मुख्य समाचार
खसीबोकामा पनि आर्थिक मन्दीको असर
खसीबोकामा पनि आर्थिक मन्दीको असर

— चाडबाडसँगै बजारमा चहलपहल बढेको छ । मुख्य व्यापारिक केन्द्र मानिने न्युरोड, असन, भोटाहिटीलगायत क्षेत्रमा खुट्टा टेक्ने ठाउँ छैन । तर यही बेला खाद्यवस्तु मात्रै नभई लत्ताकपडा, जुत्ता, विलासिताका सामानको भाउ पनि छोइनसक्नुभएको छ । बजारमा भीड बढे पनि बजार भने सुस्त छ । सामान बिक्री नभएको व्यवसायी बताउँछन् ।

सर्वसाधारण सपिङ मल एवं महँगा पसलमा पुगे पनि अन्त्यमा सस्तो पसल, सस्तो सामान खरिद गरेर आफ्ना आवश्यकता पूर्ति गरेका छन् । यसको एक मात्र कारक आर्थिक मन्दी रहेको जानकारको भनाइ छ ।

कोभिड आएसँगै बजार सुस्त भएको छ । मन्दीले सबै क्षेत्रमा प्रत्यक्ष असर गरेको छ । धेरै सटर बन्द भएका छन् । पछिल्लो समय मन्दीको असर खसीबोका र च्यांग्रा बजारमा समेत परेको छ । दसैं नजिकिँदै गर्दा सरकार र व्यवसायीले डेढ अर्ब रुपैयाँभन्दा बढीका खसीबोका र च्यांग्रा भित्र्याउने जनाएका थिए । सोही योजनाअनुसार उपत्यकामा ल्याउन सुरु गरिएको छ । तर बिक्री भने सुस्त छ । बिक्री घटेपछि सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसीबोकाको मूल्य फेरि घटाएको छ । सुरुमा प्रतिकिलो १० रुपैयाँ छुट दिएको खाद्यले मूल्य संशोधन गरेर खसीबोकामा प्रतिकिलो २० र च्यांग्रामा २५ रुपैयाँ छुट दिएको छ ।

‘गत वर्षको तुलनामा बिक्री धेरै कम छ, खाद्यको मात्र नभई अन्य बजार हेर्दा खसीबोका क्षेत्रमा उपभोक्ताको चाप देखिन्न । सर्वसाधारणको क्रयशक्तिमाथि नै प्रश्न उठेको छ । बजारमा आर्थिक मन्दी लागेको देखिन्छ,’ खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले भनिन्, ‘बजारको अवस्थालाई दृष्टिगत गरी खसीबोका र च्यांग्राको मूल्य पनि संशोधन गरेका छौं । खसीबोकाको मूल्य किलोमा २० र च्यांग्राको २५ रुपैयाँ घटाएका छौं ।’

खाद्यले असोज ३० देखि खसीबोका र च्यांग्रा बिक्री सुरु गरेको छ । मंगलबारदेखि बिक्री सुरु गरेको खाद्यले खसीमा प्रतिकिलो ६ सय ८० र च्यांग्रा १२ सय ६० रुपैयाँ तोकेको थियो । उक्त मूल्यमा थप १० रुपैयाँ छुट दिएर खसी प्रतिकिलो ६ सय ७० र च्यांग्रा १२ सय ५० मा बिक्री सुरु गरेको थियो । पहिलो दिनमा करिब दुई सय बिक्री भएको थियो । त्यसपछि भने बिक्रीले गति लिएन ।

विगतमा जसरी खसीबोका र च्यांग्रा किन्नमा सर्वसाधारणको भीड बढेन । विभिन्न जिल्लाबाट ल्याइएका खसीबोका, च्यांग्रा लामो समयसम्म बिक्री नहुँदा तिनको लागत खर्च बढ्छ । त्यसैले पनि मूल्य थप घटाएर बिक्री गर्ने निर्णय भएको हो । ‘मूल्य संशोधन खसीबोकाको मूल्य प्रतिकिलो ६ सय ६० रुपैयाँ निर्धारण गरेका छौं । चाडबाडका बेला उपभोक्तालाई सहुलियतमा थप १० रुपैयाँ छुट गरेर बिक्री मूल्य प्रतिकिलो ६ सय ५० रुपैयाँ राखेका छौं,’ न्यौपानेले भनिन्, ‘च्यांग्रामा पनि नयाँ मूल्य निर्धारण भएको छ । नयाँ मूल्यअनुसार प्रतिकिलो १२३५ रुपैयाँ निर्धारण गरिएको छ । उक्त मूल्यमा १० रुपैयाँ छुट भई बिक्री मूल्य प्रतिकिलो १२२५ रुपैयाँ कायम भएको छ ।’

