बेलायतमा नयाँ अध्यागमन नियम : वर्क परमिट र विद्यार्थी भिसामा कडाइ
बेलायतमा नयाँ अध्यागमन नियम : वर्क परमिट र विद्यार्थी भिसामा कडाइ

लन्डन — आमचुनाव हुन झन्डै एक वर्ष बाँकी रहँदा बेलायत सरकारले अध्यागमनसम्बन्धी नियम थप कडा बनाउने घोषणा गरेको छ ।गृहमन्त्री जेम्स क्लेभर्लीले सोमबार अपरान्ह बेलायती संसद्‌मा घोषणा गरेको पाँच बुँदे परिवर्तनले मुख्यतः वर्क परमिट र विद्यार्थी रुटमा बेलायत आउने आप्रवासी प्रत्यक्ष प्रभावित हुने जानकारहरुले टिप्पणी गरेका छन् ।

मन्त्री क्लेभर्लीको घोषणाअनुसार आउँदो वसन्त ऋतुदेखि बेलायत आउन चाहने दक्ष कामदारले वर्क परमिट रुटको भिसा लिन वार्षिक तलब कम्तीमा ३८ हजार ७ सय पाउन्ड हुनुपर्नेछ ।


यसअघि २६ हजार २ सय पाउन्डको तलब थ्रेसहोल्डमा व्यापक वृद्धि गरिएको हो । सरकारले तोकेबमोजिमको तलब पाउने कामदार निकै कम हुन्छन् । नेपालीको हकमा पनि अपवादबाहेक प्राय सबैको आय न्यून छ ।

नयाँ नियम डिपेन्डेन्टहरुको सवालमा निकै कठोर देखिएको छ । पारिवारिक भिसाअन्तर्गत आफ्नो श्रीमान्, श्रीमती वा छोराछोरीलाई डिपेन्डेन्टका रुपमा बेलायत ल्याउन पनि वार्षिक तलब कम्तीमा ३८ हजार ७ सय पाउन्ड हुनुपर्नेछ । जुन ‘थ्रेसहोल्ड’ यसअघि १८ हजार ६ सय पाउन्ड मात्र थियो । यो मापदण्ड विदेशी आप्रवासीहरुलाई मात्र नभई सबैलाई लागू हुनेछ।

त्यस्तै, 'हेल्थ एण्ड केयर वर्कर' का रुपमा वर्क परमिटमा आउनेहरुले अब कुनै डिपेन्डेन्ट ल्याउन पाउने छैनन्। गृहमन्त्रीले हेल्थ एण्ड केयर भिसामा वर्षौंदेखि दुरुपयोग भइरहेको बताएका छन् ।


विदेशी विद्यार्थीहरुले (पोष्ट ग्रयाजुएट रिसर्च कोर्सबाहेक) पनि आगामी जनवरीदेखि डिपेन्डेन्ट ल्याउन नपाउने नियम यसअघि नै सार्वजनिक भइसकेको छ। विद्यार्थी भिसामा हुनेहरुले आफ्नो अध्ययन पूरा नभएसम्म वर्क परमिट रुटमा जान पनि पाइने छैन।

विदेशी आप्रवासीहरुले बेलायतको स्वास्थ्य सेवा प्रयोग गरेवापत लिइने ‘हेल्थ सर्चार्ज’ मा पनि भारी बृद्धि गर्दै यसअघिको वार्षिक ६ सय २४ पाउन्ड बढाएर वार्षिक १ हजार ३५ पाउन्ड पुर्‍याइएको छ ।

गत वर्ष विदेशी विद्यार्थी लगायत बेलायत आउने आप्रवासीहरुको संख्या ७ लाख ४५,००० पुगेको समाचार प्रकाशित भएपछि सरकार आफ्नै पार्टीका सांसदहरुको दबाबमा परेको थियो । गृहमन्त्री क्लेभर्लीले नयाँ नियमहरु लागू भएपछि काम गर्न वा पढ्न बेलायत आउने मानिसहरुको संख्या ३ लाख जतिले घट्न सक्ने दाबी गरेका छन्।

सांसदहरूलाई सम्बोधन गर्दै गृहमन्त्रीले संसद्‌मा भनेका छन्, 'अब त अति भइसक्यो । बेलायतमा बसाइँसराइ घट्न आवश्यक छ । अध्यागमन नीति निष्पक्ष, कानूनी र दिगो हुनुपर्छ ।'

