। प्रिमियर लिगमा आइतबार गोलको वर्षा हुँदा साविक विजेता म्यानचेष्टर सिटीले टोटनहमसँग ३-३ को बराबरी खेलेको छ । यस्तै लिभरपुलले फुलहममाथि ४-३ रोमाञ्चक जित निकालेको छ ।
सिटीको मैदानमा भएको खेलमा डेजान कुलुसेभ्स्कीले अन्तिममा गोल गरेपछि टोटनहमले अंक खोसेको थियो ।
त्यसअघि हेउन मिन सनले खेलको छैटौं मिनेटमै गोल गर्दै टोटनहमलाई अग्रता दिलाएका थिए । तर सनले नै नवौँ मिनेटमा आत्मघाती गोल गरेपछि सिटीले खेल बराबरी गरेको थियो । फिल फोडेनले ३१औं मिनेटमा गोल गरेपछि सिटीले पहिलो पटक खेलमा अग्रता बनायो । तर ६९औं मिनेटमा जिओभानी लो सेल्सोले टोटनहमका लागि बराबरी गोल फर्काए ।
८१औं मिनेटमा एर्लिङ हालान्डले गोल गरेपछि सिटीले खेलमा दोस्रो पटक पनि अग्रता बनाएको थियो । तर अन्तिम ममयमा गोल खाँदा जितबाट बन्चित भयो । ९०औं मिनेटमा कुलुसेभ्स्कीले टोटनहमका लागि बराबरी गोल गरे ।
बराबरीपछि १४ खेलबाट ३० अंकसहित सिटी तेस्रो स्थानमा छ । टोटनहम १४ खेलबाट २७ अंकसहित पाँचौ स्थानमा छ ।
यस्तै अलेजान्डर आर्नोल्डले ८८औं मिनेटमा गरेको गोल मद्दतमा लिभरपुलले फुलहमलाई ४-३ ले पराजित गरेको छ । जितपछि लिभरपुल १४ खेलबाट ३१ अंकसहित दोस्रो स्थानमा उक्लेको छ । शीर्ष स्थानको आर्सनलको ३३ अंक छ ।
फुलहम १४ खेलबाट १५ अंकसहित १४औं स्थानमा छ ।
अर्को खेलमा चेल्सीले ब्राइटनलाई ३-२ ले हरायो । चेल्सी १४ खेलबाट १९ अंकसहित १०औं स्थानमा छ । समान खेलबाट २२ अंकसहित ब्राइटन आठौं स्थानमा छ ।