवन ढलिरहेकाले यो ढिलाइ घातक छ ।

युद्ध सुरु भएयता १० लाखभन्दा बढी प्यालेस्टाइनी सर्वसाधारण विस्थापित भइसकेका छन् र विस्थापनको क्रम जारी छ । इजरायलको नाकाबन्दीका कारण खाद्यान्न, पानी, इन्धनसमेतको अभावले गाजा क्षेत्रमा रहेका सर्वसाधारण छटपटिन थालेका छन् । इजरायलले हमासलाई निमिट्यान्न पार्न यो युद्ध भइरहेको अभिव्यक्ति दिइरहेको छ तर युद्धमा सामेल नै नभएका प्यालेस्टाइनीको जीवन बर्बाद भइरहेको छ । मानवीय सहायता आपूर्तिका लागि संयुक्त राष्ट्रसंघसहित अन्तर्राष्ट्रिय समुदायले गरिरहेको आग्रह पनि इजरालयले बेवास्ता गरिरहेको छ ।



हमासले अघिल्लो शनिबार बिहान इजरायलमाथि रकेट प्रहार गर्नुका साथै इजरायली भूमिमा प्रवेश गरेर निहत्था सर्वसाधारणमाथि गोली चलाएको थियो । त्यतिमात्र होइन, इजरायली तथा तेस्रो मुलुकका नागरिक अहिले पनि हमासको नियन्त्रणमा छन् । यो आक्रमणको सभ्य दुनियाँले एक स्वरले निन्दा गरेको छ, यस्तो मानवताविरोधी अपराधका दोषी दण्डित हुनुपर्छ भन्नेमा कहींकतै शंका छैन । तर, सीमित अपराधीलाई सजाय दिने प्रक्रियामा असीमित सर्वसाधारणको जीवनको मूल्य लिनु अर्को अपराध हुनेछ । त्यसैले संसार अहिले भनिरहेको छ– सबै प्यालेस्टाइनीहरू हमास होइनन् । हमासलाई कारबाही गर्ने भनेर सर्वसाधारणको घर, प्रार्थनालय, विद्यालय र अस्पतालमा हमला गर्न मिल्दैन । त्यस्तो युद्धलाई संसारको कुनै पनि राष्ट्रले समर्थन गर्न मिल्दैन ।

पछिल्लो पटक मंगलबार राति गाजाको अल अली अरब अस्पतालमा भएको बम हमलापछि विश्व तरंगित छ । विस्फोटमा कम्तीमा पाँच सयको ज्यान गएको भन्ने खबर आएदेखि नै प्यालेस्टाइनी सर्वसाधारणप्रति सहाभूति राख्नेहरूले प्रदर्शन गरेका छन् । लेबनान, जोर्डन, सिरिया, टर्कीलगायत आसपासका मुलुकमा प्रदर्शन चर्को बन्दै गएको छ । अल अली अरब अस्पतालमा कसले हमला गरायो र क्षति कति भयो भन्नेबारेमा स्वतन्त्र पुष्टि भने भइसकेको छैन । हमास र मुस्लिम मुलुकहरूले इजरायललाई सिधै आरोप लगाएका छन् । अर्कातिर प्यालेस्टाइनी इस्लामिक जिहाद समूहको रकेट प्रक्षेपण असफल हुँदा अस्पतालमा विस्फोट भएको इजरायलको दाबी छ । हमासले आश्रय लिएको आशंका गर्दै इजरायलले उक्त अस्पताल खाली गराउन एक सातादेखि चेतावनी दिँदै थियो । त्यही कारण विस्फोटमा इजरायलकै हात रहेको संशय धेरैमा देखिन्छ । जसले जुन नियत राखेको भए पनि अस्पतालमा आक्रमण मानवताविरोधी अपराध हो ।

इजरायलको पूर्ण समर्थनमा उत्रिएको अमेरिकाले भूमध्यसागर क्षेत्रमा युद्धपोत र लडाकु विमान तैनाथ गरिसकेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार इजरायल पुगेरै प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई थप ढाडस दिएका छन् । उता इजरायली सेनाले प्यालेस्टाइनमा स्थलगत आक्रमण सुरु गरेमा र त्यसमा अमेरिका पनि सामेल भयो भने आफू मूकदर्शक नबस्ने भनेर इरानले चेतावनी दिइरहेको छ । यो आफैंमा कहालीलाग्दो अवस्था हो । क्षेत्रीय र वैश्विक ध्रुवीकरण बढ्दै जाँदा युद्धले कुन रूप लिने हो भन्न सकिने अवस्था छैन । यस्तो युद्ध तन्किँदै जाँदा बालबालिका, महिलालगायत निहत्था नागरिकको सुरक्षा चिन्ता चुलिएको छ ।

