— सबैतिर सावित्रा भण्डारीकै चर्चा छ । त्यसैले सुरुमा उनकै प्रसंग । नेपाली फुटबल मात्र होइन, सर्वकालीन नेपाली खेलकुद इतिहासले पाएको एक अब्बल दर्जाकी खेलाडी हुन्, उनी । दक्षिण एसियाकै पनि उत्कृष्ट स्ट्राइकर । लगातार कति धेरै गोल गर्छिन् भने यी ‘साम्बा’ को अर्को उपनाम पनि छ, ‘गोल मेसिन’ ।
भारतमा त उनले एकपल्ट होइन, धेरै पटक तहल्का मच्चाइसकेकी छन् । अब पालो युरोपको । उनी इजरायलमा व्यावसायिक फुटबल खेल्छिन्, युरोपमा खेल्ने पहिलो नेपाली फुटबल खेलाडीका रूपमा । भन्छिन्, ‘मैले फुटबल खेलेर सबथोक पाएँ, फुटबलप्रति ऋणी छु ।’
खासमा एउटा नेपाली महिलाले खेलेर के कस्तोसम्म गर्न सक्छिन् भन्ने राम्रो उदाहरण हो, साम्बा । सामान्य परिवार र परिस्थितिबाट उनी अहिले जुन मोडमा छिन्, त्यो धेरैका लागि प्रेरणा हुन सक्छ, विशेषतः नेपाली महिलाका लागि । लमजुङको सिमपानीकी साम्बाले सुरु–सुरुमा त कपडाबाट बनेको बलले खेल्थिन् । फुटबल नै खेल्ने केटी साथीहरू नहुँदा दाजुभाइको टिममा मिसिन्थिन् । तिनै साम्बा दुई वर्षअघि मात्रै नेपाली खेलकुदकै पछिल्लो दशककी उत्कृष्ट खेलाडी घोषित भएकी थिइन् ।
वर्ष होइन, दशककै । ‘मेरो यो यात्राले नेपाली महिलाले खेल विधामा केही गर्न सक्षम हुन्छन् भने म आफूलाई धन्य मान्ने छु,’ उनी भन्छिन् । खासमा उनी नेपाली महिलाले पनि धेरै गर्न सक्छन् भन्ने राम्रो उदाहरण हुन् । अब यसले जानेर/नजानेर महिला सशक्तीकरण, लैंगिक समानतामा कति धेरै भूमिका खेलेको हुन्छ, भनिरहनु पर्दैन । सय वर्ष लामो नेपाली पुरुष फुटबलको इतिहासमा यसका खेलाडीले जे जति पाएनन्, त्योभन्दा धेरै सावित्राले पाएकी छन् ।
सावित्रा त नेपाली महिला फुटबलकी एक प्रतिनिधि पात्र हुन् । आखिरमा फुटबल ‘टिम गेम’ हो, उनलाई मैदानमा साथ दिने अरू १० खेलाडीको बाक्लै हूल छ । अहिलेको राष्ट्रिय टिमकी कप्तान हुन्, रेणुका नगरकोटी, रौतहटको चन्द्रनिगाहपुरकी । जहाँबाट धेरैभन्दा धेरै महिला खेलाडी निस्केका छन् । सुरुमा रेणुकालाई पनि परिवारले फुटबल खेल्न कहाँ स्वीकृति दिएको थियो र ? फुटबल खेल्ने रहर त थियो, तर परिस्थिति मिलिरहेको थिएन । घरमा थाहै नदिई खेल्न थालिन् । पछि खेलेरै परिवारको पनि मन जितिन् । पछिल्लो १० वर्षको नेपाली महिला फुटबलको इतिहास पल्टाउने हो भने सावित्रा र रेणुका अनि उनका साथीहरूको टिमलाई ‘गोल्डेन जेनेरेसन’ भन्ने पनि छन् । अब अलिक मिहिनेत गर्ने हो भने नेपालले महिला फुटबलको विश्वकप खेल्न सक्छ । महिला एसिया कपको कुरा पनि आफ्नो ठाउँमा छ ।
एसियाली खेलकुदमा डेब्यु
चीनमा भर्खरै सम्पन्न १९ औं एसियाली खेलकुदमा नेपाल महिला फुटबल पहिलो पटक सहभागी थियो । ‘ड्र’ निस्कँदै थाहा थियो, नेपाललाई सजिलो हुने छैन । किनभने नेपालको समूहमा थियो, विश्व महिला फुटबलकै सबैभन्दा बलियो टिममध्येको एक जापान । समूहमा भियतनाम र बंगलादेश पनि थिए । जापानसँगै भियतनामले महिना दिन अगाडि अस्ट्रेलियामा भएको महिला विश्वकप खेलेको थियो । जापान त अझ महिला विश्वकपको पूर्वविजेता पनि हो । खेलको नतिजा आफ्नो ठाउँमा छ, नेपाली टिमले वेनचउमा राम्रै खेल्यो ।
