— रोजगारीका लागि भारतका विभिन्न सहरमा गएकाहरु स्वदेश फर्कंदा सीमामा सास्ती खेप्नु परिरहेको छ । यतिबेला सीमा नाकाहरुमा भारतका विभिन्न सहरबाट दसैं मनाउन घर फर्किने सुदूरपश्चिमेलीहरुको घुइँचो छ । त्यस क्रममा उनीहरुले अनेक हण्डर खेप्नु परिरहेको छ ।
भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका जिल्लाहरु कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको जुलाघाट, दार्चुलाको पुलघाट र जोलाजिमी सीमा नाकामा दुई साताअघिदेखि नै घुइँचो छ ।
त्यस क्रममा उनीहरुले भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीहरुबाट अनावश्यक खानतलासी र विभिन्न खाले हैरानी व्यहोर्नु परेको फर्किनेहरु बताउँछन् । ‘अनावश्यक हेपचेप, सोधपुछ र खानतलासीले हैरान पार्छन्,’ अछामको जयगढका प्रेम बोहराले भने, ‘आफ्नो देशमा पाइला नटेक्दासम्म मुटु काँपिरहन्छ ।’ गौरिफन्टा सीमा नाकाबाट मात्रै दैनिक एक हजार स्वदेश फर्किरहेको सशस्त्र प्रहरी बलको तथ्यांक छ । दसैं मनाएर धेरैजसो सुदूरपश्चिमेलीहरु फेरि भारतमै फर्किन्छन् ।