— विश्वकप फुटबल छनोटको दोस्रो चरण पुग्ने टिम थियो, हङकङ । तर खुसीयाली छाइरहेको थियो, भुटानी टिममा । हङकङले पहिलो लेगको खेल ४–० ले जितेको थियो, त्यसैले भुटानलाई दोस्रो लेगमा कम्तीमा पाँच गोल गर्नु थियो । सिधा हिसाब त त्यही थियो ।
तर भुटान दोस्रो लेगमा २–० मात्र विजयी थियो तर पनि यो अपार खुसीका लागि पर्याप्त थियो । भुटानको फुटबल इतिहासकै यो यस्तो जित थियो, जसले देखाउँछ, यो देशको फुटबलस्तरको ग्राफ माथि चढिरहेको छ भनेर । थिम्पुमा भएको त्यस खेल हेर्न बेलायती धनाढ्य रिचर्ड ब्रासनन पनि थिम्पुको दर्शकदीर्घामै थिए ।
भुटान छनोटको दोस्रो चरण त पुगेन तर धेरैको मन जित्न सफल रह्यो । मंगलबार एसियाली विश्वकप छनोट प्रारम्भिक चरणको दोस्रो लेगको खेल दिन थियो र यो दक्षिण एसियाली फुटबलका लागि खुसीकै दिन सावित भयो । नेपालसँगै बंगलादेश र पाकिस्तान छनोटको दोस्रो चरण पुगे । भारतलाई त छनोटको प्रारम्भिक चरण पनि खेल्नुपरेको थिएन ।
नेपालका लागि पनि छनोटको दोस्रो चरण पुग्ने साह्रै महत्त्वको थियो । लाओसविरुद्धको खेल नजितेको भए, यो त नेपाली फुटबलकै लागि ठूलो त ठूलो आघात हुन्थ्यो । अबको एक वर्ष अन्तर्राष्ट्रिय फुटबल सुनसानजस्तै हुन्थ्यो । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसको नेपाल बसाइ पनि छोटिने पूरा सम्भावना थियो । दोस्रो चरण पुगेपछि तिनै प्रशिक्षक एनिसले पनि माने, ‘यो सफलताको धेरै अर्थ छ, मेरा लागि पनि, टिमका लागि पनि ।’
नेपालले अब यूएई, बहराइन र यमन सम्मिलित समूहमा खेल्नेछ । नेपाल छनोटको प्रारम्भिक चरणमै रोकिएको भए, यसको सबै दोष अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वलाई जाने थियो । कम्तीमा अहिले तत्कालका लागि दोस्रो चरण पुगेको खुसी नै ठूलो बनेको छ । नेपालको तुलनामा पनि सबैभन्दा धेरै खुसी पाकिस्तानी फुटबलले महसुस गरेको थियो । पाकिस्तान छनोटको दोस्रो चरण पुगेकै यो पहिलो पटक थियो । इस्लामाबादमा भएको दोस्रो लेगमा पाकिस्तान १–० ले विजयी रह्यो ।
पहिलो लेग गोलरहित बराबरीमा टुंगेको थियो । खेलपछि जिनाह स्पोर्ट्स स्टेडियममा पाकिस्तानी खेलाडी र समर्थकले जसरी खुसीयाली मनाए, त्यो हेरिनसक्नु थियो । पाकिस्तानको यो जित फुटबलभन्दा बाहिर पनि ठूलै समाचार रह्यो, पाकिस्तानको दृष्टिकोणबाट । निर्णायक गोल गर्ने खेलाडी थिए, हारुन हमिद । सन् २०१५ यता पाकिस्तानले घरमा पहिलो जित निकालेको थियो । अब पाकिस्तानले साउदी अरेबिया, ताजाकिस्तान र जोर्डन सम्मिलित समूहमा खेल्नेछ ।
