: त्रिकोणात्मक टी- २० आई सिरिज अन्तर्गतको दोस्रो खेलमा हङकङले नेपाललाई ९५ रनको लक्ष्य दिएको छ। बिहीबार मूलपानी रंगशालामा भएको खेलमा १९ ओभर ३ बलमा हङकङ अलआउट भएको हो।
हङकङलाई सस्तैमा समेट्ने क्रममा नेपालका करण केसीले ४ विकेट लिए। ४ ओभर बलिङ गर्दै केसीले १५ रन खर्चिए। हङकङका लागि यासिम मुर्ताजाले ३६ रन बनाए। ३६ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे। हङकङका लागि मुर्ताजा र जिसम अलि बाहेकले दोहोरो अंक छुन सकेनन्।
हङकङले पहिलो विकेटका रुपमा कप्तान निजाकत खानलाई इनिङ्सको पहिलो बलमै गुमाएको थियो। अर्का ओपनर अंशुमान रथ ७ रन बनाएर आउट भए। बाबर हायातले ५ र मार्टिन कोइट्जीले २ रन बनाएका थिए।
पाहुना टोलीका लागि अजाज खानले थप ७, अदित गोरावारले ८, हरुन अर्सदले २, इसान खानले ४ र आयुष शुक्लाले नटआउट २ रन बनाए।
नेपालका लागि करणले ४, सोमपाल कामी र अभिनाश बोहोराले २-२ तथा कुशल मल्ल र मौसम ढकालले १-१ विकेट लिए।
यसअघि नेपालले टस जितेर हङकङलाई ब्याटिङको निम्तो दिएको थियो। नेपालले पहिलो खेलमा हिजो युएईलाई ७ विकेटले पराजित गरेको थियो।