मुख्य समाचार
गाजा अस्पताल आक्रमणले विश्वभर तरंग
गाजा अस्पताल आक्रमणले विश्वभर तरंग

— प्यालेस्टिनी क्षेत्र गाजास्थित अल अहली अस्पतालमा मंगलबार राति भएको रकेट आक्रमणको विश्वभर निन्दा भएको छ । संयुक्त राष्ट्रसंघ, रेडक्रसजस्ता मानवअधिकारको क्षेत्रमा काम गर्ने संगठनसँगै थुप्रै देशले उक्त घटनाको विरोध गरेका हुन् ।


रकेट आक्रमणमा ५ सय जनाको मृत्यु भएको अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो घटना कसले गरायो भन्नेमा इजरायल र हमास अधिकारीहरूले एकअर्कालाई दोष लगाएका छन् । इजरायली आक्रमणबाट बच्नका लागि अस्पताललाई आश्रयस्थलका रूपमा समेत प्यालेस्टिनी नागरिकहरूले प्रयोग गर्दै आएका थिए । अस्पतालमा कार्यरत एक चिकित्सकले करिब ४ हजार जनाले त्यहाँ शरण लिएको बीबीसीलाई बताएका छन् । प्यालेस्टिनी राष्ट्रपति मोहम्मद अब्बासले अस्पतालमा आक्रमणपछि तीनदिने शोक घोषणा गरेका छन् ।

प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले अस्पतालको अवस्था बयान गर्न नसकिने रहेको बताएको छ । मन्त्रालयका प्रवक्ता डा. असरफ अल–कुन्द्राले वक्तव्य जारी गर्दै चिकित्सकले जमिनमा सर्जरी गरिरहेको बताएका छन् । ‘कतै बेहोसी पार्ने दबाई नदिई सर्जरी भइरहेको छ । कति व्यक्ति अपरेसनका लागि आफ्नो पालो पर्खिरहेका छन्,’ वक्तव्यमा भनिएको छ । यो आक्रमणबाट धेरै बालबालिका र महिला प्रभावित भएको पनि असरफले बताएका छन् । जोर्डनका विदेशमन्त्री आयमन सफादीले आक्रमणमा इजरायललाई जिम्मेवार भएको बताएका छन् ।

उनले जोर्डनमा हुने भनिएको अमेरिकी राष्ट्रपति जो बाइडेनसँग अरब देशका नेताहरूको वार्ता पनि रद्द भएको जानकारी दिए । ‘जारी युद्ध रोक्न र प्यालेस्टिनीको संहारको विरुद्ध खडा हुन’ सबै पक्ष तयार भएमा मात्र इजरायल–हमास युद्धको विषयमा बैठक हुन सक्ने उनको भनाइ थियो । बुधबार इजरायल भ्रमणमा आएका अमेरिकी राष्ट्रपति बाइडेनले गाजाको अस्पतालमा रकेट आक्रमणको घटनाबाट आफू आक्रोशित र दुःखी रहेको प्रतिक्रिया दिएका छन् । उक्त घटना इजरायलबाट नभई अन्य पक्षबाट भएको जानकारी आफूले पाएको बाइडेनको भनाइ थियो । गाजा र वेस्ट बैंक क्षेत्रमा मानवीय सहायताका लागि १ अर्ब अमेरिकी डलरको प्याकेज पनि घोषणा गरेका छन् । उनले इजरायललाई अमेरिकाको समर्थन रहने पनि बताए ।

इरानले अस्पतालमा आक्रमणको घटनाको निन्दा गर्दै एकदिने शोकको घोषणा पनि गरेको छ । यो घटनाले इजरायललाई पनि चाँडै असर गर्ने इरानी राष्ट्रपति इब्राहिम रइसीले चेतावनी दिएका छन् । साउदी अरबले घटनालाई बर्बरताको संज्ञा दिँदै यसले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको बताएको छ । कतारको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा इजरायलको पछिल्लो कारबाहीले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको उल्लेख छ । यस्तै, इजिप्ट, यूएई, बेलायत, क्यानडा, फ्रान्स, जर्मनी लगायत देशले पनि आक्रमणको विरोध गरेका छन् । रकेट आक्रमणको विरोधमा विभिन्न देशमा प्रदर्शन पनि भएको छ ।

हमासले रकेट आक्रमणलाई ‘युद्ध अपराध’ भन्दै इजरायललाई दोषी ठहर गरेको छ । इजरायलले भने हमासलाई नै दोष लगाएको छ । इजरायलले आफ्नो सेनाको संलग्नतालाई अस्वीकार गर्दै अर्को ‘आतंकवादी समूह प्यालेस्टिनी इस्लामिक जिहाद’ले प्रहार गरेको रकेट विस्फोट भएको बताएको छ । गाजाको दोस्रो ठूलो लडाकु समूह प्यालेस्टिनी इस्लामिक जिहादले पनि जिम्मेवारी अस्वीकार गरेको छ ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले अस्पतालमा भएको आक्रमणको निन्दा गरेका छन् । उनले एक्समा लेखेका छन्, ‘डब्लूएचओ अल अहली अरब अस्पतालमा भएको आक्रमणको निन्दा गर्दछ । सुरुवाती विवरणअनुसार सयौं मानिस घाइते भएको र मृत्यु भएको संकेत छ । हामी तत्काल सर्वसाधारणको सुरक्षा र स्वास्थ्योपचारको माग गर्छौं ।’