यहाँनिर हाम्रो दृष्टिकोणले रमाइलो तथ्य के भने पाकिस्तान प्रशिक्षक स्टेफन कन्सटाइनटिनको नेतृत्वमा खेलेको थियो । आखिरमा उनी कुनै समय नेपालका प्रशिक्षक थिए । पछि भारतमा पनि लामै समय बिताए । पाकिस्तान आएयता सुरुका केही दिन कन्सटाइनटिनका लगि गाह्रै भयो । पाकिस्तानी फुटबलमा कुनै पनि प्रकारको सुविधा नभएको देखेर उनी अचम्ममा परे । पछि पाकिस्तान छाड्ने कुरा पनि आएको थियो तर त्यो सबै अहिलेको जितले सम्भवतः ओझेलमा परेको छ । फिफा वरीयताको १ सय ९७ औं स्थानमा रहेको पाकिस्तान सन् २०२१ बीच १५ महिना फिफा प्रतिबन्धबाट पनि गुज्रेको थियो । बंगलादेशले भने आफ्नै दक्षिण एसियाली प्रतिद्वन्द्वी माल्दिभ्सलाई हराएको थियो । पछिल्लो समय दुई देशबीच फुटबलमा मीठो टक्कर देख्न पाइएको छ । पछिल्लो साफ च्याम्पियनसिपमा पनि बंगलादेशले समूह चरणमा माल्दिभ्सलाई हराएको थियो । अहिले पनि दुई लेगको खेलपछि बंगलादेश समग्रमा ३–२ ले अगाडि रह्यो ।
लामो समय बंगलादेश माल्दिभ्स भनेपछि आफैं आत्तिन्थ्यो र पराजित हुन्थ्यो । अहिले दिन फेरिएका छन् अनि कमजोर सावित भएको माल्दिभ्स । खासमा माल्दिभ्सका लागि पछिल्ला केही वर्ष सुखद रहेन । माल्दिभ्स दुई वर्ष अगाडि आफ्नै भूमिमा भएको साफ च्याम्पियनसिपमा पनि फाइनल पुग्न सकेको थिएन । त्यति बेला भनिएको थियो, माल्दिभ्सको फुटबलको सबैभन्दा ठूलो समस्या भन्नु नै मैदान बाहिरको फोहोरी राजनीति हो ।
बैंग्लोरमा भेटिएका माल्दिभ्सका पत्रकार पनि भन्थे, त्यहाँको राजनीतिले यो देशको फुटबललाई तहसनहस पार्दै छ । छनोटको प्रारम्भिक चरणमै रोकिनु यसको अर्को संकेत मात्रै हो । बंगलादेशले पनि अस्ट्रेलिया, प्यालेस्टाइन र लेबनानको समूहमा खेल्नेछ । श्रीलंका पनि दोस्रो चरण त पुगेन तर दोस्रो लेगमा उसले यमनलाई १–१ को बराबरीमा रोक्न भने सफल रह्यो । दक्षिण एसियाका अर्को पूर्वसदस्य अफगानिस्तान पनि दोस्रो चरण पुग्न सफल रह्यो ।
अफगानिस्तानले पन्छाएको थियो, मंगोलियालाई । सबैलाई थाहा छ, अफगानिस्तानका अहिलेका प्रशिक्षक हुन्, अब्दुल्लाह अल्मुताइरी । उनी पनि नेपालका पूर्वप्रशिक्षक भए । उनको अहिले तत्कालको स्थिति के हो भन्न गाह्रो छ । उनी राजीनामा दिएको भन्छन्, अरू उनी बर्खास्त हुने क्रममा रहेको बताउँछन् । विवादमा फसिरहने बानी उनमा धेरै देखिन्छ । जे होस्, अफगानिस्तान पनि दोस्रो चरण भने पुग्यो । अफगानिस्तानलाई छाडेर दक्षिण एसियाका चार टिम छनोटको दोस्रो चरणमा हुनु हाम्रा लागि मीठो उपलब्धि भने हो ।