भियतनामविरुद्धको पहिलो खेल २–० ले र जापानविरुद्धको खेल ८–० ले गुमायो । यी दुई खेलमा नेपालले दस गोल त खायो, तर जसले यो खेल प्रत्यक्ष हेर्यो, तिनको एउटै प्रतिक्रिया थियो, हारे पनि नेपालको खेल ठीक छ । पछि नेपालले बंगलादेशसँग १–१ को बराबरी निकाल्यो । त्यसमा नेपालका लागि मेनुका पौडेलको गोल नै नेपाली महिला फुटबलका लागि एसियाली खेलकुदको पहिलो बन्यो । नेपाली महिला टिमले चीनमा प्रशिक्षक बालगोपाल महर्जनको प्रशिक्षणमा खेलेको थियो । सबैलाई थाहा छ, उनी नेपाली फुटबलको अहिलेसम्मकै सबैभन्दा सफल र भाग्यमानी प्रशिक्षक हुन्, तथ्यांकले यस्तै भन्छ ।
प्रतियोगिता खेल्नु अगाडि प्रशिक्षक महर्जनको गुनासो थियो, तयारी राम्रो भएन । महिला फुटबल टिमको तयारीमा धेरै कमको मात्र ध्यान गयो । सुविधा पनि राम्रो भएन । तर प्रतियोगिता सकेर तिनै प्रशिक्षक महर्जनलाई हाङचउमा भेट्दा उनले पनि माने, केही राम्रो तयारी गर्न सकेको भए, अझ राम्रो नतिजा आउन सक्थ्यो । उनी पनि सहमत छन्, नेपाली महिला फुटबलको सम्भावना अपार छ ।
विश्वकप सम्भावना
धेरैलाई लाग्दो हो, नेपाली महिला फुटबल टिमले विश्वकप खेल्ने सम्भावनाका कुरा कतै गफै मात्र त होइनन् ? तर होइन, यस पछाडि तर्क पनि छन् । अबको विश्वकप सन् २०२७ मा हुनेछ । यसका लागि छनोट चरणका खेलबारे विस्तृतमा कार्यक्रम तालिका आउन बाँकी छ, तर एउटा तथ्य निश्चित छ, यसमा सहभागी हुने देशको संख्या बढाएर ३२ पुर्याइएको छ । सहभागिता टिमको यो यस्तो आँकडा हो, जसमा नेपाली फुटबल लोभिनुपर्छ । नेपाली महिला टिमले विश्वकप खेलिसकेका केही टिमविरुद्ध पछिल्लो समय खेल्ने अवसर पनि पाइसकेको छ, त्यसकै अनुभवले भन्छ, साँच्चै केही हुन सक्छ । जस्तो, चीनमै नेपालले जापान र भियतनामविरुद्ध खेल्यो । नेपालले यसअघि भियतनामविरुद्ध काठमाडौंमै दुई खेल खेलेको थियो । त्यो दुई लेगको ओलम्पिक छनोट थियो । त्यसमध्ये पहिलो खेलमा नेपाल ५–१ ले पराजित भयो भने त्यसपछि २–० ले । यी खेलपछि भियतनामी टिमले पनि भन्थ्यो, नेपाली टिमको सम्भावना अपार छ ।
भियतनामविरुद्ध एक गोल गर्ने खेलाडी थिइन्, तिनै साम्बा । त्यस अगाडि २०२१ मा तास्केनमा नेपालले फिलिपिन्सविरुद्ध एसियाकप छनोट पनि खेलेको थियो । त्यसमा नेपाल खेलको अन्त्यतिरसम्म पनि एक गोलले अगाडि थियो, तर २–१ ले पराजित रह्यो । अन्तिम केही मिनेट नेपालले सम्हालेर खेल्न सकेन । नेपालका लागि त्यस खेलमा गोल गरेकी थिइन्, विमला चौधरीले । पछि यही टिम फिलिपिन्सले पनि पछिल्लो विश्वकप खेल्यो । यसबीच नेपालले वुमेन्स साफ च्याम्पियनसिपमा फाइनलको यात्रा तय गर्यो र उपविजेता बन्यो । फाइनलमा बंगलादेशसँग पराजित भएको थियो, त्यस अगाडि भारतमाथि सानदार जित निकालेको थियो । त्यही बंगलादेशलाई नेपालले केही महिना अगाडिको दुई खेलको मैत्रीपूर्ण शृंखलामा हराइसकेको छ । अनि भारतविरुद्धको दुई खेलको शृंखलामा पनि बराबरीको नतिजा निकालेको छ । चेन्नाईमा भएको त्यस शृंखलाको पहिलो खेलमा सावित्राले भारतविरुद्ध मीठा दुई गोल गरेकी थिइन् ।