इजरायलले खाद्यान्न, इन्धन, पानी, औषधिलगायत अत्यावश्यक सामग्रीको आपूर्ति बन्द गरिदिएपछि गाजा क्षेत्रमा जनजीवन कष्टकर बन्दै गएको छ । अझ, हमासविरुद्ध स्थलगत आक्रमणमा उत्रने जनाउँदै इजरायलले गाजाको उत्तरी क्षेत्र खाली गराउन चेतावनी दिएपछि घर छाडेर हिँड्न बाध्य भएकाहरूको यात्रा गन्तव्यविहीन छ । हजारौं सर्वसाधारण इजिप्ट छिर्ने आसमा राफाह नाकामा अलपत्र छन् । राफाह नाकाबाट मानवीय सहायता सामग्री गाजातर्फ आपूर्ति गर्न संयुक्त राष्ट्रसंघ लगायतका निकायले गरिरहेको पहललाई इजरायलले बेवास्ता गरिरहेको छ । खाद्यान्न र उपचार अभावमा छटपटाइरहेका नागरिकलाई अन्तर्राष्ट्रिय समुदायको मानवीय सहयोगबाट वञ्चित गरिनु दुःखद छ । अझ विडम्बना, मानवीय आधारमा युद्धविरामका लागि राष्ट्रसंघ सुरक्षा परिषद्मा रुसले राखेको प्रस्ताव अमेरिका, बेलायत, फ्रान्स र जापानले विपक्षमा मतदान गरेपछि अस्वीकृत भएको छ ।

इजरायलले गाजा कब्जा गर्ने उद्देश्य नरहेको र हमासलाई मात्र लक्षित गरेको बारम्बार बताइरहेको छ । प्रधानमन्त्री नेतान्याहुले बुधबार मात्रै अमेरिकी राष्ट्रपति बाइडेनसँगको भेटमा ‘हमासविरुद्धको युद्ध’ मा सर्वसाधारणको जीवनरक्षाको प्रतिबद्धता जनाएका छन् । यो इजरायलको प्रतिबद्धताको विषय मात्र होइन, युद्धसम्बन्धी अन्तर्राष्ट्रिय कानुनको विषय पनि हो । यसको मूल्यांकन बाइडेनले गरेर पुग्दैन, विश्व पनि संवेदनशील भएर हेरिरहेको छ । त्यसैले अन्तर्राष्ट्रिय समुदायले आगोमा घिउ थप्नेभन्दा पनि युद्धविराम र शान्तिवार्ताका लागि दबाब सिर्जना गर्नुपर्छ । इजरायलले गाजा क्षेत्रमा मानवीय सहायता आपूर्ति तत्काल खुला गर्नुपर्छ । त्यस्तै, युद्धविराम गरेर वार्तामार्फत स्थायी शान्तिको उपाय खोजी गर्नुपर्छ । इजरायल र प्यालेस्टाइनबीचको समस्या साढे सात दशकदेखि बल्झिँदै आएको हुनाले समाधान सजिलो देखिँदैन तर असम्भव छैन । कुनै पनि शक्तिका लागि मानवताको रक्षा सर्वोपरि हो । इजरायली प्रधानमन्त्री इत्ज्याक रोविन र प्यालेस्टाइनी नेता यासेर अराफत पालामा एउटा पहल भएको थियो, रोविन र अराफतको बाटोबाट मानवता जोगिन्छ, अन्यथा नासिन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। लेबनानमा कम्युनिकेसन डिभाइस पेजर र वाकीटकी मार्फत श्रृंखलाबद्ध विस्फोट भएको छ । स्वास्थ्यमन्त्री फिरास अबैदले बताएअनुसार मंगलबार र बुधबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३७ पुगेको छ । मंगलबार लेबनानका साथै सिरियाका कयौं क्षेत्रमा लडाकु समूह हिज्बुल्लाहका सदस्यहरुले प्रयोग गर्ने सयौं पेजरमा लगभग एकै समयमा बिस्फोट भयो । बिस्फोटमा परी १२ जनाको मृत्यु भयो ...
। दक्षिण अमेरिकी राष्ट्र जिम्बाबे पछिल्लो चार दशकदेखि भयानक खडेरीबाट गुज्रिरहेको छ । त्यहाँ कृषि उत्पादन चौपट भएको छ र खाद्यान्नको अभावमा भोकमरी चरम बनिरहेको छ । मानिसहरुसँग खानका लागि केही पनि बाँकी छैन । यस्तोमा खडेरीका कारण फैलिरहेको भोकमरीको समस्या समाधानका लागि जिम्बाबे सरकारले एउटा कठोर निर्णय लिएको छ । जसअनुसार त्यहाँका २ सय जंगली ...
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...