परिवर्तित नियमले वर्क परमिट र विद्यार्थी रुटमा बेलायत आउने नेपालीहरुलाई पनि प्रत्यक्ष असर पार्ने देखिएको छ । वर्क परमिट भिसा सम्बन्धी काम गर्ने कम्पनी भिजा क्वेष्टका निर्देशक, अध्यागमन सल्लाहकार तथा रेष्टुरेन्ट व्यवसायी विष्णु खरेलको बुझाइमा यो बेलायत सरकारले चुनाव अघि आप्रवासी नियन्त्रण गर्न ल्याएको रणनीति हो ।

'म एउटा व्यवसायी पनि हुँ । सरकारले तोकेको तलब दिएर कसले कामदार ल्याउन सक्छ ?' खरेलले प्रश्न गरे, 'यो नियम बमोजिम रोजगारदातालाई कुनै पनि कोणबाट फाइदा छैन । एउटा व्यवसायीले आफ्नो मुनाफा पनि हेर्ने भएकाले यही नियममा रहेर अब बाहिरबाट कामदार ल्याउन ढोका बन्द भएको छ ।' यसले कालान्तरमा बेलायती अर्थतन्त्रमा समेत असर पर्न सक्ने उनको भनाइ छ ।

उता, अध्यागमन सोलिसिटर राजु थापा आफ्नो परिवार ल्याउन नदिने भन्ने नियम मानवअधिकार विपरित भएको बताउँछन् ।

बेलायत आउने नेपाली विद्यार्थी बढे

यसैबीच, अहिले बेलायत पढ्न आउने नेपाली विद्यार्थीको संख्या पनि बढेको छ । बेलायतको गृह मन्त्रालयले गत नोभेम्बर २३ मा जारी गरेको तथ्यांकअनुसार सन् २०२२ को तुलनामा सन् २०२३ मा नेपालबाट बेलायत अध्ययनका लागि आउने विद्यार्थीहरूको संख्या झण्डै दुई गुणा बढेको छ ।

तथ्यांकअनुसार सन् २०२२ को पहिलो त्रैमासिकदेखि तेस्रो त्रैमासिकसम्ममा ३ हजार ३६३ विद्यार्थीले बेलायतको भिसा पाएका थिए ।

सन् २०२३ को सोही अवधिमा बेलायतको भिसा पाउने नेपाली विद्यार्थीहरूको संख्या ६ हजार ५४७ पुगेको छ जुन सन् २०२२ को तुलनामा करिब ९८ प्रतिशतले बढी छ । यी दुई वर्षमा बेलायत आउने विद्यार्थीको संख्यामा सबैभन्दा वृद्धि हुने मुलुक नेपाल हो ।

विद्यार्थी एकैचोटी ओइरिँदा अहिले बेलायमा काम र बस्ने कोठा समेत अभाव हुन थालेको छ । कयौं नेपाली विद्यार्थीले महिनौं काम नपाएर संकट बेहोरेका छन् । अन्तर्राष्ट्रिय विद्यार्थी आगमन बढेसँगै कोठा भाडा समेत अकासिएको विद्यार्थी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। लेबनानमा कम्युनिकेसन डिभाइस पेजर र वाकीटकी मार्फत श्रृंखलाबद्ध विस्फोट भएको छ । स्वास्थ्यमन्त्री फिरास अबैदले बताएअनुसार मंगलबार र बुधबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३७ पुगेको छ । मंगलबार लेबनानका साथै सिरियाका कयौं क्षेत्रमा लडाकु समूह हिज्बुल्लाहका सदस्यहरुले प्रयोग गर्ने सयौं पेजरमा लगभग एकै समयमा बिस्फोट भयो । बिस्फोटमा परी १२ जनाको मृत्यु भयो ...
। दक्षिण अमेरिकी राष्ट्र जिम्बाबे पछिल्लो चार दशकदेखि भयानक खडेरीबाट गुज्रिरहेको छ । त्यहाँ कृषि उत्पादन चौपट भएको छ र खाद्यान्नको अभावमा भोकमरी चरम बनिरहेको छ । मानिसहरुसँग खानका लागि केही पनि बाँकी छैन । यस्तोमा खडेरीका कारण फैलिरहेको भोकमरीको समस्या समाधानका लागि जिम्बाबे सरकारले एउटा कठोर निर्णय लिएको छ । जसअनुसार त्यहाँका २ सय जंगली ...
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...