खसीबोका र च्यांग्राको मूल्य कम हुँदा बिक्री बढ्ने प्रक्षेपण गरिएको छ । ‘नयाँ मूल्य शुक्रबारदेखि लागू हुन्छ । खसीबोका र च्यांग्रा बिक्री अष्टमी र नवमीसम्म हुन्छ,’ उनले भनिन्, ‘मूल्य थप घटेपछि बिक्री पनि बढ्नेमा आशावादी छौं ।’ खाद्यका खसीबोका र च्यांग्रा कम्पनीको प्रादेशिक कार्यालय थापाथलीबाट बिक्री भइराखेका छन् । आर्थिक मन्दीका कारण गत वर्ष जस्तो व्यापार नभएको प्रादेशिक कार्यालय प्रमुख ज्ञानु थापाले पनि स्विकारिन् ।

‘दाङ, मकवानपुर, रसुवालगायत जिल्लाबाट २२१२ वटा खसीबोका र च्यांग्रा खरिद गरेका छौं । बिहीबारसम्म ६ सय २० वटा बिक्री भए । शुक्रबार डेढ सय हाराहारी बिक्री भए,’ थापाले भनिन्, ‘मूल्य घटेपछि बिक्री थप बढ्ने आशा छ ।’ खसीबोका तराईबाट खरिद गरी ल्याएको छ । उपत्यकामा चिसो बढ्न थालेकाले बिक्री नभए थप समस्या हुन्छ । त्यसका अतिरिक्त नवमीपछि कर्मचारी दसैं मनाउन घर फर्किंदै छन् ।

‘खाद्यवस्तुजस्तै स्टोर गरेर राख्न मिल्दैन । कर्मचारीहरुले पनि दसैं मान्नैपर्‍यो । त्यही भएर घाटा भए पनि मूल्य घटाउन बाध्य भएका छौं,’ एक कर्मचारीले भने । खाद्य जस्तै निजी व्यवसायीको अवस्था पनि उस्तै छ । व्यापार सोचे जस्तो नभएको काठमाडौं चौपाया खरिदबिक्री प्रालिका अध्यक्ष जनक खड्काले जनाए ।

‘व्यापार सुस्त नै छ । सोचे जस्तो सर्वसाधारण आएका छैनन्,’ उनले भने, ‘एकदुई दिन व्यापार बढ्ने अपेक्षा गरेका छौं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कन्टेनरको उचित व्यवस्थापन नहुँदा सिर्सिया सुक्खा बन्दरगाहमा फेरि कन्टेनरको चाङ लागेको छ । हाल बन्दरगाह परिसर खाली र मालवाहक कन्टेनरले भरिएको छ । बिहीबार बन्दरगाह परिसरमा १ हजार ७ सय ६५ खाली र ९ सय ९० मालबाहक समेत गरी २ हजार ७ सय ५५ कन्टेनर रहेका छन् । इन्टरमोडल यातायात विकास समिति वीरगन्जका प्रमुख ...
— एसियाली विकास बैंक (एडीबी) ले विभिन्न तीन परियोजना कार्यान्वयन गर्न १ खर्ब ५ अर्ब ६१ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । सहायता रकममध्ये ६ अर्ब ५२ करोड रुपैयाँ अनुदान हो भने बाँकी रकम सहुलियतपूर्ण ऋण हो । दोस्रो चरणको काठमाडौं उपत्यका खानेपानी आपूर्ति सुधार परियोजना, दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) विद्युत् प्रसारण तथा वितरण सुदृढीकरण ...
: उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वदेशी र विदेशी निजी लगानीलाई वृद्धि गर्न आवश्यक रहेको बताएका छन्। थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्त सम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकको समापनमा अध्यक्षका हैसियतले सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले एसिया र प्रशान्त क्षेत्रमा सार्वजनिक पूँजीले मात्र वित्तीय आवश्यकता पूरा गर्न नसक्ने भएकाले निजी ...
— नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नौ अर्ब ११ करोड ३२ लाख बराबरको नाफा कमाएको छ । यो करकट्टी गर्नुअघिको नाफा हो । चालु आवको साउनदेखि असोज मसान्तसम्म ब्याज तथा अन्य आम्दानी समेत कूल आम्दानी ४१ अर्ब ८० करोड ६८ लाख रहेको छ । यस्तै ३२ अर्ब ६९ करोड ३६ लाख बराबरको ...
: विकास साझेदारबाट लगानीको प्रत्याभूति नहुँदा माथिल्लो अरुण जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन प्रभावित भएको छ। १०६३ मेगावाटको अर्धजलाशययुक्त आयोजनामा विश्व बैंकको नेतृत्वमा एसियाली विकास बैंक (एडीबी), जाइका लगायतका साझेदार निकायले लगानी गर्ने भन्ने थियो। तर, सन् २०२४ को अक्टोबरमा गर्ने भनेको वित्तीय व्यवस्थापन अहिलेसम्म हुन सकेको छैन। आयोजनाको लगानी भूराजनीतिक कारणले अनीर्णित बनेको स्रोत बताउँछ। ...