यसबीच कुरा हुन सक्छ, के नेपाली फुटबलमा खालि राम्रै राम्रा मात्र छन् त होइन ? होइन, यसमा पनि धेरै समस्या छन् । साँच्चै धेरै नै । उत्तिकै चुनौती पनि छन् । सबैभन्दा ठूलो नियमित प्रतियोगिता नै हुन्न, अब नेपाली महिला फुटबल खेलाडीले खेल्ने के र कहाँ ? जति प्रतियोगिता भएका छन्, त्यसको व्यवस्थापन कमजोर छ । अखिल नेपाल फुटलब संघ (एन्फा) ले महिला फुटबलमा खासै ध्यानै दिन सकेको छैन । तर एन्फा आफैं भन्छ, महिला विश्वकप हाम्रो सपना हो ।
फेरिएको महिला फुटबललाई हेर्ने दृष्टिकोण
नेपाली महिला फुटबलको पहिलो पहिलो पुस्ताका खेलाडीसँग कुराकानी गर्नुपर्छ, ती सुरुआती दिनमा तिनले गरेका संघर्षका कथाले भावुक बनाउँछ । नेपालले सन् १९८६ देखि अन्तर्राष्ट्रिय फुटबलमा सहभागिता जनाउन सुरु गरेको थियो । त्यसै टिमकी कप्तान हुन्, रमा सिंह । केटी मान्छेले खेल्दा कट्टु लगायो भनेर समाज तर्सिने बेला उनले फुटबल खेलेकी थिइन् । अझ महिलाले पनि फुटबल खेल्छ र भनेर अचम्म मान्ने जमाना थियो । त्यसपछि कमला हिराचनले पनि नेपाली टिमको नेतृत्व सम्हालिन् । उनलाई पनि सानैदेखि फुटबल खेल्ने रहर थियो, तर परिवारले कहिले पनि साथ दिएन । आफ्नो खेल जीवन उत्कर्षमै हुँदै खेल्न छाड्नुपर्यो । महिला फुटबलमा कहींकतै केही नहुँदा लाग्थ्यो, उनलाई लागेको थियो, कतै आफ्नो परिवारले खेल्न नदिनु पनि ठीकै थियो कि ? नेपाली टिमकी तेस्रो कप्तान हुन्, मीरा चौधरी । अचेल उनी नेपाल प्रहरीको उच्च पदमा छिन्, उनी खेल्दा मीरालाई सबैभन्दा ठूलो डर थियो, कतै यो खेल लोप हुने त होइन ?
पछिल्लो ३७ वर्षमा नेपाली समाज फेरिएको छ, अनि फेरिएको छ, महिला खेलाडीलाई हेर्ने दृष्टिकोण पनि । अचेल भन्नै पर्छ, नेपाली महिला खेलाडीप्रति उच्च समान छ, विशेषतः फुटबलमा महिला खेलाडीलाई हेर्ने दृष्टिकोण फेरिएको छ । यो समाजलाई परिवर्तन गर्न सक्ने फुटबलमा आखिरमा केही त पक्कै छ । अझ झन् पछिल्लो समय नेपाली महिला राष्ट्रिय टिमले प्रायोजक पनि पाएको छ । नेपाली महिला फुटबललाई चाहिने भनेकी यस्तै प्रायोजकहरू हुन् ।
ठूलै तामझामबीच भर्खरै भन्दा हुन्छ, युनिलिभर नेपालले नेपाली महिला राष्ट्रिय टिमको प्रायोजन गर्ने घोषणा गरेको छ । त्यही युनिलिभरका प्रबन्ध निर्देशक हुन्, आम्लान मुखर्जी । उनी आफैं फुटबल भनेपछि हुरुक्कै हुने खालका रहेछन् । भन्छन्, ‘हामी नेपाली महिला फुटबलको विकास र विस्तारमा मद्दत गर्न चाहन्छौं । हामी नेपालले अन्तर्राष्ट्रियस्तरमै केही गरेको हेर्न चाहन्छौं ।’ नेपाली महिला फुटबललाई चाहिने सहयोगी हात यस्तै हुन्, किनभने अपार सम्भावना छ, महिला फुटबलमा ।