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले हमासको आक्रमणको बदलामा प्यालेस्टिनी नागरिकहरूमाथि ‘सामूहिक सजाय’ दिन नमिल्ने बताएका छन् । बुधबार बेइजिङमा तेस्रो बेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चमा सम्बोधन गर्दै महासचिव गुटेरसले ‘अक्टोबर ७ को आक्रमणको बदलामा प्यालेस्टिनी नागरिकमाथि सामूहिक सजाय’ न्यायोचित नहुने बताएका हुन् । महासचिव गुटेरेसले गाजामा रहेको अल अहली अस्पतालमा भएको आक्रमणको पनि निन्दा गरेका छन् । उनले तत्काल मानवीय आधारमा युद्धविराम गरी मानिसहरूले भोगिरहेको पीडा कम गर्नॅपर्ने पनि बताएका छन् ।

अक्टोबर ७ मा गाजाबाट हमासले इजरायली भूमिमा आक्रमण लिएपछि पश्चिम एसियामा तनाव चर्किएको हो । हमासको आक्रमणमा १४ सय इजरायली नागरिकको मृत्यु भएको छ । जसमा १० नेपालीसहित १ सयभन्दा बढी विदेशी नागरिक पनि छन् । त्यस्तै इजरायली आक्रमणमा ३५ सयभन्दा प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ ।

इजरायलले गाजा क्षेत्रमा खाद्यान्नसहित खानेपानी, इन्धन र स्वास्थ्य सामग्रीको आपूर्तिसमेत बन्द गरेको छ । गाजामा १ हजारभन्दा बढी मानिस इजरायली आक्रमणबाट ध्वस्त बनेका भवनका भग्नावशेषमा पुरिएको बीबीसीले जनाएको छ । इजरायली सेनाको चेतावनीपछि उत्तरी गाजाबाट लाखौं मानिस विस्थापित भएका छन् । संयुक्त राष्ट्रसंघले सहायता एजेन्सीलाई गाजामा पहुँच दिन अपिल गरेको छ । यदि त्यहाँ सहायता पुर्‍याउन अवरोधमा भएमा युद्ध अपराध हुने चेतावनी राष्ट्रसंघले दिएको हो ।

मानव अधिकारका लागि राष्ट्रसंघकी उच्चायुक्तकी प्रवक्ता रविना श्यामदासनीले उत्तरी गाजाबाट स्थानीयलाई दक्षिणतर्फ स्थानान्तरणका लागि इजरायली सेनाले दिएको निर्देशनले मानवअधिकारको कानुन उल्लंघन हुने बताएकी छन् । उनले हमासको बन्धकमा रहेका इजरायलीको तत्काल रिहाइका लागि पनि आग्रह गरेकी छन् । इजरायल र प्यालेस्टाइनको विद्रोही समूह हमासबीचको द्वन्द्वका कारण गाजा क्षेत्रका विस्थापितहरूको दैनिकी कष्टपूर्ण बनेको छ । उत्तरी गाजाबाट विस्थापित भएकामध्ये हजारौंको संख्यामा इजिप्टतर्फ जान राफाह क्षेत्रको सीमा पुगे पनि अनुमति नपाउँदा अलपत्र बनेका छन् । यस्तै, खान युनिस क्षेत्रमा पुगेका विस्थापितहरू एउटै घरमा ९० जनासम्म बसेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। लेबनानमा कम्युनिकेसन डिभाइस पेजर र वाकीटकी मार्फत श्रृंखलाबद्ध विस्फोट भएको छ । स्वास्थ्यमन्त्री फिरास अबैदले बताएअनुसार मंगलबार र बुधबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३७ पुगेको छ । मंगलबार लेबनानका साथै सिरियाका कयौं क्षेत्रमा लडाकु समूह हिज्बुल्लाहका सदस्यहरुले प्रयोग गर्ने सयौं पेजरमा लगभग एकै समयमा बिस्फोट भयो । बिस्फोटमा परी १२ जनाको मृत्यु भयो ...
। दक्षिण अमेरिकी राष्ट्र जिम्बाबे पछिल्लो चार दशकदेखि भयानक खडेरीबाट गुज्रिरहेको छ । त्यहाँ कृषि उत्पादन चौपट भएको छ र खाद्यान्नको अभावमा भोकमरी चरम बनिरहेको छ । मानिसहरुसँग खानका लागि केही पनि बाँकी छैन । यस्तोमा खडेरीका कारण फैलिरहेको भोकमरीको समस्या समाधानका लागि जिम्बाबे सरकारले एउटा कठोर निर्णय लिएको छ । जसअनुसार त्यहाँका २ सय जंगली ...
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...